सहमति भड्काउने जमरकट्टेलको त्यो भाषण, त्यसपछि फायर भए बालेन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सहमति भड्काउने जमरकट्टेलको त्यो भाषण, त्यसपछि फायर भए बालेन



काठमाडौं- सोमबार राती एकाएक काठमाडौ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखे, ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौँ महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो, थ्याङ्क यु ।’ यति लेखेर शाह बागमती प्रदेशले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेर फर्किए ।

मेयर शाहको यो स्टाटस सर्वत्र चर्चाको विषय बनेको थियो । त्यसपछि मंगलबार एकाएक बालेन शाहको विज्ञप्ति आयो । जसको आशय थियो, जति गाली खानुपरे पनि काठमाडौं महानगरबासीको खान्छु, अन्यत्र अपमान सहन्न ।’ यो विज्ञप्ति आइन्जेल सामाजिक सञ्जालमा बालेनका समर्थकले बागमती सरकारको दोहोलो काडिसकेका थिए ।

बालेनले प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमप्रति असन्तुष्टि जनाएपछि अहिले पनि विभिन्न टिप्पणी भइरहेको छ। बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका ११९ वटै स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि हेटौंडामा दुईदिने अभिमुखीकरण कार्यक्रम राखेको थियो। उक्त कार्यक्रमले बागमती सरकार र काठमाडौं महानगरबीच तिक्तता बढाएको छ ।

कार्यक्रममा काठमाडौं महानगरका मेयर बालेन र उपमेयर सुनिता डंगोल पनि आइतबार साँझ नै हेटौंडा पुगेका थिए। सोमबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले कार्यक्रमको उद्घाटन गरे। कार्यक्रम मंगलबार सकिने भए पनि मेयर बालेन र उपमेयर डंगोल भने सोमबार कार्यक्रमको उद्घाटनलगत्तै एक मन्त्रीले सुनाएको भाषणले कार्यक्रम नै बहिस्कार गरेर काठमाडौं फर्किए।

काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम राखेको भन्दै बालेनले असन्तुष्टि पोखेपछि हेटौंडामा जारी कार्यक्रम नै विवादित बनेको छ। मंगलबारसम्म चलेको कार्यक्रममा उपस्थित अन्य स्थानीय तहका जनप्रतिनिधिहरूबीच पनि मेयर बालेनको अभिव्यक्तिलाई लिएर चर्चा चलेको थियो।

उता सबैतिर धाएर सहमति जुटाएर बल्लबल्ल काठमाडौंको फोहर उठ्दै थियो । फोहर उठाउने काम सुरू भएकै बेला हेटौंडा बोलाएर काठमाडौं महानगरको फोहर अब बन्चरेडाँडामा फाल्न नपाइने भन्दै प्रदेशका मन्त्री तथा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेल मन्चमै कुर्लिए । बालेनले असन्तुष्टि जनाएर बीचमै छोडेर जानुमा उनै जमरकट्टेलको अभिव्यक्ति रहेको छ।

प्रदेश सरकारको अधिकांश मन्त्रीहरूको उपस्थिति रहेको कार्यक्रममा केही मन्त्रीहरूले मन्तव्य समेत व्यक्त गरे। तर जमरकट्टेलले भर्खरै भएको फोहर व्यवस्थापनको सम्झौता नै प्रभाव पार्नेगरी भाषण ठोकेपछि माहोल बिग्रियो । यसै त राजनीतिक दल र केही नेताहरूले फोहरमा फोहरी राजनीति गरेको आरोप लागिरहेको छ । त्यसमाथि यसै आरोपलाई पुष्टि गर्नेगरी जमरकट्टेलले गरेको भाषण ठोके ।

जमरकट्टेल बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । उनी माओवादी केन्द्रबाट निर्वाचित हुन् । उनले काठमाडौं र सिसडोलबासीबीच भएको सहमति नै प्रभावित पार्नेगरी दिएको अभिव्यक्तिले बालेन भड्किए ।
जमरकट्टेलले काठमाडौंको फोहोरका कारण धादिङ र नुवाकोट तनावग्रस्त भएकाले अब फोहर फाल्न नपाइने बताएका थिए । धादिङबाट निर्वाचित भएका मन्त्री जम्मकट्टेलले काठमाडौंवासीको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने? भन्दै प्रश्न गरे । उनले कुनै पनि हालतमा काठमाडौंको फोहोर अब धादिङ र नुवाकोटमा फाल्न नपाइने बताएका थिए ।

काठमाडौंको फोहोरको विषयमा आफू २०६३ सालको अन्तरिम व्यवस्थापिकामा चुनिएदेखि लागिपरिरहेको भन्दै मन्त्री जम्मकट्टेलले काठमाडौंले अब फोहोर लैजान नपाउने बताएका थिए। एक पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न नमिल्ने भएकाले काठमाडौंले बञ्चरेडाँडामा फोहोर फाल्न नपाउने भन्दै मन्त्री जम्मकट्टेलले मन्तव्य दिएपछि मेयर बालेन असन्तुष्ट बनेका हुन्।

मन्त्री जम्मकट्टेलले बोल्दाबोल्दै कार्यक्रम स्थलबाट मेयर शाह बाहिरिए । मेयर बालेन बाहिरिएको केही बेरपछि उपमेयर डंगोल पनि बाहिरिएकी थिइन्। त्यसपछि दुवैजना कार्यक्रम बहिस्कार गरेर काठमाडौँ फर्किए ।