जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ



एजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आजसम्म चार वटा भयानक युद्ध भइसकेका छन् । र यो जारी रहेको छ । थामिने नाम लिइरहेको छैन ।’

आज पनि भारत र पाकिस्तानको सम्बन्ध काश्मिरका भएका घटनाहरुले निर्धारण गरेका छन् । काश्मिरमा कहिले पाकिस्तानका जवानहरु सहिद भएका छन् भने कहिले भारतका । भारतले आतंवादीहरुको संरक्षण पाकिस्तानले गर्दै आइरहेको बताउँदै आइरहेको छ । आतंकवादीहरुको नाममा पाकिस्तानले आफ्ना सेनाहरु मारेको आरोप भारतको रहेको छ ।

सन् २०१६ मा भएको पथानकोट हमला, त्यसपछि भारतले जबाफी कारबाहीमा गरेको सर्जिकल स्ट्राइक केही उदाहरण हुन् । तर, यस वर्षको सुरुवातसँगै जम्मु काश्मिरको श्रीनगरमा भएको आतंकवादी आक्रमणले कतै भारत र पाकिस्तानबीच युद्ध हुने त होइन् भन्ने आशंका सबैमा उब्जिएको थियाे । यो घटनाले विश्व राजनीतिमा ठुलो तरंग ल्याउने अनुमान विश्लेषकहरुले गरेका थिए। पछिल्लो समय जम्मु कश्मीरलाई लिएर भारत र पाकिस्तानबीच रिक्तता र तिक्तता बढेको छ । जम्मु कश्मीरमाथि निर्मम निर्णय लिएको भारतलाई चेताउन पाकिस्तानले पनि हवाई तथा थलमार्ग बन्द गरिदिएको छ ।

दुवै देशमा आणविक हतियार रहेका छन् । कतै क्षेत्रिय आणविक युद्ध हुने त होइन भन्ने आशंका पनि उत्तिकै उठेको छ ।

यी दुई देशको सैन्य शक्ति कस्तो होला त ? कुन देशसँग कस्ता हतियार छन् । के युद्धका लागि दुवै देशले एकअर्कालाई ललकार्न सक्लान् त ?

मिलिटरी एनालेटिक्स वेवसाइट ग्लोबल फायरपावरका अनुसार भारतसँग विश्वकै चौथो शक्तिशाली सैन्य शक्ति रहेको छ । उसले वार्षिक ५१ बिलियन डलर रक्षामा खर्च गर्दै आइरहेको छ ।

त्यस्तै पाकिस्तान सैन्य शक्तिको १३ औ स्थानमा रहेको छ । उसले वार्षिक ७ बिलियन डलर रक्षामा खर्च गर्दै आइरहेको छ ।

भारतसँग १.३ बिलियन एक्टिभ मिलिटरी फोर्स रहेको छ । पाकिस्तानसँग जम्मा ६ लाख ३५ हजार एक्टिभ मिलिटरी फोर्स रहेको छ । भारतमा ४९० मिलियन युवाहरु आर्मी बन्न फिट रहेका छन् भने पाकिस्तानमा ७५.३ मिलियन युवाहरुमात्र आर्मीका लागि फिट रहेका छन् ।

हाल ४.२ मिलियन सैन्य जवानहरु भारतीय सुरक्षा सेवामा आवद्ध रहेका छन् । पाकिस्तानमा भने यो संख्या ९ लाख १९ हजार रहेको छ ।

भारतीय सेनासँग २१०१ एयरक्राप्ट रहेको छ । साथै ६७६ फाइटर जेट, ८०९ अट्यक एयरक्राप्ट, ८५७ ट्रान्सपोर्ट एयरक्राप्ट र ३२३ ट्रेनर्स रहेका छन् । पाकिस्तानसँग भने ९५१ वटा मिलिटरी एयरक्राप्ट, ३०१ फाइटर जेट, ३९४ अट्यक एयरक्राप्ट, २६१ ट्रान्सपोर्ट एयरक्राप्ट र १९० ट्रेनर्स रहेका छन् ।

भारतसँग ५२ वटा अट्याक हेलिकप्टर भने पाकिस्तानसँग १७ वटा रहेका छन् । साथै भारतसँग ६६६ वटा ब्याटलफिल्ड हेलिकप्टरहरु रहेका छन् । पाकिस्तानसँग भने जम्मा ३१६ वटा रहेका छन् ।

भारतीय सेनासँग ४४२६ वटा ट्यांक रहेका छन् । साथै २४ सयवटा टि–७२ ट्यांक, १६०० टि–९० ट्यांक र ३६० अर्जुन एमके.वन र एम.२ ट्यांकहरु रहेका छन् । पाकिस्तानसँग २९२४ वटा ट्यांक, खालिद, टि–८०युडी र आधुनिक भर्जनका १९७० दशकको–चाइनिज टाइप ५९ ट्यांक रहेको छ ।

भारतसँग ६७०४ वटा अत्याधुनिक फाइटिङ सवारी साधनहरु रहेका छन् । पाकिस्तानसँग ४ हजारको हाराहारीमा रहेका छन् । पाकिस्तानसँग ४६५ पटकभन्दा बढी प्रयोग भएको हतियार रहेको छ भने २९० पटक प्रयोग भएको हतियार रहेको छ ।

भारतीय सेनासँग २९५ नाभल एसेट रहेको छ । एउटा एयरक्राप्ट क्यारियर र १५ वटा सबमरिन रहेको छ । साथै ११ वटा विध्वंसक रहेको छ । पाकिस्तानसाग यस्ता खाले हतियार रहेको छैन । पाकिस्तानसँग ८ वटा सवमरिन रहेको छ ।

भारतीय सेनासँग २३ वटा करभेट वारसिप रहेको छ । पाकिस्तानसँग यो हतियार हालसम्म रहेको छैन ।

न्युक्लियर हतियारमा पनि भारतलाई पाकिस्तानले पछि पारेको बताइन्छ । मिडिया रिपोर्टका अनुसार १४० वटा न्युक्लियर हतियार पाकिस्तानसँग रहेका छन् भने ११० वटा भारतसँग रहेका छन् ।

न्युक्लियर हतियारका कारण यी दुई देशबीच कुनै पनि समय क्षेत्रिय न्युक्लियर युद्ध हुन सक्ने सुरक्षा विश्लेषकहरुको भनाइ रहेकोछ । पछिल्लो तीन दशकमा यी दुई देशबीच बारम्बार युद्धको लल्कार भएको छ भने तीन पटकसम्म युद्ध भइसकेको छ । हालसम्म काश्मिरकै कारण लाखौ मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

पाकिस्तान कमजोर भएर पनि बलियो भएको सुरक्षा विश्लेषकहरुको भनाइ छ । चीनले पाकिस्तानलाई सहयोग गर्दै आइरहेका कारण पनि भारतले युद्ध आट्न नसकेको केही सुरक्षाविद्हरुको भनाइ छ ।

चीनको ठुलो लगानी पाकिस्तानमा रहेका कारण पनि भारतसँग चीनको खासै गतिलो सम्बन्ध नभएका कारण पाकिस्तानलाई आवश्यक हतियार चीनले दिनसक्ने र विस्तारै भारतलाई कमजोर पार्ने रणनीति भएको समेत विश्लेषकहरु बताउँछन् ।