भक्तपुरकी संक्रमित जनप्रतिनिधि मुटुको रोगी, राहत वितरणमा विभिन्न ठाउँ पुगिन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भक्तपुरकी संक्रमित जनप्रतिनिधि मुटुको रोगी, राहत वितरणमा विभिन्न ठाउँ पुगिन



काठमाडौं- कोरोना संक्रमण भएकी नेपालको पहिलो जनप्रतिनिधि भक्तपुरकी महिला वडा सदस्य रहेको खुलेको छ । उनलाई कोरोना संक्रमण भएको शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । ४२ वर्षीया उनी भक्तपुर–९ की सदस्य रहेको खुलेको छ ।

जनप्रतिनिधि नै संक्रमित भएपछी भक्तपुरमा थप त्रास बढेको छ। खासगरी उनि लकडाउनमा पनि विभिन्न स्थानमा राहत वितरणमा हिँडेको समेत खुलेको छ । समस्यामा परेकाहरुलाई राहत वितरणलगायतका काममा उनि सक्रिय थिइन् ।

उनलाई राहत वितरणकै क्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान समेत गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने र उनको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्नेलगायतका काम गरिने जानकारी दिएकी छिन् ।

पाण्डेले भनिन्, ‘शुरुमा म घरमै बस्छु भन्नु भएको थियो तर, सबैको सल्लाहअनुसार पाटन अस्पताल लगिएको छ ।’

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिलासहित नौं जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य संक्रमितहरु बारा जिल्लाका ६ जना, सप्तरी र मकवानपुरका एक–एक जना छन् ।

उनको घरमा श्रीमान र छोराछोरी छन् । उनी मुटुको बिरामी रहेको खुलेको छ । विगतमा उनको ओपन हार्ट सर्जरी गरिएको थियो । त्यसैले उनले घरमै बस्ने र अस्पताल नजाने इच्छा गरेकी थिइन् । अस्पतालमा जस्तो सावधानी घरमा नहुने भनेर सम्झाएपछि उनी अस्पताल जान तयार भएकी छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ५१६ पुगेको छ । तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ७० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।