सभामुख नबन्ने जनार्दन शर्माको घोषणा - Himal Post Himal Post
  • ३ बैशाख २०८१, सोमबार
  •      Mon Apr 15 2024
Logo

सभामुख नबन्ने जनार्दन शर्माको घोषणा



काठमाडौँ – नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले सभामुखमा आफ्नो दाबी नभएको बताएका छन् ।

उनले शुक्रबार साँझ आफ्नो धारणा सार्वजनिक गर्दै आफू सभामुख बन्न इन्छुक नरहेको दाबी गरेका हुन्।

नेकपाभित्र कुन गुटबाट सभामुख बनाउने भन्ने विषयमा विवाद भइरहेका बेला पूर्वमाओवादी खेमाका प्रभावशाली मानिने शर्माले सभामुख नबन्ने धारणा सार्वजनिक गरेका हुन्।

नेकपाका दुई अध्यक्षबीच सभामुखको विषय सहमति उन्मुख भइरहेको भन्ने विवरण सार्वजनिक भइरहँदा सम्भावित उम्मेद्वारका रुपमा शर्माको समेत नाम जोडिएपछि उनले आफू त्यसका लागि तयार नभएको बताएका हुन्।

शुक्रबार बेलुका ट्वीटमार्फत शर्माले पार्टीभित्रको विवाद समाधानका लागि सहजिकरण गरेको तर आफू उक्त पदका लागि लागिनपरेको प्रष्ट पारेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘सभामुखको विषयले संसद चल्न नसकिरहेको अवस्थामा छिटो टुङ्ग्याउनका लागि नेताहरू बीचमा सहजिकरणको भूमिकामा लागेको साचो हो। तर म आफै सभामुख हुनका लागि होइन र दाबी पनि छैन।’

पूर्वमाओवादी खेमाबाट अग्नि सापकोटा, पम्फा भुसाल, देव गुरुङ, जनार्दन शर्मा लगायतको नाम सभामुखका लागि चर्चामा छ।

नेकपाभित्र एकतापूर्व भएको शक्ति बाँडफाँट अनुसार पूर्वमाओवादीबाट सभामुख बनाउने कि पूर्वएमालेबाट भन्ने विवादका कारण संसद एक महिनादेखि सूचना टाँसेर स्थगित हुँदै आएको छ।

आइतबारका लागि तोकिएको बैठक अघिसम्म नेकपाले सभामुखको उम्मेद्वार टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित दोस्राे तहका नेताहरु समेत सक्रिय भइरहेका छन्।