सेयर बजार उतारचढावबारे अर्थमन्त्री शर्माले दिए स्पष्टीकरण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सेयर बजार उतारचढावबारे अर्थमन्त्री शर्माले दिए स्पष्टीकरण



काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा पछिल्लो समय देखिएको उतारचढावबारेमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग कुनै किसिमको कुरा नगरेको स्पष्टीकरण दिएका छन्।

प्रतिनिधिसभाको शुक्रबार दिउँसो बसेको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गरेको प्रश्नको जवाफ दिने क्रममा शर्माले यस्तो बताएका हुन्। अर्थमन्त्रीले सेयर बजार प्रभावित पार्ने गरी गतिविधि गरेको भन्दै सांसद सुवालले आलोचना गरेका थिए।

‘अर्थमन्त्रीज्यूले अस्ति ३७ लाख सेयर कारोबार गर्ने मान्छे, फाइदा लिने सयजना भन्नु भएको थियो’, उनले संसदमा भने, ‘अर्थमन्त्रीज्यूले गभर्नरलाई फोन गरेपछि सेयर भाउ बढ्यो। कसको स्वार्थका लागि फोन गरेर बढाउनुभयो ?’

सिटामोल खाएर काम गर्ने मजदुरको निम्ति बढाएको भन्दै सुवालले अर्थमन्त्री शर्मामाथि कटाक्ष पनि गरेका थिए। त्यसपछि शर्माले रोष्ट्रममा उक्लिएर जवाफ दिएका हुन्।

‘मैले गभर्नरसमक्ष फोनमा कुरा गरेको समाचारमा कतै आएको होला, तर त्यो सत्य होइन’, उनले स्पष्टीकरण दिँदै भने, ‘आन्तरिक घोटालाबारे उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा गठित समितिले छानबिन गरिरहेको छ।’

सेयर बजारको उतारचढावलाई लिएर आन्दोलन भइरहँदा यही सोमबार अर्थमन्त्री शर्माले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा परेको प्रभावबारे गभर्नर अधिकारीलाई टेलिफोन गरेका थिए।

त्यसक्रममा उनले पुँजी बजारको पछिल्लो अस्थिरतालाई सहज बनाएर आन्दोलनको अवस्था अन्त्य गर्न भनेका थिए। उनले त्यसक्रममा सुधार गर्न आवश्यक कुरा मिलाएर पुँजी बजारलाई अघि बढाउन पनि गभर्नरसँग भनेका थिए।

त्यसक्रममा गभर्नर अधिकारीले तत्कालै आवश्यक व्यवस्था गरेर परिस्थिति सहज बनाउन कोसिस गर्ने जवाफ दिएका थिए।

निरन्तर बढिरहेको सेयर बजारमा उतारचढाव देखिएपछि लगानीकर्ताले त्यसको दोष गभर्नर अधिकारीलाई दिएर राजीनामा मागेका थिए। आन्दोलन नै भएपछि अर्थमन्त्री राष्ट्र बैंकको नयाँ नीतिबारे गभर्नरसँग सोधेका थिए।