जनता बैङ्क ग्लोबल आइएमईमा मर्ज हुँदै - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

जनता बैङ्क ग्लोबल आइएमईमा मर्ज हुँदै



काठमाडौँ –

नेपाल राष्ट्र बैङ्कले निर्देशन गरे बमोजिम ठूला बैङ्कहरूको मर्जर प्रक्रिया सुरु भएको छ । यसै निर्देशनअन्तर्गत गत असार १४ गते राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जिवी नेपालले विभिन्न बैङ्कका अध्यक्ष र सीईओहरूलाई बोलाएर मर्जरका लागि साझेदार खोज्न निर्देशन दिएका थिए ।

गभर्नर डा. नेपालले निर्देशन दिएको एक साता दिनभित्रै दुई वाणिज्य बैङ्कहरूले मर्जरमा जाने औपचारिक सहमति गरेका छन् । ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क नेपालले मर्जरमा जाने सहमति शुक्रबार गरेका हुन् । मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको जनता बैङ्क नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीले जानकारी दिए । राष्ट्र बैङ्कको योजना र  अहिलेको आवश्यकतालाई ध्यान दिदै मर्जरमा जाने निर्णय गरिएको उनले बताए ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैङ्कका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैङ्कका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरेका छन् ।

मर्जर भएपछि सेयर स्वामीत्वको विषयमा भने निर्णय भइनसकेको बताइएको छ । मर्जरपछि नयाँ बैङ्कको प्रमुख कार्यकारी अधिकृत कुँवर रहनेछन् भने ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुनेछन् । नयाँ बैङ्कको नाम भने ग्लोबल आइएमई नै राख्ने सहमति भएको छ ।