जसपामा चर्काे विवाद: मर्यादाक्रम नै अफ्ठ्यारोमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जसपामा चर्काे विवाद: मर्यादाक्रम नै अफ्ठ्यारोमा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन र नेताहरूको मर्यादाक्रम टुंगो लगाउने विषयमा विवाद भएको छ । साउन अन्तिम साता सम्पन्न जसपा कार्यकारिणी समितिको बैठकले जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन र नेताहरूको मर्यादाक्रम टुंगो लगाउन पाँच सदस्यीय पदाधिकारीलाई सचिवालय निर्माण गर्दै टुंगो लगाउन अधिकार दिएको थियो ।

जसपामा अहिले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव र वरिष्ठ नेतात्रयमा अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् । पाँच जना पदाधिकारी रहने गरी सचिवालय बनाइएको र आवश्यक गृहकार्य गरेर जिम्मेवारी बाँडफाँट, पदाधिकारी चयन तथा नेताहरूको वरीयता टुंगो लगाउन अधिकार दिइएको हो ।

तर, सचिवालयभित्रै अधिकार बाँडफाँटको विषयलाई लिएर विवाद भएपछि अन्य काम ओझेलमा परेको जसपा स्रोतले जनाएको छ । अध्यक्षद्वय ठाकुर र यादवबीच जिम्मेवारी बाँडफाँटको बिषयमा विवाद भएको छ । एक जना अध्यक्ष पार्टी र अर्को अध्यक्ष संसदीय दलको नेता हुनुपर्ने अडानमा यादव रहेका छन् ।

संसदीय दलको नेतामा महतो हुने यसअघि भएको भद्र सहमति तोड्दै अध्यक्ष यादवले आफूले पार्टी पूर्ण रूपले हेर्नुपर्ने वा संसदीय दलको नेता हुनुपर्ने अडान राखेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता डा. भट्टराई संघीय परिषद्को अध्यक्ष र मर्यादाक्रममा पहिलो हुनुपर्ने अडानमा छन् । तर, अध्यक्ष ठाकुरले मर्यादाक्रममा आफूनै पहिलो नम्बरमा हुनुपर्ने अडानले संघीय परिषद्को अध्यक्ष टुंगो लाग्न सकेको छैन ।

अन्य नेताको जिम्मेवारी बाँडफाँट, मर्यादाक्रम, पदाधिकारी चयनलगायतका विषयमा टुंगो लगाउन सचिवालयलाई जिम्मेवारी दिएपछि उनीहरू आफ्नै लागि विवाद गरिरहेकाले समस्या भएको जसपा स्रोतको दाबी छ । संघीय परिषद्को अध्यक्षमा भट्टराईलाई ल्याउने सहमति भए पनि अहिले आएर अध्यक्षद्वयले नै संघीय परिषद् बैठकको अध्यक्षता गर्ने कुरा उठेको छ ।

यसअघि डा. भट्टराईले पार्टीको कार्यकारिणी समितिको पहिलो बैठकबाटै नेताहरूको मर्यादाक्रम, पदाधिकारी चयन, जिम्मेवारी बाँडफाँटलगायत विषयमा टुंगो लगाउने बताएका थिए । तर उनै भट्टराईलाई पूर्वसहमतिअनुसार संघीय परिषद्को अध्यक्ष हुनबाट रोक्ने प्रयास सचिवालयभित्र भइरहेको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच गत १० वैशाखमा रातारात पार्टी एकीकरण गरेर जसपा घोषणा भएको थियो । पार्टी एकीकरण पछि पहिलो पटक बसेको कार्यकारिणी समितिको बैठक आन्तरिक किचलोकै कारण महŒवपूर्ण विषयमा निर्णय नगर्दै सचिवालयलाई जिम्मेवारी दियो ।

जसपा विधानअनुसार ५३ सदस्यीय कार्यकारिणी समिति छ । तर यहाँ दुई जना अझै चयन गर्न बाँकी छ । यही कार्यकारिणीमा रहेका सदस्यहरू नै पदाधिकारी हुनेछन् । वरिष्ठ नेता, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्तालगायतका पदाधिकारी आवश्यकताअनुसार चयन गरिने विधानमा व्यवस्था छ । यी पदाधिकारी कार्यकारिणी सदस्य भएकाले मात्रै पाउनेछन् ।

१ हजार १ सय १ को संघीय परिषद्, ७ सय ५१ सदस्यीय केन्द्रीय समिति, १ सय १ सदस्यीय राजनीति समिति बनाउन शीर्ष नेताहरूका बीचमा गृहकार्य भइरहेको छ । तत्कालीन समाजवादीमा २५ पदाधिकारी र ४ सय ३१ केन्द्रीय सदस्य थिए । तत्कालीन राजपामा पदाधिकारीको संख्या १ सय ३५ र केन्द्रीय सदस्य ८ सय रहेको बताइएको छ ।

तर जसपामा राजपाले २६ मात्र पदाधिकारी पाएपछि तत्कालीन राजपा नेताहरूलाई तनाव भएको छ । तत्कालीन समाजवादी पार्टीमा पदाधिकारी रहेकाहरू स्वतः एकीकृत पार्टीमा सोही जिम्मेवारीमा हुनेछन् । राजपाको आन्तरिक किचलोले पदाधिकारी एवं जिम्मेवारी बाँडफाँटमा समस्या भएको जसपा स्रोतले जनाएको छ ।

यसका साथै पार्टीका केन्द्रीय तहका अन्य निकायहरू सल्लाहकार, विज्ञ परिषद्, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोगका साथै पार्टीका विभाग, प्रदेश परिषद्, प्रदेश समिति, पहिचानमा आधारित प्रादेशिक संरचना, प्रदेश सल्लाहकार समिति, प्रदेश विज्ञ परिषद्, प्रादेशिक आयोगहरू, गैरभौगोलिक विशेष प्रदेश समितिलगायत स्थानीय तहका संरचना टुंगो लगाउन अझै बाँकी नै छ । यी सबै प्रक्रिया पूरा गरेर जसपा महाधिवेशनमा जान्छ । तर, महाधिवेशन कहिले गर्ने, सिद्धान्त, विचार आदि विषयमा अझै केही टुंगो लागेको छैन ।

तत्कालीन राजपाभित्र भद्रगोल अवस्था रहेको छ । राजपाभित्र अध्यक्ष मण्डल रहेको र सोही अध्यक्ष मण्डलले पार्टी सञ्चालन गरेको थियो । तर, राजपाको २६ जना पदाधिकारी चयन गर्दा ठाकुर र महतोले एकलौटी गरेको भन्दै तत्कालीन राजपाका ६ मध्ये ४ अध्यक्षले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

तत्कालीन राजपा अध्यक्ष मण्डलका अध्यक्ष रहेका महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाले ठाकुर र महतोले मनोमानी गरेको आरोप लगाउँदै आएका छन् । यी चार नेताले आफू निकटका नेतालाई पदाधिकारी हुनबाट रोक्ने काम ठाकुर महतोले गरेको आरोप छ ।