जसपाभित्र विवाद चर्कियो: पार्टीमा तनावै तनाव « Himal Post | Online News Revolution
Logo

जसपाभित्र विवाद चर्कियो: पार्टीमा तनावै तनाव



काठमाडौं- नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन्। उनलाई पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले साथ दिएका छन्। भट्टराई र यादव कुनै पनि अवस्थामा एमालेसँग मिल्ने पक्षमा छैनन्।

उनले सार्वजनिक रूपमै ‘दिमाग खुस्केकाहरू मात्र ओलीसँग मिल्छन, हामी मिल्दैनौं,’ भन्ने गरेका छन। तर उनकै पार्टीका अध्यक्ष ठाकुर ओलीसँग मिल्न अन्तिम तयारी गर्दै छन्। यसबीचमा, प्रधानमन्त्री र ठाकुरबीच धेरैपटक भेट भइसकेको छ। कहिले एक्लै र केहीले गोप्य भइरहेको छ। ठाकुरनिकट नेता तथा कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जसपाका कार्यकर्ताहरूमाथि लगाइएका मुद्दा फिर्ता गर्ने र बन्दी रिहाइ गर्न प्रक्रिया सरकारले अघि बढाएको बताए।

ठाकुरनिकट नेताहरू ओली सरकारले माग पूरा गरेमा ओलीसँग मिलेर जान सकिने बताउँदै आएका छन। तर यादव निकट नेताहरू ओलीसँग कुराकानी गर्न समेत चाहन्नन्। त्यसैले ओलीसँग भेटघाट गर्दा भट्टराई र यादव सहभागी हुने गर्दैनन्। ठाकुर र ठाकुरनिकट नेताहरूले मात्र ओलीसँग कुराकानी गर्ने गरेका छन्। ‘हाम्रो लाइन प्रष्ट छ, जसले माग पूरा गर्छ, त्यसलाई हामीले समर्थन गर्छौ,’ ठाकुरनिकट जसपाका कार्यकारिणी समितिका सदस्य मनिष सुमनले भने, ‘ओली सरकारले हाम्रो माग पूरा गर्छ भने ओली सरकारलाई हामी समर्थन गर्छौ।’

पार्टीभित्र विवाद बढ्दै गए पछि पार्टीको बैठक बस्न सकेको छैन। चैत ५ गते बोलाइएको कार्यकारिणी समितिको बैठक चैत ५गते बस्न सकेन। ५ गते बस्न नसकेको बैठक होली पछि बस्ने भनिएको थियो। तर, होली पछि पनि बैठक बस्न सकेन। बैठक कहिले बस्छ,कसैलाई थाँहा छैन। कार्यकारिणी समितिको पछिल्लो बैठक पुसको पहिलो साता भित्र बसेको थियो। त्यस बेला समिकरणको चर्चा उठेको थिएन। पार्टीको केन्द्रीय समितिको बैठक अहिलेसम्म एक पटक पनि बस्न सकेको छैन। जसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले भने तयारी नपुगेर बैठक बस्न नसकेको बताए। तयारी पुगे पछि बैठक बस्ने बताए। तर अर्को बैठक कहिले बस्छ, त्यसबारेमा भने उनले केही भन्न चाहेनन्।

पार्टीभित्रको विवादमा पूर्व राजपाका अध्यक्ष मण्डलका ६सदस्यमध्ये ५ जना सदस्यहरूले ठाकुरलाई साथ दिएक छन्। महेन्द्र यादवले भने उपेन्द्र यादवलाई सहयोग गरेका छन्। यसैगरी यादवलाई भट्टराई बाहेक रामसहाय यादव र राजेन्द्र श्रेष्ठले पनि साथ दिएका छन्। तर पनि पार्टीभित्र ठाकुर बहुमतमा पुगेका छन्। पोहर साल झण्डै तत्कालिन समाजवादी पार्टी फुटाएका बिमल श्रीवास्तव, प्रदीप यादव, इस्तियाक राईलगायतका सांसदहरूले ठाकुरलाई साथ दिएका छन्।

ठाकुर निकट नेताहरूले प्रधानमन्त्रीले आफ्नो माग सम्बोधन गरेमा सरकारलाई समर्थन गर्ने या सरकारमा जान सकिने धारणा राख्दै आएका छन्। ‘पहिले पनि उहाँ (उपेन्द्र यादव) ओली सरकारमा गएकै हो। माग पूरा भयो भने सरकारमा जान नसक्ने भन्ने होइन,’ जसपाका नेता राजिव झाले भने, ‘हामी ओली सरकारमा जान सक्छौं या बाहिरबाट पनि समर्थन गर्छौ।’ पार्टीको नीतिविपरीत जानेहरू पार्टी छाड्न सक्ने उनले बताए।

‘उपेन्द्रजीलाई ओलीले अपमानपूर्वक हटाएको बिर्सनु भएको छैन। त्यसैले उहाँ ओलीसँग सरकारमा जान चाहनुहुन्न। तर हामी जान नसक्ने भन्ने होइन’ ठाकुर निकट एक नेताले भने,‘तर हामी उहाँ जस्तो माग पूरा नभएर पनि सरकरमा जान्नौ। माग पूरा भए पछि मात्र सरकारमा जान्छौ।’

पार्टीभित्र दुई लाइनको विवाद बढ्दै गएपछि समयोजनको काम पनि अघि बढ्न सकेको छैन। अहिलेसम्म विकट हिमाली जिल्ला पाहाडी जिल्लाका एक दुई ठाउँमा मात्र समायोजन भएको छ। पूर्व राजपा र पूर्व समाजवादीको प्रभाव रहेको प्रदेश २ तथा लुम्बिनी प्रदेशका एक जिल्लामा पनि अहिलेसम्म समायोजन नभएको भुवन शर्माले नागरिकमा लेखेका छन् ।