कांग्रेसको नेतृत्व नमान्ने जसपाको निश्कर्ष : ओलीलाई नै साथ दिने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेसको नेतृत्व नमान्ने जसपाको निश्कर्ष : ओलीलाई नै साथ दिने



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) कांग्रेसको नेतृत्वमा सरकार बनाउन नसकिने निष्कर्षमा पुगेको छ । कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने बिषयमा राजधानीमा आइतवार बसेको जसपा पदाधिकारीको बैठकमा बहुमत सदस्यहरूले कांग्रेसको नेतृत्व स्वीकार गर्न नसकिने बताएका छन्

सत्ता समीकरणका लागि निर्णायक ठानिएको जसपाका बहुसंख्यक सदस्यहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको निश्कर्षमा पुगेको र हाललाई ओली सरकारलाई नै सहयोग गर्नेबारे छलफल अगाडी बढेको बताइएको छ।

शुक्रवार कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने भन्दै सहयोगका लागि माओवादी केन्द्र र जसपासँग आग्रह गरेको थियो । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएपनि जसपाले पार्टीमा छलफल गरेर निर्णय दिने बताएको थियो ।

जसपाको पधाधिकारी बैठकले तत्काल कांग्रेसको नेतृत्वमा सरकार बनाउन सम्भव नभएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएको कारण सरकारसँगै छलफल अगाडी बढाउने निष्कर्ष निकालेको छ ।

अध्यक्ष महन्थ ठाकुर, प्रभावाली नेता राजेन्द्र महतो लगायत जसपाका बहुसंख्यक नेताहरु ओली सरकारबाटै आफूहरुका माग पूरा गराउने पक्षमा छन् । अर्का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु भने ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।

यादव र बावुराम भट्टराई लगायतका नेताहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउने भन्दापनि आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको विषयमा पहल गर्नुपर्ने बताउँदै आएका छन् । जसपाले लाल आयोगको प्रतिवेदन कार्यान्वयन तथा राजनीतिक आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता गर्न सरकारसँग माग गरेको छ ।