जसपाको नयाँ रणनीति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जसपाको नयाँ रणनीति



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने भन्दै कांग्रेस र माओवादीले पहल थालेसंगै जनता समाजवादी पार्टी भने अलग रणनीतिमा लागेको छ । चौथो ठुलो दल जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउन रणनीति बनाएको बुझिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठकमा जानुअघि जसपाका शीर्ष नेताहरूबीच बीच बाटोमै छलफल भएको थियो । छलफलमा आफ्नै नेतृत्वमा सरकार बनाउने यो उपयुक्त समय भएको निष्कर्ष निकालिएको थियो ।

आन्तरिक छलफलमा सरकार निर्माणका विषयमा पार्टीको एउटै धारणा तीन दलको बैठकमा प्रस्तुत गर्ने र सत्ता सहकार्यका विषयमा शनिबारदेखि नै छलफल गर्ने सहमति जसपाका नेताले गरेका थिए । यसअघि जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले ओली सरकारलाई सहयोग गर्न नहुने धारणा राख्दै आएका थिए ।

तर, अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने आफ्नो माग सम्बोधन गरे ओलीसँगै सहकार्य गर्ने वा आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल अघि बढाउनुपर्ने पक्षमा थिए । लामो समयपछि शुक्रबार देउवाले बोलाएको तीन दलको बैठकमा जानुअघि मात्रै जसपाका शीर्ष नेताहरू एकैठाउँमा छलफलमा जुटेका थिए ।

छलफलबाट जसपाका नेताहरूले आफ्नै नेतृत्वमा सरकार बनाउने विषयलाई केन्द्रमा राखेर अघि बढ्ने निष्कर्ष निकालेको जसपाका एक नेताले जानकारी दिए । ‘तीन दलको बैठकमा समय माग गर्ने र नयाँ सरकार आफ्नै नेतृत्वमा गठन गर्ने निष्कर्ष निस्केको छ,’ जसपाको छलफलमा सहभागी ती नेताले भने ।

मधेसप्रति निकै आक्रामक मानिने ओलीले पछिल्लो समय जसपासँग आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । उनले जसपासँग अरूको नेतृत्वमा बन्ने सरकारमा सहभागी नहुन, सरकारमा नै सहभागी हुने भए आफ्नै सरकारमा आउन र त्यसो नभए सरकारभन्दा बाहिरै बसेर सहयोग गरिदिन आग्रह गरिरहेका छन् ।

आफ्ना माग सम्बोधन हुने सर्तमा जसपाको एउटा पक्ष ओलीलाई सघाउने मनस्थितिमा देखिन्छ भने अर्को पक्ष ओलीलाई प्रतिगामी भन्दै वैकल्पिक सरकार गठनका लागि सकारात्मक देखिँदै आएको छ ।