जसपाका ५१ जनालाई सक्कली नागरिकता लिएर आउन निर्वाचन आयोगको निर्देशन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

जसपाका ५१ जनालाई सक्कली नागरिकता लिएर आउन निर्वाचन आयोगको निर्देशन



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले सो पार्टीको कार्यकारिणी समितिका सदस्यहरूको टाउको गन्ने भएको छ। आयोगले साउन ११ गते बिहान ११ बजे जसपा कार्यकारिणी समितिका ५१ जना सदस्यलाई नागरिकताको सक्कल प्रमाणपत्र या मतदाता परिचपयपत्र लिएर आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

‘दल एकीकरण हुँदा सनाखत गरिएका केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यलाई साउन ११ गते ११ बजे नागरिकताको प्रमाणपत्र या मतदाता परिचयपत्रको सक्कल प्रतिसहित उपस्थित हुन निर्देशन दिएका छौं,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने। आधिकारिकता दाबी गर्दै बिहीबार जसपाका दुवै पक्षले आयोगमा बहस गरेका थिए। बहसपछि आयोगले उक्त निर्णय सुनाएको थियो। साउन ११ गते जसपाको आधिकारिकताको फैसला हुन सक्ने श्रेष्ठले बताए। जसपा अध्यक्ष महन्थ ठाकुर पक्षद्वारा कार्यकारिणी समितिमा पछि मनोनीत २० सदस्यलाई आयोगले मान्यता दिएन।

२०७७ पुस ७ गते बोलाइएको कार्यकारिणी समितिको बैठकमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको सहमतिमा अध्यक्ष महन्थ ठाकुरलाई कार्यकारिणी समितिका सदस्यहरूको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार दिएको दाबी ठाकुर पक्षले गर्दै आएको छ। उक्त निर्णयका आधारमा ठाकुर पक्षले २० सदस्यलाई कार्यकारिणी समितिमा मनोनयन गरेको बताएको छ। कार्यकारिणी समिति हेरफेर गरेको सूची ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाएको छ।

ठाकुर पक्षले आयोगमा बुझाएको सूचीमा यादवनिकट २० सदस्यलाई कार्यकारिणी समितिबाट हटाएर त्यसको ठाउँमा आफूनिकट २० व्यक्तिलाई कार्यकारिणीमा थप गरेको छ। ठाकुर पक्षले थप गरेका कार्यकारिणी सदस्यहरूलाई यादव पक्षले अस्वीकार गर्दै आएको छ। ठाकुरलाई कार्यकारिणी समिति फेरबदल र हेरफर गर्ने अधिकार नदिएको यादव पक्षको भनाइ छ। साथै ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाएको कागजात नक्कली र किर्ते भएको दाबी पनि यादव पक्षले गरेको छ।

ठाकुर पक्षले बुझाएको सूचीलाई आयोगले मान्यता दिएको भए कार्यकारिणीमा ठाकुर पक्ष बलियो हुने थियो। तर आयोगले पार्टी एकीकरण हुँदा आयोगमा बुझाइएको सूचीलाई नै मान्यता दिने निर्णय गरेको छ। पार्टी एकीकरण हुँदा जसपाले आयोगमा ५१ सदस्यीय कार्यकारिणी समितिको सूची बुझाएको थियो। तीमध्ये कम्तीमा ३२/३३ सदस्य आफूतिर भएको यादव पक्षको दाबी छ।

कार्यकारिणीमा यादव पक्ष सुरुदेखि नै बहुमतमा छ। ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि संसदीय दलमा पनि यादव पक्ष बहुमतमा पुगेको छ। यादव पक्ष सरकारमा जान लागेपछि ठाकुर पक्षका कम्तीमा सात सांसद तथा चार÷पाँच कार्यकारिणी सदस्यले कित्ता परिवर्तन गरेका छन्। स्रोतका अनुसार यादव पक्षले आफूनिकट सबै कार्यकारिणी सदस्यहरूलाई काठमाडौंमा बोलाएको छ। २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन गरिएको थियो तर एकीकरण भएको एक वर्ष नपुग्दै पार्टी दुई चिरामा बाँडिएको नागरिकले लेखेको छ।