झलनाथले पार्टीमा भाँडभैलो मच्चाए, माधव नेपाल तनावमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

झलनाथले पार्टीमा भाँडभैलो मच्चाए, माधव नेपाल तनावमा



नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल बढी सक्रिय हुन खोज्दा भाँडभैलो मच्चिएको छ । कहिले बाम गठबन्धनको विषयमा त कहिले मन्त्री परिवर्तनको विषयमा झलनाथले पार्टी अध्यक्ष माधव नेपाललाई नै तनावमा पारेका छन् ।

सरकारमा सहभागी हुने मन्त्री हेरफेरको विषयलाई लिएर झलनाथले पार्टीमा भाँडभैलो मच्चाएको स्रोतको दाबी छ । सत्ता गठबन्धनमा परामर्श नै नगरी झलनाथले अध्यक्ष नेपाललाई पेलेर जाने रणनीति लिएपछि अहिले बेहाल भैसकेको बताइएको छ ।

पुराना मन्त्रीलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा झलनाथ यति सक्रिय भएका छन् कि मानौ उनी पार्टीका सर्बेसर्बा हुन्, पार्टीको अध्यक्ष भन्दा बढी सक्रिय देखिएका झलनाथ अहिले एमालेबाट परिचालित भएको हुनसक्ने स्रोत बताउँछ ।

एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्री हेरफेरको निर्णय गरिसकेको छ तर, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा बजेट पारित गर्नुपर्ने र सम्बन्धित मन्त्रालयका मन्त्रीले समेत जवाफ दिनुपर्ने भएकाले मन्त्री हेरफेर तत्कालका लागि रोकियो । यसैलाई लिएर अहिले झलनाथले अध्यक्ष नेपाल र प्रधानमन्त्री देउवालाई थल खाउँ कि भात खाउँ भन्ने स्थितिमा पुर्याएका छन् ।

मन्त्रीका दाबेदारहरु संयमित भएका छन् तर झलनाथ भने कहिले कोसँग त कहिले कोसँग झगडा मात्र गर्ने गरेका छन् । पार्टीले मन्त्री बनाउने भनेर निर्णय गरेका सांसद समेत पार्टी अध्यक्ष माधवकुमार नेपालसँग चिढिन थालेका छन् ।

अहिले पार्टीले गरेको निर्णय तत्काल कार्यन्वयन हुनुपर्ने भन्दै अध्यक्ष नेपालमाथि निरन्तर प्रेसर बढाएका छन् । कतिपय सांसदले मन्त्री नबनाए पार्टीबाटै विद्रोह गर्ने धम्की समेत दिएका थिए । उनीहरूलाई पनि उक्साउने काम झलनाथले गरेको स्रोत बताउँछ

मन्त्रीबाट फिर्ता बोलाएका कारण उता पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले मन्त्रीबाट हटाए जस्तोसुकै परिणाम भोग्न तयार हुन शीर्ष नेताहरुलाई धम्क्याउने गरेका छन् । झलनाथ, बहालवाला मन्त्री र मन्त्रीका लागि सिफारिस गरेका सांसदले अध्यक्ष नेपाललाई निक्कै ठूलो प्रेसरमा राखेका छन् ।

पार्टीमा बहालवाला मन्त्री र मन्त्रीका दाबेदारले प्रेसर बढाएपछि अध्यक्ष नेपालले आइतबारको सर्वदलीय बैठकमा मन्त्रीको सपथ खुवाउन प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए । तर देउवाले विस्तारै गरौंला भनेका थिए । त्यसपछि बैठकमा सहभागी झलनाथ पड्किन थाले । देउवा र माधवसँग झर्केर बैठकबाट झलनाथ निस्किएका थिए।