झनै क्रुर बन्दै डोनाल्ड ट्रम्प: कोरोनासंग खेलाँची - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

झनै क्रुर बन्दै डोनाल्ड ट्रम्प: कोरोनासंग खेलाँची



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस कार्यदलका विज्ञको डा. एन्थोनी फाउचीको सुझाव अस्वीकार्य भएको बताएका छन् । डा. फाउचीले लकडाउन हटाउन हतार गरे अमेरिकामा मृतक तथा संक्रमितको संख्या निकै बढ्ने बताएका थिए ।

विद्यालय सुचारु गर्ने राष्ट्रपति ट्रम्पको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै फाउचीले त्यसो नगर्न सुझाव दिएका थिए ।

राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा बोल्दै ट्रम्पले भनेका छन्, ‘म उनको जवाफबाट आश्चर्यमा परेको छु । किनकि तपाईंलाई थाहा छ, जब विद्यालयका कुरा आउँछ, यो मेरा लागि अस्वीकार्य छ ।’ कोरोना भाइरसले पाको उमेर समूहका मानिसलाई आक्रमण गर्ने भएकाले विद्यालय खुला गर्नुपर्ने ट्रम्पको भनाइ छ ।

‘तर युवाहरूमा, मेरो मतलब विद्यार्थीमा । तथ्यांक हेर्नुस् त, यो त निकै गजब छ,’ ट्रम्पले भने । अमेरिकीहरू काममा फर्किउन् भन्ने चाहेका ट्रम्पले लकडाउन खुकुलो पारेका गभर्नरको प्रशंसा गर्दै आएका छन् ।

लकडाउन खुकुलो नगर्ने राज्यका गभर्नरको उनी कडा आलोचनामा उत्रने गरेका छन् । तर आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि मानिसहरूको जीवनसँग खेलबाड गरेका भन्दै पछिल्ला दिनमा ट्रम्पको निकै आलोचना हुने गरेको छ ।

अमेरिकाले कोभिड–१९ महामारीबारे अनुसन्धान गरिरहेका संस्थाहरूलाई चीनको सहयोगमा ह्याकरहरूले निसाना बनाएको दाबी गरेका छन् ।

संघीय जाँच ब्युरो एफबीआईका अनुसार भाइरसको संक्रमणबारे खोप, उपचार र परीक्षणजस्ता विषयमा काम गरिरहेका अमेरिकी समूहहरूबाट विवरण ह्याक गर्ने प्रयास भइरहेको छ ।

अमेरिकाले लामो समयदेखि चीनमाथि साइबर जासुसीको आरोप लगाउँदै आएको छ । चीनले त्यस्ता आरोप पटकपटक अस्वीकार गर्दै आएको छ । पछिल्लो समय भाइरसको उत्पत्ति र नियन्त्रणबारे अमेरिकी राष्ट्रपतिले चीनलाई आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध झन् बिग्रेको छ ।

संघीय जाँच ब्युरो र साइबर सुरक्षासम्बन्धी निकायले संयुक्त रूपमा सम्भावित डिजिटल ह्याकबारे चेतावनी जारी गरेका हुन् । लोक कल्याणकारी विज्ञापनका नाममा जारी गरिएको चेतावनीमा स्वास्थ्य सेवा, औषधि उत्पादन गर्ने कम्पनी र कोभिड १९ का विषयमा अनुसन्धान गरिरहेका कम्पनीहरू ह्याकरहरूको मुख्य निसानामा रहेको उल्लेख छ ।

केही दिनअघि चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले कोभिड–१९ को उपचार र खोपबारे भएका अनुसन्धानमा आफूहरूले नेतृत्व गरिरहेको जनाएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको कथित साइबर गतिविधिको प्रसंग निकालेपछि उनले बिनाप्रमाण चीनलाई आरोप लगाउनु अनैतिक भएको बताएका थिए ।