झापामा कांग्रेस–राप्रपाको डिभोर्स, ओलीसँग भिड्ने कांग्रेस उम्मेदवार को ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

झापामा कांग्रेस–राप्रपाको डिभोर्स, ओलीसँग भिड्ने कांग्रेस उम्मेदवार को ?



काठमाडौं-

झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेससँग चुनावी गठबन्धन नगर्ने भएको छ । कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ राप्रपालाइ छाड्न नमानेपछि गठबन्धन तोडिएको हो । योसँगै झापामा लोकतान्त्रिक गठबन्धनमा ठूलो धक्का लागेको छ । झापा–३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन उम्मेदवार बन्ने कांग्रेससँग सहमति भएको थियो । तर, कांग्रेसले राप्रपा महामन्त्री लिङ्देनलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै कांग्रेसका पूर्व महामन्त्री सिटौलाले पार्टीभित्र तीव्र असन्तुष्टी जनाउँदै आएका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनमा झापा–३ बाट विजयी बनेका सिटौलाको नाम यसपटक कांग्रेसले समानुपातिक सूचीको पहिलो नम्बरमा राखिदिएपछि उनी असन्तुष्ट देखिएका थिए । सिटौलाले प्रत्यक्षमा चुनाव लड्ने कि समानुपातिकमा भन्ने विषयमा झापा–३ का कार्यकर्तासँग छलफल पनि गरे । अन्ततः सिटौलाले समानुपातिक सूचीबाट आफ्नो नाम हटाए । उनले प्रत्यक्षमै चुनाव लड्ने अडान लिएपछि झापामा कांग्रेस–राप्रपा गठबन्धन तोडिएको हो ।

राप्रपाका महामन्त्री लिङदेनलाइ झापा–३ दिने निर्णयबाट कांग्रेस पछि हटेपछि राप्रपासँग कांग्रेसको दुरी बढेको छ । लिङदेन ३ नम्बरबाटै उठ्ने राप्रपाले निर्णय गरेको छ भने कांग्रेसले पनि यहीँबाट सिटौलालाइ उठाउने भएको छ । मंगलबार बसेको राप्रपा झापाको बैठकले झापामा कांग्रेस–राप्रपा गठबन्धन टुटेको निर्णय गरेको छ । राप्रपा झापा सचिव केशव ओझाले बैठकको निर्णय सुनाउँदै भने, ‘महामन्त्रीज्युको प्रमुख आतिथ्यमा बैठक बसेको हो, सोही बैठकले गठबन्धन टुटेको निर्णय लियो ।’ महामन्त्री लिङदेनलाई ३ नम्बर क्षेत्रमा चुनाव लड्ने टिकटसमेत पार्टीले मंगलबार नै दिएको छ ।

गठबन्धन ताडिएसँगै झापामा कांग्रेसलाई धक्का लाग्ने चर्चा सुरु भएको छ । राप्रपाले कांग्रेसका उम्मेदवार हराउन वाम गठबन्धनलाई सहयोग गर्ने आन्तरिक सहमति भइसकेको स्रोतको दाबी छ । योसँगै झापाको क्षेत्र नम्बर–३ मा कडा चुनावी टक्कर हुने देखिएको छ । झापामा राप्रपाले बाम गठबन्धनसँग सहकार्य गर्ने सहमति भइसकेको एमाले स्रोतले जनाएको छ । वाम गठबन्धनले राप्रपा महामन्त्री लिङ्देनलाई नै सघाउने निर्णय गरिसकेको एमाले अध्यक्ष केपी ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

एमाले नेता देवेन्द्र दाहालले झापा–३ नम्बर क्षेत्रमा राप्रपा उम्मेदवार लिङदेनलाई पार्टीले सघाउने औपचारिक निर्णय गरेको बताए । ‘लिङदेनलाई सघाउने कुरा साँचो हो,’ एमाले १ नम्बर प्रदेश कमिटी सदस्यसमेत रहेका दाहालले भने, ‘यसमा कुनै दुविधा छैन, लिङदेनलाई एमालेले सघाउँछ, जो चुनावी गठबन्धन हो ।’एमालेले औपचारिक निर्णय सार्वजनिक गरेपछि मात्रै आफूले त्यस विषयमा आधिकारिक धारणा राख्ने लिङ्देनले बताए । लिङ्देनले झापामा कांग्रेससँगको गठबन्धन तोडिएको दोहोर्‍याएका छन् ।

ओलीसँग भिड्ने कांग्रेस उम्मेदवार छैनन्
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट कांग्रेसको उम्मेदवार को हुने अझै अनिश्चित छ । सो क्षेत्रबाट एमाले अध्यक्ष उम्मेदवार बन्ने पक्कापक्की भएको छ । ओलीको नाम सर्वसम्मतिले सिफारिस भएपछि कांग्रेसमा कसलाई उम्मेदवार बनाउने निर्णय लिन सकस परेको हो ।झापा–५ बाट कांग्रेस नेता केशवकुमार बुढाथोकी, डा. खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम सिफारिस गरिएको छ । तर, क्षेत्र नम्बर–१ मा प्रचारप्रसार तीव्र पारिरहेका युवा नेता विश्वप्रकाश शर्मालाई ५ मा ओलीसँग भिड्न पठाउने विषयले पनि केही दिन चर्चा पायो । यद्यपि, शर्मालाई ५ नम्बरमा पठाउने निर्णय नभएको कांग्रेस झापाले जनाएको छ । क्षेत्र नम्बर १ बाट सिफारिस भएका शर्मा ५ मा जान नमानेको शर्माका निकटवर्ती एक नेताले बताए ।

कांग्रेसबाट उम्मेदवार टुंगो नलागेपछि यस क्षेत्रमा ओली बलिया देखिएका छन् । कांग्रेसका एक नेताका अनुसार कांग्रेसले महाधिवेशन प्रतिनिधि राजन ढुंगानालाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ । ओलीसँग प्रतिष्पर्धा गर्न नेता बुढाथोकी आउन सक्ने सम्भावना पनि जीवितै छ । बुढाथोकी दोस्रो संविधानसभाको निर्वाचनमा झापा–५ बाट निर्वाचित भएका थिए । उनी निर्वाचित क्षेत्र हाल क्षेत्र नम्बर ४ मा पर्छ । राप्रपाले भने केन्द्रीय सदस्य लक्ष्मी संग्रौलाको नाम झापा–५ बाट सिफारिस गरेको छ ।

कांग्रेसलाई सर्वाधिक चिन्ताको विषय बनेको क्षेत्र झापा–५ नै हो । एमाले अध्यक्ष ओलीसँग भिड्न कसलाई उम्मेदवार बनाउने भन्ने विषय अहिले कांग्रेसलाई टाउको दुखाई बनेको छ । त्यसो त स्थानीय तहको निर्वाचन परिणामलाई हेर्दा यस क्षेत्रमा बाम गठबन्धनकै बर्चस्व देखिन्छ । दमक नगरपालिका, कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिकाको वडा नम्बर ३, ४, ५, ६ र गौरादह नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ लाई झापा–५ मा राखिएको छ ।

स्थानीय तहमा यस्तो छ नतिजा
गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकामा कांग्रेससँग मत बराबर भएपछि एमाले गोला तानेर विजयी भएको थियो । गौरीगञ्ज गाउँपालिकामा भने राप्रपा विजयी भएको थियो । हाल झापा–५ मा परेको गौरीगञ्ज–३ र ६ मा कांग्रेस, ४ मा माओवादी केन्द्र र ५ मा एमाले विजयी भएको थियो । गौरादहमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । गौरादह–१, ३, ४, ५, ७ र ८ मा एमाले तथा २ र ६ मा कांग्रेस विजयी भएको थियो । स्थानीय तहको निर्वाचनमा एमालेले सहजै जित निकालेको दमक नगरपालिकामा मात्रै हो । दमक नगरपालिकामा एमाले भारी मतले विजयी भएको थियो । दमक–१ र ७ बाहेक अन्य ८ वटै वडामा एमालेले जितेको थियो । दमकमा तेस्रो भएको माओवादी केन्द्र पनि बाम गठबन्धनमा भएकाले ओलीले सहजै बाजी मार्ने गठबन्धनका नेता बताउँछन् ।

वाम गठबन्धनको मत
क्षेत्र नम्बर ५ मा पर्ने दमकमा एमालेले कुल १० हजार ८ सय ६ मत पाएको थियो । कमल गाउँपालिकामा एमालेले ८ हजार २ सय ७५ ल्याएको थियो । गौरादह नगरपालिकाको–१, २, ३, ४, ५, ६, ७ र ८ मा एमालेसँग ८ हजार ७ सय २ मत छ । गौरीगञ्जको–३, ४, ५ र ६ बाट एमालेले १ हजार ६ सय ७७ मत पाएको छ । झापा–५ मा एमालेसँग २९ हजार ४ सय ६० र माओवादी केन्द्रसँग १२ हजार ७ सय ८३ मत छ । झापा–५ मा बाम गठबन्धनले पाएको जम्मा मत ४२ हजार २ सय ४३ हो ।

कांग्रेसको मत
दमकमा चौथो बनेर ५ हजार ५ सय ३९ मत ल्याएको कांग्रेसले कमल गाउँपालिकामा ८ हजार २ सय ७५ मत प्राप्त ग¥यो । झापा–५ मा पर्ने गौरादहको ८ वटा वडामा कांग्रेसले ७ हजार ३ सय ९१ र गौरीगञ्जको ४ वटा वडामा २ हजार ४५ मत ल्याएको छ । कांग्रेससँग झापा–५ मा २३ हजार २ सय ५० मत छ । यस क्षेत्रमा कांग्रेसभन्दा बाम गठबन्धनले १८ हजार ९ सय ९३ मत बढी पाएको छ । नयाँ पत्रिकाबाट

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतका स्थानीय तहहरु:
क. गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६
ख. गौरादह नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र ८
ग. दमक नगरपालिका
घ. कमल गाउँपालिका