बैठकपछि ओलीको नयाँ रणनीतिले झस्किए १० नेता - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

बैठकपछि ओलीको नयाँ रणनीतिले झस्किए १० नेता



काठमाडौँ- नेकपा एमाललेको स्थायी कमिटी बैठकपछि पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिई एमालेमै रहेका मध्यमार्गी नेताहरू अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् ।

पार्टीको राजनीतिक प्रस्तावमै अध्यक्ष ओलीले एमाले सरकार ढाल्न र पार्टी विभाजनमा मध्यमार्गी नेताहरू मुख्य योजनाकार भएको आरोपले बैठकमा असन्तुष्ट बनेका उनीहरू बैठक सकिएलगत्तै आफू निकटलाई मात्रै बोलाएर स्थायी कमिटी बैठकबारे छलफल गरेपछि थप असन्तुष्ट बनेका छन् ।

पार्टी उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसाल लगायत १० नेताले राजनीतिक, विधान र सांगठनिक प्रतिवेदनमाथि असन्तुष्टि जनाएलगत्तै ओलीले आफू निकट र पूर्वमाओवादी नेताहरूलाई मात्रै निवासमा बोलाएर छलफल गरेका थिए ।

मध्यमार्गी नेर्ताहरूले प्रतिवेदनसम्बन्धी प्रस्ताव दसबुँदे सहमतिको मर्मविपरीत भएको बताउँदा ओलीले बैठकमै १० बुँदे सहमति लागु भैसकेको अपुष्ट जवाफ दिएका थिए । स्थायी कमिटी बैठकमा मध्यमार्गी भनिएका तेस्रो धारका नेताहरूले सामूहिक रूपमा धारणा राखेका थिए । जसमा उनीहरूले ओलीले अपुष्ट आरोप लगाएको र त्यसको किटान गर्नुपर्ने बताएका थिए । तर त्यसको जवाफमा ओलीले गोलमटोल जवाफ दिएर टारेको उनीहरूको आरोप छ ।

महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभागको विधान संशोधनमाथि पनि उनीहरूले कतिपय प्रावधानमा आपत्ति जनाएका थिए । अध्यक्ष ओलीले उनीहरूको सुझावलाई समेटेर केन्द्रीय र त्यसपछि स्थायी कमिटीको बैठकमा छलफल गरिने बताएपनि बैठक सकिए लगत्तै निकट नेताहरूलाई बोलाएर यसबारे छलफल गरेपछि तनाव उत्पन्न भएको छ ।

सोमबार सकिएको स्थायी कमिटी बैठकले फरक धारणा आएका सुझावलाई असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गर्ने निर्णय गरिसकेको छ । तथापी दसबुँदे सहमतिका आधारमा बढ्ने निर्णयलाई ती नेताहरूले आशंका व्यक्त गर्दै आएका छन् ।

एमालेको पहिलो विधान महाधिवेशन असोज १५–१७ हुँदै छ । यसको तयारी र राजनीतिक सांगठानिक प्रस्तावबारे छलफल गर्न एमालेको स्थायी कमिटि बैठक बसेको थियो ।

फरक धारणा राखेका नेताहरूले एमालेमा यी विषय नसमेटिए फरक निर्णय हुनसक्ने बताउँछन् । ति मध्यका एक नेताले भने, ‘प्रतिवेदनमा धेरै कुरा परिमार्जन गर्नुपर्नेछन्, हामीले प्रस्टसँग आफ्ना धारणा राखेका छौं, ती सुझाव कसरी समेटिन्छन्, आगामी बैठकसम्म पर्खन्छौं । समेटिएनन् भने त्यसपछि निर्णय गर्छौं ।’

माधव नेपालको साथ छोडेर एमालेमा बसेका नेताहरूले छुट्टाछुट्टै रूपमा लिखित र मौखिक सुझाव राखेका छन् । संसद् विघटन गलत भएको र त्यसले पार्टीमा समस्या ल्याएको उनीहरूको निष्कर्ष छ । ‘संसद् विघटन गलत हो । त्यसले गर्दा पार्टीमा समस्या सिर्जना भयो,’ उनीहरूको साझा धारणा छ । उनीहरूले अध्यक्ष ओली र पुष्पकमल दाहालबीच कार्यविभाजन भएको भए नेकपा विभाजनबाट जोगाउन सकिने तर्कसमेत गरेका छन् ।

‘तत्कालीन नेकपामा २०७७ भदौ २६ को बैठक धेरै महत्त्वपूर्ण थियो । त्यसले एकताबद्ध भएर जाने आधार तयार गरेको थियो । त्यो पनि कार्यान्वयन भएन । सचिवालयमा धेरै समस्या उत्पन्न भए,’ उनीहरूको धारणा छ । उक्त बैठकमा ओली पूरै कार्यकाल पाँच वर्ष प्रधानमन्त्री हुने र दाहालले कार्यकारी अध्यक्षका हैसियतले पार्टी सञ्चालन गर्ने सहमति तोडिएको थियो ।

ओलीले भने आफ्नो प्रतिवेदनमा फरक धारणा राख्ने नेताको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । राजनीतिक प्रतिवेदनको मस्यौदामा अध्यक्ष ओलीले दसबुँदे सहमतिका पक्षधर नेताहरूको नामै नलिई माओवादी अध्यक्ष पुष्पकमल दाहालका ‘सारथि’ का रूपमा व्याख्या गरेका छन् । ती नेताहरू पार्टीको नीति र नेतृत्वका लागि अन्त्यहीन गुटबन्दीमा संलग्न भएको राजनीतिक प्रतिवेदनमा छ ।

‘विभाजनका योजनाकारहरू नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वका विरुद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न थिए,’ फरक धारणा राख्ने नेताहरूको भूमिकाबारे प्रतिवेदनमा छ, ‘यिनीहरू नै २०७२–७३ मा सञ्चालित नेकपा (एमाले) नेतृत्वको सरकारलाई विस्थापित गर्ने भित्री योजनाकारहरू थिए र नेकपालाई सके कब्जा नभएमा विभाजित गर्ने पुष्पकमल दाहालको अभियानका सारथि पनि ।’ ओलीले आफ्नो सरकार बहिर्गमन हुनुमा उनीहरूको समेत भूमिका रहेको प्रतिवेदनमा उल्लेख छ ।

‘नेकपा (एमाले) नेतृत्वको सरकारलाई जुनसुकै मूल्यमा अपदस्थ गर्न, प्रदेशहरूमा एमाले सरकारलाई विफल पार्न, पार्टीका उम्मेदवारहरूलाई पराजित गर्न र आन्दोलनलाई विपक्षीहरूको सेवामा समर्पित गर्न यी व्यक्तिहरूबाट भएका गतिविधि सार्वजनिक नै छन्,’ प्रतिवेदनमा भनिएको छ ।

राजनीतिक, विधान र सांगठनिक प्रतिवेदनमा आफ्नो भूमिकाको उचित मूल्यांकन नभएकामा फरक धारणा राख्ने १० नेताको असन्तुष्टि बढेको छ ।