सरकारले तीन तहको निर्वाचन एकैचोटी गर्ने प्रस्ताव गरेपछि झस्कियो एमाले - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सरकारले तीन तहको निर्वाचन एकैचोटी गर्ने प्रस्ताव गरेपछि झस्कियो एमाले



काठमाडौं- सरकारले तीनै तहको निर्वाचन एकैसाथ गर्ने प्रस्ताव गरेपछि नेकपा एमाले झस्किएको छ । एमाले नेता तथा पूर्वमहान्यायाधिवक्ता रमेश बडालले निर्वाचन हुनै नदिने षड्यन्त्रस्वरुप तीन वटै तहको निर्वाचन एकैचोटी गर्ने प्रस्ताव अघि सारिएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमहान्यायाधिवक्ता बडालले अहिले तीन वटै तहको निर्वाचन एकैचोटी सम्भव छ भन्ने र पछि सुरक्षा लगायतका चुनौती देखाएर तिनै तहको निर्वाचन नगर्ने षड्यन्त्र भईरहेको बताए ।

देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पु¥याउन लागिएको उनको दावी थियो ।

बडालले तीन वटै तहको निर्वाचन एकैचोटी गर्ने कुरा व्यवहारिक नभएको पनि उल्लेख गरे । स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्ने उनको भनाई छ ।

त्यसैगरी अन्तरक्रियामा बोल्दै पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले सबै तहको निर्वाचन एकैचोटी गर्ने विषयमा सकारात्मक रुपमा छलफल गर्नुपर्ने बताए ।

तीनै तहको निर्वाचनलाई सँगै गर्ने भन्ने विषयमा कोही पनि आतंकित हुन नहुने उनले बताए ।

आगामी निर्वाचन स्वच्छ, निर्भिक, स्वतन्त्र र बिना खर्च सम्पन्न हुनेगरी छलफल केन्द्रीत गर्नुपर्ने उनले बताए ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीले बैशाख महिनासम्ममा स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने धारणा राखे ।

तीन वटै तहको निर्वाचन एकैपटक गर्दा झन्झट हुने भन्दै उहाँले पहिले स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए । स्थानीय सरकार बलियो भएमात्रै प्रजातान्त्रिक प्रणाली बलियो हुने उनले उल्लेख गरे ।

पूर्वअध्यक्ष केसीले सरकारले अविलम्ब निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए ।