६५ जिल्लाबाट काँग्रेस उम्मेदवार सिफारिस - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

६५ जिल्लाबाट काँग्रेस उम्मेदवार सिफारिस



ललितपुर, असोज २२ गते ।

मङ्सिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारीका लागि नेपाली काँग्रेसलाई ६५ जिल्लाबाट सिफारिस प्राप्त भएको छ । तर, त्यसरी पठाएको सिफारिसमा आकाङ्क्षीको सूची भने निकै लामो छ ।

पार्टी केन्द्रीय सचिवालयका अनुसार काँग्रेसले जिल्लाका कार्यसमितिलाई एक क्षेत्रबाट बढीमा तीन जनासम्मको नाम सिफरिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको थियो । निर्देशनअनुसार कतिपय जिल्लाबाट नामावली आए पनि अधिकांश जिल्लाबाट भने लामो सूची पठाइएको छ । कतिपय जिल्लाबाट अलग अलग सूची समेत आएको छ ।

‘कतिपय जिल्लाबाट त एक निवाचन क्षेत्रबाट ५२ जनासम्मको नाम सिफारिस आएको छ,’ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले बाँकी जिल्लाबाट पनि आइतबारसम्म सिफारिस आइसक्ने जानकारी दिनुभयो । पार्टीको केन्द्रीय कार्य समितिको शुक्रबार बसेको बैठकले असोज २७ गते भित्र नै प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदारको टुङ्गो लगाइसक्ने निर्णय सार्वजनिक गरेको छ । तर, उम्मेदवारको टुङ्गो लगाउने पार्टीको संसदीय समिति भने शनिबार पनि बन्न सकेन ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गर्न वरिष्ठ नेता लगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई अधिकार दिने निर्णय काँग्रेसले गरिसकेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले पार्टी सभापतिले चाँडै समिति गठन गर्नुहुने जानकारी दिनुभयो । काँग्रेस केन्द्रीय कार्य समितिको बैठकले संसदीय समितिलाई सजिलो हुने गरी उम्मेदवारको मापदण्ड पनि तयार गरिसकेको छ ।

त्यसअनुसार समानुपातिक सांसदले आसन्न निर्वाचनमा दोहोरिएर समानुपातिकमै उम्मेदवार बन्न पाउने छैनन् । त्यसैगरी स्थानीय तहको निर्वाचनमा उम्मेदवारीको अवसर पाएकाले पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न पाउने छैनन् । त्यसैगरी गएको संसदीय र स्थानीय निर्वाचनमा विद्रोही बनेका र तिनका प्रस्तावक र समर्थक पनि यो पटक उम्मेदवार बन्न नपाउने गरी काँग्रेसले मापदण्ड तयार गरेको छ ।