को हुन् अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका जो बाइडेन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

को हुन् अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका जो बाइडेन



काठमाडौं- विश्वकै शक्तिराष्ट्र अमेरिकाको ४६औँ राष्ट्रपति बन्ने लगभग पक्का भएका जो बाइडेन आजभन्दा ३३ वर्षअघि नै अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने अभियान थालेका थिए । १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशीका रूपमा आफ्नो अभियान चलाएका बाइडेनलाई त्यतिबेला चोरीको आरोप लागेकाले उनी ब्याक भएका थिए ।

जितका आवश्यक २ सय ७० इलेक्टोरल भोटको आवस्यकता पर्ने अमेरिकी राष्ट्रपति चुनावमा उनले ऐतिहासिक मत प्राप्त गरेका छन् । यसअघि पपुलर भोट सबैभन्दा धेरै ल्याउने पूर्वराष्ट्रपति बाराक ओबामालाई समेत पछि पार्दै उनले इतिहासमै सबैभन्दा धेरै मत ल्याएर किर्तिमान कायम गरेका छन् ।

बाइडेन पछिल्ला तीन दशकमा पदासीन राष्ट्रपतिलाई हराउने पहिलो उम्मेदवार समेत बनेका छन् । बाइडेन सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए ।

चुनावी अभियानका लागि निकै सफल मानिने बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट निरन्तर सिनेटर भएका थिए ।

बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० मा भएको हो। उनकी पहिलो पत्नी नेलिया र नाओमीले कार दुर्घटनामा ज्यान गुमाएका थिए। सिनेटमा पहिलो चुनाव जितेपछि शपथ लिने तयारी गर्दैगर्दा भएको दुर्घटनामा नेलिया र नाओमीको ज्यान गएको थियो भने दुई छोरा बो र हन्टर घाइते भएका थिए।

बो बाइडेनको सन् २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क ट्युमरका कारण मृत्यु भएको थियो। पारिवारिक शोकमा डुबेका बाइडेनप्रति सर्वसाधारण अमेरिकीले निकै सहानुभूति राख्ने गर्छन्। उक्त सहानुभूति आगामी दिनमा कायम हुन्छ कि हुँदैन भन्नेचाहिँ उनको कार्यशैलीमै भर पर्छ।

उनले ३३ वर्षअघि सन् १९८८ मा राष्ट्रपतीय चुनावको प्रत्याशीका रूपमा आफ्नो अभियान चलाएका थिए। त्यतिबेला बलियो दाबेदार ठानिएका उनी बेलायती राजनीतिज्ञ नील किनकको भाषण चोरेको आरोप लागेपछि अभियान त्याग्न बाध्य भएका थिए।

बाइडेनमा विदेश नीतिसम्बन्धी दशकौं लामो अनुभव छ। कूटनीतिक अनुभव बलियो पक्ष भएकाले विदेश मामिलासम्बन्धी जटिल विषय उनका लागि बढी हानिकारक हुन सक्ने देखिन्छ।

यसअघि सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्षसमेत रहेका बाइडेनले ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतासँग भेटेको दाबी गर्छन्। यसले मतदातालाई आश्वस्त पार्न सक्ने भए पनि विदेश मामिलाका विभिन्न मुद्दामा उनले विगतमा गरेका मतदानले कस्तो असर पार्ला भन्न सकिँदैन।

उनले सन् १९९१ मा पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा इराक अतिक्रमणको समर्थन गरेका थिए। पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना गरेका थिए। अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए। उक्त कारबाहीमा लादेन मारिएका थिए।

प्रखर वक्ताका रूपमा परिचित बाइडेन सामान्य नागरिकसँग निकै सहज रूपमा घुलमिल हुन सक्छन्। विरोधीका नजरमा भने उनी ‘अस्ताउन लागेका घाम’ हुन् जसले बेलाबखत लाजमर्दो व्यवहार गर्छ। उदाहरणका लागि महिलाको कपाल सुँघ्ने बाइडेनको बानी छ। गत वर्ष उनले आफूहरूलाई अनुचित स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको आरोप आठ महिलाले लगाएका थिए।

बाइडेन मतदातालाई आकर्षित गर्न सक्ने स्वभाव भएका नेतासमेत मानिन्छन्। भाषणका क्रममा भने उनी बेलाबेला चिप्लने गरेका छन्। एक भाषणमा उनले आफ्ना पुर्खाहरू पेन्सलभेनियाका कोइलाखानीमा काम गर्ने बताएका थिए। तर त्यो वास्तविकता होइन। उनले सन् २०१२ मा आफ्नो राजनीतिक अनुभवबारे बोल्दै ‘आठ जना राष्ट्रपतिलाई चिनेको र तीमध्ये तीन जना आफ्नो अत्यन्त निकट रहेको’ दाबी गरेका थिए। उनको यो दाबी गलत भएको र विचार नगरी बोलेको जनाइएको छ। ओबामाको उपराष्ट्रपतिका रूपमा सन् २००९ मा उनले ‘आफूहरूका कारण अर्थतन्त्रमा ३० प्रतिशत हानि पुर्‍याउने सम्भावना रहेको’ बताएका थिए।

मतदातासँगको भेटघाटमा भने बाइडेन निकै सहज रूपमा प्रस्तुत हुन्छन्। खासगरी कामदार तथा मजदुर वर्गलाई भाषणमार्फत लट्ठ पार्न सक्छन्। भाषणपछि समर्थकसँग हात मिलाउँछन् र कुनै रकस्टारले जस्तो अँगालो मार्ने वा फोटो खिचाउने गर्छन्। -एजेन्सीको सहयोगमा