दैनिक शक्तिबर्द्धक बुटी खाने कृष्णदासले १२ वर्षकी बालिका समेत छाडेनन् - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

दैनिक शक्तिबर्द्धक बुटी खाने कृष्णदासले १२ वर्षकी बालिका समेत छाडेनन्



काठमाडौँ- दशकयता जगद्गुरु, अनन्तश्री र महायोगी सिद्धबाबाका रूपमा चिनिँदै आएका ४५ वर्षीय कृष्णबहादुर गिरी यतिबेला गम्भीर विवादमा फसेका छन् । उनीमाथि आफ्नै अनुयायी एक महिलाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् ।

त्यही उजुरीका आधारमा प्रहरीले गिरीलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

गिरी यसअघि पनि पटक–पटक यस्तै विवादमा मुछिएका थिए । उनले करिब चार वर्षअघि इटहरीको बालग्रामबाट पढाउन भन्दै चतरास्थित आश्रममा लगेका १३ र १२ वर्षका चापागाईं थरका दुई बालिकालाई यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो ।

हाल इटहरीमा पीडित महिलालाई आश्रय दिने माया घरकी सञ्चालक समिति सदस्यसमेत रहेकी महिला सञ्जालकी सचिव शुभद्रा प्याकुरेलका अनुसार ती बालिका चार महिना नपुग्दै भागेर बालग्रामस्थित घरमा आएपछि दुर्व्यवहारबारे खुलेको थियो ।

‘बालग्रामका स्थानीय बासिन्दाले गिरीले बालिकाहरूलाई आश्रमको कोठामा लगेर दुर्व्यवहार गरेको जानकारी दिएपछि सुनसरीको ओरेक महिला पुनर्स्थापना केन्द्र र महिला सञ्जालका प्रतिनिधिले घटना बुझ्ने प्रयास गरेका थिए,’ प्याकुरेलले भनिन्, ‘तर अभिभावक र गिरीका भक्तले हामीलाई ती बालिकासँग भेट्न दिएनन् ।’

यौनकाण्डको भन्डाफोर हुने भएपछि स्थानीय केही नेताले ती बालिकालाई भारतको आश्रममा पढ्न पठाउने योजना बनाएका थिए तर महिला सञ्जाल, ओरेक र माइती नेपालका प्रतिनिधिले बालिकाहरूलाई जोगबनी कटाउन लाग्दा फर्काएका थिए ।

गिरीले सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियामार्फत ‘भारतको आश्रममा अध्ययन गर्न पठाएको सिफारिस’ रातारात बनाएपछि आफूहरूले केही गर्न नसकेको प्याकुरेलले जनाइन् । ती दुई दिदीबहिनी अहिले भारतको दिल्लीस्थित कन्याकुमारी आश्रममा रहेको बताइए पनि अभिभावकले नै ढाकछोप गरेकाले थप खोजी हुन नसकेको प्याकुरेलले बताइन् ।

गिरीले दैनिक शक्तिबर्द्धक जडीबुटी दूधमा मिसाएर सेवन गर्ने गरेको र युवतीप्रति आशक्त नहुन सुझाउँदा ‘तैंले मलाई सिकाउने’ भन्दै विवाद गर्ने गरेको उनकै नातेदारले बताएका छन् ।

आश्रममा वर्षा नामकी युवतीका विषयमा दुईपटक यस्तै विवाद हुँदा उनले आफ्नै भाइ एनकुमार गिरीलाई समेत कुटेका थिए । गिरीले वर्षा र अस्वीना अधिकारीलाई चेली बनाएर आश्रममा राखेका छन् । अस्वीना मातातीर्थका नारायण बाबाकी चेली हुन् । उनी आफ्ना गुरु नारायण बाबाको मृत्युपछि गिरीसँग बस्न थालेकी हुन् ।

गिरीका भक्तहरूका अनुसार वर्षा राजस्थानकी हुन् । यसअघि सिन्धुलीकी कार्की थरकी एक महिलाका विषयमा पनि आश्रममा विवाद भएको थियो । गिरीप्रति आशक्त भएको भन्दै श्रीमान्‌सँग झगडा भएपछि ती महिलालाई गिरीले चेली बनाएर आश्रममा राखेका थिए ।

गिरीले राजस्थानका एक मारवाडी दम्पतीको पनि सम्बन्ध बिगारिदिएको उनका भक्तहरू बताउँछन् । ती महिलाको गिरीसँगको सम्बन्ध थाहा पाएपछि श्रीमान्‌ले छाडेका थिए ।
कान्तिपुर दैनिकमा समाचार छ