सभापतिलाई नविन्द्रराज जोशीको पत्र: सरकार दलाल बन्यो काङ्ग्रेसको भूमिका खोई ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सभापतिलाई नविन्द्रराज जोशीको पत्र: सरकार दलाल बन्यो काङ्ग्रेसको भूमिका खोई ?



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सरकार ठेकेदार र बिचौलियाको पक्षमा उभिएको र यसमा काङ्ग्रेसले उचित कदम चाल्न नसकेको आरोप लगाएका छन् ।

बिहीबारको कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा व्यक्त गर्दै सरकार ठेकेदार र बिचौलियाको पक्षमा उभिएकोले नेपाली कांग्रेसले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
उनले भने, “अहिलेको सरकारबाट लोकतन्त्रको संरक्षण र सम्बद्र्धन हुन सक्दैन भन्ने व्यवहारतः निष्कर्ष निकालेका नेपाली जनता लोकतन्त्रप्रति हृदयतः आस्थावान् छन् ।

लोकतान्त्रिक अधिकारप्रति सचेत छन् । नेपाली कांग्रेसले लोकतन्त्रकाप्रति गरेको बलीदानका कारण कांग्रेसमाथि विश्वास पनि छ तर अहिले नेपाली काङ्ग्रेसप्रतिको विश्वासमा कमी देखिएको छ । यसलाई उचित सुधार र जनताले अनुभूत गर्न पाउने गरी कांग्रेसको संगठन गर्न जरुरी छ ।”

जोशीले सभापतिलाई लेखेको पत्र यस्तो छ :

सम्माननीय सभापतिज्यू,
नेपाली कांग्रेस, केन्द्रीय कार्य समिति ।
आदरणीय सभापतिज्यू,

राष्ट्र अहिले गम्भीर मोडमा पुगेको छ । राष्ट्र कमजोर बन्दै गई राष्ट्रकै चुनौती बढेको यो परिस्थितिमा गहन र गम्भीर जिम्मेवारी कांग्रेसको काँधमा आइपरेको छ । लामो र कष्टपूर्ण संघर्षको यात्रा तय गर्दै आम नागरिकहरुलाई समग्रतामा सम्पन्न बनाउने लक्ष्य हामीले लियौँ । यो लक्ष्य प्राप्तिमा हाम्रा अग्रजहरुले गरेका बलिदानीपूर्ण योगदान राष्ट्रको सम्पत्ति हो । प्रत्येक सकारात्मक राजनीतिक परिवर्तनको मियो बनेको नेपाली कांग्रेस आज देशमा देखिएका राजनीतिक, सामाजिक र आर्थिक संकटमा आफुलाई कसरी उभ्याउँछ र तयार पार्छ भन्ने आम जनताको सरोकारको विषय बनेको छ । नेपाली कांग्रेसकै नेतृत्वमा आएको र सबै राजनीतिक दलहरुको सहमतिमा बनेको संविधानमाथि धावा बोलिएको छ ।

लोकतान्त्रिक प्रक्रिया र व्यवहारलाई लत्याएर लोकतान्त्रिक प्रणाली माथि नै प्रहार गरिएको छ । खुलेयाम भ्रष्टाचार, नातागोता र आफ्ना पक्षका कार्यकर्तालाई पोस्ने कम्युनिष्ट सरकारको कार्यले सक्षम व्यक्तिहरु निराश भएका छन् । नागरिक थला पर्ने गरी बढाइएको कर र महङ्गीले लोकतन्त्रप्रति नै अविश्वास बढाएको छ, आर्थिक रुपमा देश असफलताको मार्गमा छ, सामाजिक रुपमा संस्कृति, धर्म र परम्परा माथि आक्रमण गरी सामाजिक विचलन ल्याउने प्रयास गरिएको छ । अन्यायको त्रासले न्याय लुकेको छ । समाजका सम्पूर्ण मान्यताहरु, विशिष्टताहरुलाई समाप्त पारेर संविधानको लोकतान्त्रिक समाजवादलाई अपव्याख्या गर्दै सत्ता कब्जा गर्ने लोकतान्त्रिक मूल्य र मान्यता विपरीतको समाजवादको कर्कश धून सरकार बजाई रहेको छ । समग्रमा यो देश अत्यन्तै दुरावस्थाको अप्ठेरो मोडमा उभिएको छ । यो अवस्थामा नेपाली कांग्रेस देशले भरोसा गर्न सक्ने कार्ययोजना सहित राष्ट्रका सामु उभिन आवश्यक छ । देशका चुनौती बढेसंगै हामी अझ बढी जिम्मेवार र सक्रिय हुन आवश्यक छ ।

यो परिस्थितिमा नेपाली कांग्रेसको भूमिका र कार्ययोजना के कस्तो हुनु पर्दछ भन्ने छलफल गर्ने उद्देश्यले केही समय पहिले नेपाली कांग्रेसका शुभचिन्तक विद्वत् समुदायसंग अन्तक्र्रिया कार्यक्रमको मैले आयोजना गरेको थिएँ । सो अवसरमा कांग्रेसका शुभचिन्तक विद्वज्जनद्वारा व्यक्त निम्नानुसारका भावनाहरुलाई आत्मसात् गरी नेपाली कांग्रेस अघि बढ्न उपयुक्त देखिएकोले सभापतिज्यू समक्ष प्रस्तुत गरेको छु ।

क) लोकतन्त्रको विकासमा कांग्रेसको सक्रियता

  • अन्य राजनीतिक दलहरुबाट लोकतन्त्रको संरक्षण र सम्बद्र्धन हुन सक्दैन भन्ने व्यवहारतः निष्कर्ष निकालेका नेपाली जनता लोकतन्त्रप्रति हृदयतः आस्थावान् छन् । लोकतान्त्रिक अधिकारप्रति सचेत छन् । नेपाली कांग्रेसले लोकतन्त्रकाप्रति गरेको बलीदानका कारण कांग्रेसमाथि विश्वास पनि छ तर अहिले नेपाली काङ्ग्रेसप्रतिको विश्वासमा कमी देखिएको छ । यसलाई उचित सुधार र जनताले अनुभूत गर्न पाउने गरी कांग्रेसको संगठन गर्न जरुरी छ ।
  • वैचारिक रुपमा स्पष्ट मार्गनिर्देश गर्दै नेतृत्वले आवश्यक विश्वसनीय र स्पष्ट एजेण्डा दिन जरुरी छ । विशेषतः युवाहरुको लोकतन्त्रप्रतिको भरोसालाई दीगो बनाउन तात्कालीन र दीर्घकालीन योजना र सो अनुरुपको कार्य तत्काल प्रारम्भ गर्न जरुरी छ ।
  • चिन्तन र व्यवहारमा सामञ्जस्य ल्याई समय अनुसारको अवधारणा तयार गर्नु पर्दछ ।
  • नेपालमा सामाजिक लोकतन्त्रको विकास जरुरी छ । हामीले लोकतन्त्र त स्थापना गर्‍यौँ तर हामी आफै लोकतान्त्रिक मूल्य र मान्यतामा कति हिँड्न सक्यौँ, त्यो पथ कति अनुशरण गर्‍यौँ, हामी सबैले, विशेषतः नेतृत्वले मूल्याङ्कन गर्नु पर्दछ । लोकतान्त्रिक आचरण र व्यवहारका साथै आन्तरिक र बाह्य पनि लोकतन्त्रको यथार्थ प्रयोग लोकतन्त्रको संरक्षण र सम्बद्र्धनका लागि आवश्यक छ ।
  • केही समय अघि प्रस्तुत कांग्रेसको नियमावलीमा लोकतान्त्रका आधारभूत मान्यताहरुसंग मेल नखाएका बूँदाहरु परिमार्जन गरिनु पर्दछ । लोकतन्त्रको आधारभूत मान्यता भनेको संस्थागत स्वायत्तता र स्वतन्त्रता माथि आँच आउने कुनै कार्य उचित हुँदैन ।
  • चुनावमा गरिने अन्तर पार्टी साँठगाँठ र अन्य अवस्थामा गरिने कार्यगत एकता भविष्यमा समेत लोकतन्त्रलाई प्रत्युत्पादक नहुने गरी अत्यन्त सुझबुझपूर्ण तरिकाले गरिनु पर्दछ ।
  • आर्थिक सामाजिक रुपान्तरण नै नेपाली काङ्ग्रेसको समाजवाद हो । उदार र बहुलवादी राजनीति तर्फ कांग्रेस केन्द्रित हुनुपर्दछ । लोकतन्त्रका तीन खम्बा छन् – १. गतिशील बजार र उदार अर्थतन्त्र, २. सहभागिता र विकेन्द्रीकृत लोकतन्त्र (उदार लोकतन्त्र), ३. सन्तुलित र क्षमता, आवश्यकतामा आधारित सामाजिक सुरक्षा । कांग्रेसको ध्यान यसमा केन्द्रित हुनुपर्दछ ।
  • कम्युनिष्ट सरकारले लोकतन्त्रका प्रति गरेको घात, तयार गरेका विधेयकहरु, प्रधानमन्त्री एवं मन्त्रीहरुले बोल्दा प्रयुक्त शब्द तथा भाषाहरु, अपनाएका अलोकतान्त्रिक प्रक्रिया, संसदीय परम्परा विपरीतका कार्यहरु, विद्वत् समुदायमाथि गरिएका प्रहार आदिका कारणले लोकतन्त्र गुम्ने स्थिति पैदा भएको छ । जुन संविधानबाट निर्वाचित भएर आए त्यसैप्रति अनास्था फैलाउने नेकपा सरकार र पार्टीबाट लोकतन्त्रको संरक्षण हुन नसक्ने विभिन्न सूचकहरु र नियतले स्पष्ट पारेका छन् । यस अवस्थामा कांग्रेसले आफुले र लोकतन्त्रका लागि क्रियाशील हुने जमात बनाई लोकतन्त्रकको संरक्षण गर्न जरुरी छ ।
  • पार्टीभित्र वैचारिक बहसलाई तीव्र बनाउनु पर्दछ । गाउँको तल्लो तहसम्म कांग्रेसका आम कार्यकर्ता र त्यहाँका सचेत जनताका बीचमा वैचारिक छलफल जरुरी छ । जनता र देशलाई केन्द्रमा राख्ने वीपीको चिन्तनले नै लोकतन्त्रको विकास गर्न सक्दछ । नेतृत्वको मूलमन्त्र नै निस्वार्थी, विचारको स्वतन्त्रताको सम्मान गर्ने, ग्रहण गर्ने र लोकतन्त्रलाई तल्लो तहसम्म अझ बढी संगठित गर्न भूमिका दिने हुनु पर्दछ । साथै लोकतन्त्रको मूलमर्म स्वतन्तत्रा, प्रत्येक नागरिकको मानव अधिकार र आर्थिक अधिकार हो । तसर्थ कांग्रेसले यसलाई स्थापित गर्न जसरी योगदान गर्‍यो, त्यसैगरी संरक्षण र सम्बद्र्धन गर्न क्रियाशील हुन जरुरी छ ।

ख) प्रभावशाली र व्यवस्थित पार्टीको निर्माण

  • कांग्रेसको स्थापनाकालदेखि नै अवलम्बन गरिएको मासबेस्ड परिपाटीलाई अझ मजबुत र संस्थागत गर्दै जानु पर्दछ ।
  • पार्टीलाई व्यवस्थित गर्न तीन कुरामा ध्यान दिनु पर्दछ – सोच, संरचना र व्यक्तित्व । विचार जीवन्त हुनु पर्दछ । त्यस विचारलाई तल्लो तहसम्म पुर्‍याउन संरचना तन्दुरुस्त हुनु पर्दछ र त्यो विचार प्रवाहित गर्ने व्यक्तित्व आदर्श हुनु पर्दछ । विचारलाई जनताको दैनिन्दिनीसँग जोड्ने र पार्टीले विभिन्न तहका समूहहरूसँग निरन्तर संवाद गर्ने गर्नु पर्छ ।
  • कांग्रेसले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई जनताका बीचमा रहेर सेवा गर्ने र उनीहरुको भावना बमोजिम कार्य गर्ने निर्देशन गर्नु पर्दछ ।
  • आगामी निर्वाचनमा थपिने ३५ लाख नयाँ युवा मतदातालाई आकर्षित गर्ने कार्यक्रम तदारुकताका साथ सञ्चालन गर्नु पर्दछ । ती युवाहरुलाई साधारण सदस्यता दिने अभियान चलाएर पार्टीलाई बलियो बनाउनु पर्दछ ।
  • भ्रातृ संस्थाहरुलाई जीवन्त बनाउनु पर्दछ । भ्रातृ संस्थाहरु एवं शुभचिन्तक संघ संगठनहरु जति सबल र सक्रिय हुन्छन्, पार्टी पनि त्यत्तिकै सुदृढ हुन्छ भन्ने कुरालाई पार्टीले आत्मसात् गर्नु पर्दछ । नियमित अधिवेशन संघ संस्थाहरुलाई चलायमान गराउने अचूक अस्त्र हो । त्यसैले भ्रातृ संस्थाहरुको अधिवेशन विधानमै उल्लेख गरेर निश्चित समयमा निरन्तर हुने परिपाटी बसाल्दै कांग्रेसका जरा एवं हाँगाबिँगाका रुपमा रहेका भ्रातृ तथा शुभचिन्तक संघ संगठनहरुलाई सबल, सक्षम र स्वतन्त्र रहने वातावरण निर्माण गर्न पार्टीले अहं भूमिका खेल्नु पर्दछ ।
  • पार्टीमा अनुशासनको कायम गर्दै तह अनुसार जिम्मेवारी बहन भए नभएको अनुगमन गर्ने र योगदानको मूल्याङ्कन पद्धति बसाल्नु पर्दछ ।
  • कांग्रेसको महाधिवेशनको तिथि मिति हालसम्म तोकिएको छैन । कांग्रेस नेता तथा कार्यकर्ताहरुको हौसला बढाउनका लागि केन्द्रीय कार्य समिति एकजुट भएर विधान अनुसार समयमै महाधिवेशन सम्पन्न हुने निश्चिन्तता प्रदान गरी प्रभावशाली कांग्रेसको निर्माणमा अग्रसर हुन जरुरी छ ।
  • पार्टीका नेतृत्व तथा नेताहरुले नीति, विचार र सिद्धान्तका आधारमा बहस बढाई पार्टीलाई वैचारिक रुपमा सबल, सक्षम र एकीकृत गर्दै स्वार्थ, गुट र उपगुटको अन्त्य गरी पार्टी एक छ भन्ने सन्देश जनता र कार्यकर्तालाई दिन नेतृत्व तह सक्षम हुनु पर्दछ । पार्टीमा र नेताहरुका बीचमा विवाद छैन भन्ने सन्देश प्रवाह गर्न सके कार्यकर्ताका साथै आम नागरिकमा सकारात्मक सन्देश सञ्चार भई पार्टी संगठन सुदृढीकरणमा सघाउ पुग्दछ ।
  • चुनावका बेला टिकट वितरण गर्दा आफ्नालाई भन्दा पार्टीमा योगदान पुर्‍याएका चुनाव जित्न सक्ने इमान्दार र स्वच्छ व्यक्तिको चयन गरिनु पर्दछ । टिकट प्राप्त गर्न नसकेका टिकटका आकांक्षी कार्यकर्ताहरुसंग टिकट वितरणकै बेला छलफल गरी पार्टी नेतृत्व सबैसंग समान व्यवहार गर्दछ र उनीहरुको भविष्यका बारेमा सम्वेदनशील छ भन्ने सन्देश दिन सक्नु पर्दछ ।
  • सरकार एवं विपक्षी पार्टीका कमी कमजोरीलाई संसद् र सडकमा प्रभावकारी तबरले उठाई कांग्रेसलाई जनभावना र जनतासँग जोड्नु पर्दछ । छाया सरकारको भूमिका जनताले अनुभूत गर्न सक्ने हुनु पर्दछ ।
  • व्यवस्थापन र कार्यशैली सुधार गरी विगतमा भएको हारलाई जितमा बदल्नु पर्दछ । व्यक्ति भन्दा संस्था बलियो बनाउने तर्फ उन्मुख हुनु पर्दछ ।
  • पार्टीभित्रका आन्तरिक समस्यालाई घरभित्र नै समाधान गर्ने वातावरण तयार गरिनु पर्छ । काङ्ग्रेसका आन्तरिक कुरालाई नीति, विचार र बहसबाट टुङ्गो लगाउनु पर्दछ । नेतृत्व पार्टी र जनताप्रति उत्तरदायी बन्नु पर्दछ ।
  • कम्युनिष्टभन्दा हामी भिन्न छौँ भन्ने विचारलाई प्रवाहित गर्नु पर्दछ । वैचारिक रुपले हामी अरुभन्दा फरक हुनुपर्दछ ।
  • कम्युनिष्टले पनि प्रजातान्त्रिक पद्धतिबाटै जितेकाले यो कांग्रेसकै सिद्धान्तको जित हो । हाम्रो सिद्धान्तले जित्नु र हामीले हार्नुमा विश्लेषण हुन जरुरी छ ।
  • हाम्रो आफ्नै प्रकृति, स्वभाव र मान्यताले नै देशमा लोकतन्त्र स्थापना भई संविधान निर्माण हुन सकेको हो । तसर्थ यसैलाई सबल बनाउनु नै हाम्रो आगामी कदम हुनु पर्दछ । अर्काको स्वभावलाई नक्कल गगर्नु हामीलाई घातक छ । विश्वमै पराजित भएको कम्युनिष्ट स्वभावलाई बोक्न जरुरी छैन ।
  • शुभेच्छुक संघ संस्थालाई स्वतन्त्र छाड्नु पर्दछ, नियन्त्रण गर्नु हुँदैन । ३० हजार आइटी क्षेत्रमा लागेका युवा जस्तै विभिन्न क्षेत्रमा लागेका युवालाई स्वतन्त्ररुपमा छाड्दै प्रजातान्त्रिक मूल्य र मान्यतामा आस्थावान् बनाउने उपाय अबलम्बन गर्नुं पर्छ ।
  • युवाहरुको भविष्यको राजनीतिक जीवनको सुरक्षामा पार्टीको ध्यान जान जरुरी छ ।
  • कांग्रेसजनको जीवनशैली साधारण र विचार उच्च बनाई देशलाई समृद्ध बनाउने सोच राख्नु पर्दछ ।
  • भविष्यमा वामपन्थीहरुबाट लोकतन्त्रवादीहरुले ठूलो चुनौतीको सामना गर्नु पर्ने निश्चित छ । आम लोकतन्त्रवादीहरुको नेतृत्व गर्दै लोकतन्त्रको संरक्षणको जिम्मा लिने गरी कांग्रेस प्रस्तुत हुन जरुरी छ ।
  • ७० वर्ष माथिका क्रियाशील सदस्यहरुलाई सम्मान गर्नु पर्छ । नयालाई भूमिका र पुराना कार्यकर्तालाई क्षमता र योग्यता अनुसारको जिम्मेवारी दिई गाउँ गाउँमा बीपी र गणेशमान खोज्नु पर्छ ।
  • पार्टीलाई जीवन्तता प्रदान गर्न, जनताको भावना संगै गतिशील बनाउन आम कार्यकर्तालाई सक्रिय तुल्याउन सङ्गठन, विचार र नेतृत्व नै मूल आधार हुन् । संगठन शरीर हो । विचार प्राण वा आत्मा हो । नेतृत्व विवेक हो, नेतृत्वले नै विचारलाई प्रभावकारी रुपमा हाँक्नु पर्छ । सिद्धान्त, आदर्श र विचारलाई छलफल र बहसको निरन्तरता दिँदै यसलाई व्यवहारमा लागू गर्नु पर्छ ।

ग) कांग्रेसका उपलब्धिहरुको प्रचारप्रसार

  • कांग्रेस सत्तामा रहँदा होस् या विपक्षमा रहँदा देश र जनताका पक्षमा गरिएका कार्यहरुको बारेमा जनतालाई सुसूचित गराउन अत्यावश्यक छ । सत्तामा रहँदा सूचना, सञ्चार, शिक्षा, स्वास्थ्य आदिमा भएको प्रगतिका साथै कांग्रेसले विगतमा गरेका राम्रा कामहरु थुप्रै छन् । अहिले विपक्षमा रहँदा पनि गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, सुरक्षा विधेयक आदि जनताको दवाब र कांग्रेसको सशक्त भूमिकाका कारण नै फिर्ता भएका हुन् । यी कुराहरु लोकतन्त्रको पक्षमा भएका कार्य हुन् । कांग्रेसले गरेका यस्ता कार्यहरुको प्रचार र कम्युनिष्टले गरेका कहाली लाग्दा मानवता विरोधकी कार्यहरुको बारेमा जनतालाई सुसूचित गराउन व्यापक प्रचार प्रसार अभियान सञ्चालन गर्नु पर्दछ ।

घ) नेकपाको वर्तमान सरकारका राष्ट्र र जनता विरोधी कार्यहरुका विरुद्ध अभियान

  • नेपालको अर्थतन्त्र घाटामा छ । वर्तमान नेकपाको सरकारले धराशायी बनाउँदै लगेको छ । चालु खर्च आम्दानीले थेग्दैन । यो जटिल अवस्था हो । देशलाई आर्थिक सङ्कटबाट बचाउन काङ्ग्रेसले यो कुरा जनतालाई सुसूचित गर्ने र सरकारलाई खबरदारी गर्ने कार्य गर्नु पर्दछ ।
  • नेकपाको वर्तमान सरकारले सर्वत्र गराएको कर वृद्धिले जनतालाई पारेको असरहरुलाई प्रकाश पार्दै न्यायोचित कर प्रणालीका पक्षमा कांग्रेसले सशक्त आवाज उठाउनु पर्दछ ।
  • ठेकेदार र बिचौलियाहरुको पक्षमा यो सरकार उभिँदा जनताले व्यहोर्नु परेको महङ्गीले जनजीवन नै अस्तव्यस्त हुनु परेको कुरामा संवेदनशील हुँदै कांग्रेसले महङ्गी नियन्त्रणका लागि सरकारलाई बाध्य बनाउन सक्नु पर्दछ ।
  • कम्युनिष्ट सरकार संस्थागत भ्रष्टाचारमा संलग्न रहेका कारण देशले भोग्नु परेको दुर्नियति जनताका माझमा पुर्‍याउँदै भ्रष्टाचार नियन्त्रणका विभिन्न उपायहरुमा कांग्रेस सक्रिय हुनु पर्दछ ।
  • नेकपाको वर्तमान सरकारको अधिनायकवादको मार्गबाट लोकतन्त्रलाई धराशायी बनाउँदै सत्ता कब्जा गर्ने उद्देश्यलाई विफल तुल्याउन कांग्रेस सचेतताका साथ सजग हुनु पर्दछ ।
  • नेकपाको सरकारले उत्पन्न गराएको जनताको निराशालाई कांग्रेसको प्रयासमा तत्काल आशामा परिणत गर्नु पर्दछ ।

जय नेपाल !
प्रस्तोता
नवीन्द्रराज जोशी
केन्द्रीय सदस्य, नेपाली कांग्रेस