जापान सरकारले भन्यो: अब विदेशीलाई प्रवेश निषेध छ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

जापान सरकारले भन्यो: अब विदेशीलाई प्रवेश निषेध छ



काठमाडौं– जापानले मङ्गलवारदेखि विदेशी नागरिकलाई प्रवेश गर्न नदिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित जोखिमका कारण जापानले भोलिदेखि लागू हुने गरी विदेशी नागरिकका लागि प्रवेश निषेध गरेको हो ।

सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्थासहित विश्वका कुनै पनि देशबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाइएको प्रधानमन्त्री फुमियो किशिदाले बताउनुभएको बीबीसीले जनाएको छ ।

जापानमा यसअघि पनि धेरैजसो नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो । नोभेम्बरको सुरुदेखि व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकालाई प्रवेशमा केही सहज बनाएकोमा फेरि कडाइ गरेको हो ।

यसैबीच अस्ट्रेलिया सरकारले आउँदो बुधवारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारे थप जानकारी लिनुपर्ने भन्दै अस्ट्रेलियाले दुई हप्ता सीमा नाका बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री स्कट मरिसनले केही दिनअघि आउँदो बुधवारदेखि विदेशी विद्यार्थीसहित दक्ष कामदारलाई अस्ट्रेलिया प्रवेश गर्न दिने निर्णय गर्नुभएको थियो । अब कम्तीमा डिसेम्बर १५ सम्म अन्तर्राष्ट्रिय विद्यार्थी तथा विदेशी नागरिक अस्ट्रेलिया जान पाउने छैनन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा देखापरेको ओमिक्रोन भेरियन्ट के, कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्नेबारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले यो भाइरस मानिसबाट मानिसमा कति सजिलै सर्छ र यसले मानिसको स्वास्थ्यमा के, कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

सुरुवाती विवरणमा बढी सङ्क्रामक रहेको पाइए पनि यसबारेमा थप विवरण आउन बाँकी रहेको विश्व स्वास्थ्य सङ्गलठनले बताएको बीबीसीले जनाएको छ ।