जसपामा झनै शक्तिशाली बन्दै उपेन्द्र यादव - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जसपामा झनै शक्तिशाली बन्दै उपेन्द्र यादव



काठमाडौं- जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न लागेको भन्दै सर्वोच्च अदालतमा महन्थ ठाकुर पक्षले दर्ता गराएको रिट निवेदनमा आइतबार कुनै आदेश भएन भने सोमबार बिहानसम्म उपेन्द्र यादव पक्षमा कार्यकारिणी समितिका सदस्यहरू थपिने भएका छन्। जसपामा उत्पन्न विवादका कारण कार्यकारिणी समितिका सदस्यहरू अध्यक्षद्वय यादव र ठाकुर पक्षमा विभिाजित भएका छन्।

अहिलेसम्म कार्यकारिणी समितिका ३२ जना यादवको पक्षमा र १९ जना ठाकुरको पक्षमा खुलेका छन्। ठाकुर पक्षका राजकिशोर यादवले आफू कुनै पक्षमा नलागेको प्रष्ट पारेका छन्। ठाकुर पक्षका एक कार्यकारिणी सदस्य रेशम चौधरी जेलमा छन्। हेड काउन्टमा उनी जाने अवस्था छैन। निर्वाचन आयोगले विवाद निरूपण गर्न सोमबार कार्यकारिणी समितिका सबै सदस्यलाई कार्यालयमा बोलाएको छ।

यादव पक्षका एक नेताले दिएको जानकारी अनुसार सोमबार बिहानसम्म ठाकुर पक्षका केही कार्यकारिणी सदस्यहरूले यादवको पक्षमा जाने बताएका छन्। ठाकुर पक्षका नेता मनिष सुमन यादव पक्षमा जाने करिब निश्चित भएको ती नेताले दाबी गरे। यस विषयमा सम्पर्क गर्न खोज्दा सुमन सम्पर्कमा आउन चाहेनन्।

आयोगले यादव पक्षलाई आधिकारिकता दियो र ठाकुर पक्षसँग नयाँ पार्टी खोल्न ४० प्रतिशत कार्यकारिणी सदस्य सख्या पुगेन भने ठाकुर पक्षबाट निर्वाचित भएका प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूको पद जोखिममा पर्नेछ। त्यसकारण आफ्नो पद सुरिक्षत राख्न ठाकुर पक्षका केही कार्यकारिणी सदस्यहरू यादव पक्षमा जाने आश्वासन दिएको स्रोतले बताए। खासगरी उनीहरूले आइतबार साँझसम्म पर्खने भएका छन्। आइतबार साँझसम्म अदालतले केही आदेश दिएन भने उनीहरू यादव पक्षमा जाने भएका छन्।

शनिबारसम्म ठाकुरको पक्षमा कार्यकारिणी समितिमा ४० प्रतिशत पुग्ने अवस्था छैन। ५१ प्रतिशत कार्यकारिणीमा ४० प्रतिशत पुग्नलाई कम्तीमा २० जना सदस्य चाहिन्छ। अहिलेसम्म ठाकुरको पक्षमा १९ जना मात्र छन्। आयोगले सोमबार जसपाका ५१ जना कार्यकारिणी सदस्यको हेड काउन्ट गर्ने भएपछि जसपाका कार्यकारिणी सदस्यहरू दुवै पक्षका तानातानमा परेका छन्, खासगरी दुवैतिर नखुलेका केही सदस्यहरू तानातानमा परेका हुन्।

महन्थ ठाकुर पक्ष भने सकेम्म आयोगमा जान चाहेको छैन। आयोगको उक्त निर्णयविरुद्ध ठाकुर पक्ष सब्र्बोच्चमा रिट दायर गरेको छ। सब्र्बोच्चले आइतबारसम्म केही राहत दिने ठाकुर पक्षका नेताहरू आशामा छन्। उपेन्द्र यादव पक्षका नेताहरू भने ठाकुर पक्षले सर्वोच्चमा रिट दायर गरेको विषययमा असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा दुवै पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको थियो। यादव पक्षले बोलाएको कार्यकारिणी समितिको बैठकले आयोगको निर्देशनअनुसार सोमबार आफू पक्षका सबै कार्यकारिणी सदस्यहरू आयोगमा पुग्ने निर्णय गरिएको रामसहाय यादवले बताए। उक्त बैठकमा ३० जना कार्यकारिणी सदस्य सशरीर उपस्थिति भएको र बाँकि दुईजना नवलकिशोर साह र लालबाबु राउत आइतबार बिहानसम्म काठमाडौं आउने आश्वासन दिएको मृगेन्द्रसिंह यादवले बताए।

ठाकुर पक्षले बोलाएको कार्यकारिणी समितिको बैठकमा बोल्ने केही कार्यकारिणी सदस्यहरूले सोमबार निर्वाचन आयोगमा जाने कि नजाने भने पार्टी अध्यक्ष महन्थ ठाकुरसँग जिज्ञासा राखेका थिए। ‘उहाँ (ठाकुर) भने सर्वोच्चले आफूहरूलाई राहत दिने विषयमै बढी आशावादी देखिनु भएको थियो,’ ठाकुर पक्षका बैठकमा सहभागी एक नेताले भने। उनका अनुसार निर्वाचन आयोगमा जाने कि नजाने भनी सोधिएको जिज्ञासामा ठाकुरले आइतबार साँझसम्म पर्खन उपयुक्त हुने बताएका थिए। आयोगले सोमबार बिहान ११ वजे बोलाएको छ।

ठाकुर पक्षले अदालतमा रिट दायर गरेको विषयमा यादव पक्ष असन्तुष्ट रहेको स्रोतको भनाइ छ। यादव पक्षका एक कार्यकारिणी सदस्यले भने, ‘निर्वाचन आयोगलको निर्णयलाई प्रभाव पार्ने गरी ठाकुर पक्ष अदालतमा गएको हो,’ उनले भने, ‘निर्वाचन आयोगले इजलास गठन गरिसकेपछि आयोगले गर्ने फैसला अदालतको फैसला सरह मान्य मानिन्छ।’ आयोगको फैसला प्रभाव पार्ने नहुने उनको भनाइ छ।

राजकिशोर दुवै पक्षको बैठकमा गए

ठाकुर पक्षका मानिएका राजकिशोर यादव दुवै पक्षको बैठकमा सहभागी भएका छन्। यद्यपि उनले दुवै पक्षको बैठकको माइन्युटिङमा हस्ताक्षर गर्न मानेनन्। आफैं दुवै पक्षको बैठकमा सहभागी भएको उनले स्वीकार गरे। ‘म पार्टी एकताको पक्षमा छु। फुटको पक्षमा छैन। यो कुरा सुनाउन दुबै पक्षको बैठकमा गएक हुँ यादवले भने, ‘पार्टी फुट्यो भने फुटेको पार्टीमा जान्न। जसपामै रहन्छु।’