जसले भोट दिएर जिताए, उनैले गरे रामधुलाई - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जसले भोट दिएर जिताए, उनैले गरे रामधुलाई



जुम्ला– जडीबुटी चोरी निकासी आरोपमा जुम्लाका स्थानीयले पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि कुटपिट गरेका छन् ।

उनीहरूले घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले बुधबार वडाध्यक्ष रावतमाथि कुटपिट गरेका हुन् । स्थानीयवासीले हातपात गर्दै कमिजसमेत च्यातिदिएको वडाध्यक्षले गुनासो गरेका छन् ।

स्थानीयवासीले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन मागसमेत गरेका छन् । सामुदायिक वनमा पाइने सेतोचिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीयवासीको आरोप छ । जनप्रतिनिधि नै अवैध कारोबारमा संलग्न भएको आरोपमा गाउँ नै वडाध्यक्षको विरुद्धमा छ । स्थानीय कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गरे । आक्रोसित वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा गरेका छन् ।

डिल्लीचौर प्रहरी चौकीका इञ्चार्ज प्रेमबहादुर थापाले लुमगाउँका स्थानीयवासीले आफूहरुमाथि ढुङ्गामुढा गरेको बताए । सुरक्षाका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढाका साथै हातपातसमेतको प्रयास भएको इञ्चार्ज थापाले बताए । वडाध्यक्षमाथिको हातपात घटनाका विषयमा मौखिक रूपमा जानकारी भएको प्रहरी निरीक्षक नवीन वलीले बताए । उनले भने, ‘जाहेरी आएपछि सोहीअनुसार कानूनी प्रक्रियाअनुसार काम हुने उनको भनाइ छ । गाउँमा विवाद भएको समयमा नआउने प्रहरी वडाध्यक्षले बोलाउँदा गाउँ आएपछि लखेटेको स्थानीयको भनाइ छ । वडाध्यक्ष रावतले अवैध जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताए । उनले स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेको गुनासो गरे । हातपात गरी दुव्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए ।

बागजाले सामुदायिक वनमा पाइने जडीबुटीको अवैध चोरी निकासी भएको सूचना स्थानीयवासीबाट आएकाले दुईपटक प्रहरी लिएर वनमा गएको उनको भनाइ छ । वडाध्यक्ष रावतले स्थानीयवासीले लगाएको आरोप न्यायिक निकायले दोषी ठहर्याए कानूनबमोजिम कारवाही भोग्न र वडाध्यक्षको पदबाट राजीनामा दिन तयार रहेको बताए । ज्यान असुरक्षामा रहेको बताउँदै वडाध्यक्ष रावतले गाउँ नै आफूमाथि खनिएकाले घर छोडेर विस्तापित हुनुपरेको बताए ।

जुम्लाका एक नगरपालिका सात गाउँपालिकामा २०० सामुदायिक वन छन् । सामुदायिक वन उपभोक्ता समितिले सुशासनभन्दा कुशासनलाई बढी प्रश्रय दिएका कारण बेला–बेलामा यस्ता प्रकारका घटना हुने गरेको सामुदायिक वन उपभोक्ता महासङ्घ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईंले बताए ।
रासस

सांकेतिक चित्र