जुट्यो प्रचण्ड-ओलीको सहमति: फेरिने मन्त्रीहरूको नामावली तयार - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

जुट्यो प्रचण्ड-ओलीको सहमति: फेरिने मन्त्रीहरूको नामावली तयार



काठमाडौं- सरकार बनेकै केहि महिनापछि सुरु भएको मन्त्रिमण्लड पुनर्गठनको मुद्धा अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको विषय टुंग्याउने गरि तयारी तिब्र पारेका छन्।

सुरुवातमा भयङ्कर देखिएका कतिपय अनुहारले काम गर्न नसकेपछि सरकारकै चर्को आलोचना हुन थालेको थियो । उक्त आलोचनापछि ओलीले पुनर्गठन गर्नेगरी पार्टीका शिर्ष नेताहरूसँग परामर्श थालेका थिए । बालुवाटामा प्रधानमन्त्रीले मन्त्रीहरूको नाम तयार पारिसकेपछि ति नामहरूमा कतिपय नेताहरूको असन्तुष्टि रहेकोले केहि थपघट गर्नुपर्ने भएकोले प्रक्रिया लम्बिएजस्तो देखिएको बालुवाटार स्रोतले जनाएको छ ।

‘केही मन्त्रीलाई हटाएर तिनका ठाउँमा नयाँ चयन गर्ने र अन्य केहीको जिम्मेवारी फेरबदल गर्दै मन्त्रिमन्डलको पुनर्गठन गर्ने काम अन्तिम चरणमा छ तर पार्टी एकताको मर्म र सहमतिअनुसार अगाडी बढ्नुपर्ने भएकोले लम्बिएको हो ।अब यो प्रक्रिया पनि सकिएको छ सायद मंगलबार नै घोषणा हुन्छ’ पूर्वमाओवादीका एक नेताले हिमालपोस्टलाई बताए ।

उनका अनुसार सोमबार बसेको प्रचण्ड र ओलीको बैठकले सबै बिषयमा टुङ्गो लगाइसकेको छ । अब केहि टेक्निकल कुराहरूले रोकिरहेको छ ।

प्रचण्डले केहि मन्त्रीको नाममा असन्तुष्टि जनाएको भन्ने कुरा के हो ?
भन्ने हाम्रो प्रश्नमा ती नेताले भने, ‘त्यस्तो कुनै कुरा बाँकी छैन, प्रचण्डजीसंगको सबै विषय अघिल्लै बैठकमा टुंगिएको छ । परिवर्तन गर्ने मन्त्रीको नाम फाइनल भैसक्यो मात्रै मन्त्रालय परिवर्तन गर्नुपर्ने मन्त्रीहरूको नाममा केहि टेक्निकल कुराले रोकेको छ त्यो पनि भोलिसम्म हाल हुन्छ ।’

टेक्निकल कुरा चैं के रहेछ ?
भन्ने प्रश्नमा उनले भने, ‘कतिपय मन्त्रीहरू काम गर्न सक्ने भएको तर आफ्नो दखल भएको मन्त्रालय नपाएकोले काम हुन सकेन अहिलेको परिवर्तनमा यसैलाई सम्बोधन गर्न लागिएको हो ।’

उनका अनुसार मंगलबार बिहान यस विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बसेर अन्तिम नामावली सार्वजनिक गर्ने तयारी छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन गर्ने सैद्धान्तिक सहमति दिएपछि त्यसयता शीर्ष नेताहरुबीच यसबारे थप सघन वार्ता र समझदारी भएको स्रोतले जनाएका छन्।

कृषि विकास तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल, उद्योगमन्त्री मातृका यादव, भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठ, महिला बालबालिका खेलकुद मन्त्री जगत विश्वकर्मा तथा समाज कल्याण मन्त्री थममाया थापाप्रति प्रधानमन्त्री असन्तुष्ट रहेकोले उनीहरु हटाइने सूचीमा रहेको स्रोतहरुको दाबी छ।

अर्थमन्त्री डा युवराज खतिवडालाई पनि हटाउने सूचीमा राखिएको स्रोतले बताएको छ ।

केहि कार्यसम्पादन राम्रो भएका मन्त्रीलाई भने मन्त्रालय परिवर्तन गर्ने तयारी छ । यो समुहमा भने उनीहरूलाई आफ्नो दखल भएको मन्त्रालय दिने तयारी छ । यो समुहमा गोकर्ण विष्ट, लालबाबु पण्डित, बीना मगर र पद्मा कुमारी अर्याल लगायतलाई परिवर्तन गर्ने तयारी भएको बताइएको छ । यो समुहको केहि टेक्निकल कुरा बाँकी रहेको बताइएको छ ।

घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, महेश बस्नेत, यज्ञराज सुनवार प्रस्तावित मन्त्रीहरुको सूचीमा छन्।

नेकपाका एक नेताका अनुसार पछिल्लो समय मन्त्रीमण्डल परिवर्तन गर्ने चर्चा मिडियामा भएपछि प्रधानमन्त्री ओली र प्रचण्डलाई झन् समस्या परेको बताए । उनले भने, ‘मिडियामा ठुलो चर्चा भयो दुई अध्यक्षलाई नेताहरूले आफू मन्त्री बन्न घेर्न थाले ।’ यसैले पनि थप समस्या निम्त्याएको र प्रक्रिया लम्बिएको उनले भटाए ।

प्रधानमन्त्री ओली मन्त्रिमन्डल पुनर्गठन र पार्टी जिम्मेवारीसम्बन्धी सबै विषयहरु टुंगो लगाएर जतिसक्दो छिटो स्वास्थ्य उपचार गर्न जाने तयारीमा छन्।