कबिता :आफै भित्र प्रकटित भई लेख्न देऊ मलाई « Himal Post | Online News Revolution
Logo

कबिता :आफै भित्र प्रकटित भई लेख्न देऊ मलाई



कापी खोलीकन तलतिरै घोप्टिँदा घोप्टिँदा मँ।

सिर्जूँ केही नव अब भनी घोत्लिँदा घोत्लिँदा मँ।

छोऊँ लाग्छ क्षितिज अपुरो तिर्सनाले मलाई।

डाके जस्तै घरिघरि हुँदा सिर्जनाले मलाई!

 

भन्दा भन्दै समय बितिगो भेटुँला भेटुँला मँ।

छोपी यौटा कलम दिलको लेखुँला लेखुँला मँ।

मेरो थुम्की अगम दिलको चढ्न देऊ मलाई।

यौटा मीठो सरस कविता लेख्न देऊ मलाई।

 

भेट्नै बाँकी छुसरि छिनकै भेटिँदा भेटिँदा मै।

लेख्नै बाँकी छुसरि दिनकै लेखिँदा लेखिँदा मै।

स्वप्ना मेरा कवि कलमका आँकुरामा पलाई।

वैली जान्छन् त्वरित गतिमा फूलमा हर्हराई।

 

आफै पूर्ण स्थिर छ,विचरा शव्द छैनन् अनाथ।

बस्छन् मेरा कवि र कविता एक भै साथ साथ।

छुन्नन् कोही जड मगज-अश्पृश्य संबन्धलाई।

आऊ छोऊ कवि हृदयको सच्चिदानन्दलाई।

 

साँचो ल्याए पनि हृदयको सूक्ष्मता छोइँदैन।

मेरो भित्री अधर मगजे यन्त्रले फोइँदैन।

आऊ देऊ अब त म हुँ को चित्र यौटा खिचेर।

मैले लेख्छु प्रथम पलको बिम्बलाई टिपेर।

 

धड्के जस्तै धडकन भई भेट पैलो मयाँझैँ।

मैले देख्छु प्रहर दिलका झन् नयाँ झन् नयाँझैँ।

देख्दा पैलोपटक पनि होस् छैन केही बिरानु।

उस्तै नौलोसरि छ जगतै छैन केही पुरानु।

 

कैले हुन्छु द्रवित म स्वयंमा स्वयं खोसिएर।

छल्की छल्की सहृदय स्वयंमा स्वयं पोखिएर।

मेरै सिल्पीसित हिमचुली टेक्न देऊ मलाई।

आफै भित्र प्रकटित भई लेख्न देऊ मलाई।

 

(लेखक छान्दबादी समाज नेपालका अध्यक्ष हुन् )