“अब म कविता लेख्दिन” « Himal Post | Online News Revolution
Logo

“अब म कविता लेख्दिन”



आमालाई कविता बाट भनें,
बा का खुट्टा माडेको मात्र देखें आमा,
तिमी थला पर्दा
बा ले तातो पानी सोधेको देखिन !
तिमी त सहयात्री हौ नि,
तिम्रो त सह-अस्तित्व छ नि !
स्वीकारोक्तिमा आमाले आंशु खसालिन ।
आमाको आंशुले कविता अमृत बन्यो !
केहि दिन पछि देखें,
मदिराले ‘मर्द’ बनेर
उनीमाथि बजारिएका ‘पाऊ’
आमाले ‘सौभाग्य’ भन्दै मोलिरहेकी !
-मेरो कविता मुर्छा पर्यो !

बा लाई कवितामा पुकारें,
‘आस्था’ र ‘ईश्वर’ दुबै समय हो बा !
म जन्मिंदा आमा तिम्रो ईश्वर;
म हुर्किंदा तिमी आमाको ईश्वर !
आज लेख्ने भएँ, तिमी दुई मेरा ईश्वर !
बा खुसी भएर मुसुक्क हाँसे ।
बा को हाँसोले कविताले जीवन पायो !
एक दिन देखें,
भगवान नबस्ने मूर्तिमा बा घोप्टिएका
सित्तैमा गोजी भरिने झंडामा बा लपेटिएका !
-मेरो कविता थला पर्यो !

दिदीलाई लेखें,
तिम्रो सृष्टि रसमा
दुबै ‘एक्स’ नामका ‘क्रोमोजोम’ हुन्छन !
भएको ‘वाई’ रोपेर ‘ब्वाई’ उमार्न नसक्ने भिनाजु
रातदिन किन क्रुद्ध बन्छन ?
दिदीले विज्ञान हेरिन,
भिनाजुको ज्ञान नापिन
अनि मेरो कवितालाई धाप मारिन ।
दिदीको धापले कविता विज्ञान बन्यो ।
एक दिन देखें,
दिदी मंगलचौंथीको व्रत बसेकी !
सुनें,अघिल्लो मास नै हो रे भान्जी मासेकी !
-मेरो कविता रगताम्मे भयो !

भाईलाई सुझाएँ,
धन र बैंश अडिंदैनन,
ईमान र इज्यत फर्किंदैनन !
नचोर्नु,नढांट्नु
मात्ने त मध्यरातका पिशाचहरु हुन
‘जिउँदो’ हुन्जेल नमात्नू !
भाईले शब्द शब्दमा गर्व गर्यो,
अभिभावक बनेको खुसीमा
कविता मक्ख पर्यो !
एक दिन देखें,
मान्छेले घेरा हालेका
भाई घोप्टे मुन्टो लाएको,
मेरो कविताका एक एक शब्द
सब बेचेर खाएको !
-मेरो कविता चकनाचूर भै फूट्यो ।

प्रेयसीलाई सम्झाएँ,
सुनमा धनी त अफ्रिका हो !
त्याहाँ अधिकांश मान्छे काला छन !
गरीब त्यहिं छन,भोकमरी त्यहिं छ ।
गोरो छाला र पहेंलो धातूमा
सुन्दरता नखोज !
प्रेयसीले कविताले शृंगार गरिन
प्रत्येक हरफ सुन्दर बनाइदिइन !
एकदिन देखें,
चलनको ऐनामा भाग्य कोपरिरहेकी !
प्रत्येक अक्षरलाई दोष थोपरिरहेकी !
-मेरो कविता आत्महत्या गर्न तम्सियो !

साथीलाई सुझाएँ,
इतिहास र भुगोल त कायरले रट्छन
पौरखीले त पसीनाले बाटो कोर्छन,
नबनम कसैको सिंढी,नबनम कसैको गोटी
आमालाई हँसाउने हो एक चोटी ।
साथी हरु खिल्खिलाए,कविता झिल्मिलायो ।
एक दिन देखें,
डि भी र पासपोर्टका लाइनहरुमा
नेता र हुनेखानेका ‘पाइन’हरुमा
लामबद्ध भई मेरा साथीहरु
मेरो कविताको मलामी हिंडेका !
-कविता लाश बन्यो !

सरकारलाई सुनाएँ,
तँ जहाँ नेर नांगो छस,
त्याहाँ मेरा शब्दका दृष्टि पुग्छन
कुनै दिन ‘इजार’ फुस्काइदिउँला सरकार !
हेक्का राखेस !
सरकार थर्कमान भई भन्यो,
‘हजूर त शब्द-कुवेर,
शब्दले लाज छोपिदिनु पर्यो’ !
कहिं नभाको महान मेरो कविता !
‘माफी’ ‘मौका’ र ‘आशा’ -तीन शब्दले
सरकारको ‘गुप्तांग’ छोपिदियो ।
एक दिन देखें,
नेताज्यू हरु लहरै उभिएका,
अगाडी मेरो कविता टाँसेर
सामूहिक मूत्रदान गरिरहेका !
-कविता भिज्यो,गल्यो,च्यातियो,बग्यो !

मेरो कविता सर्कसको ‘जोकर’ बन्यो
मेरो कविता मदारीको ‘जंबुरे’ बन्यो
खै ! ठाउँ नै गलत पर्यो
वा, कविता नै गलत लेखियो,
मेरो कविता ‘क्रान्ति’ बनेन
मेरो कविता ‘विद्रोह’ बनेन
प्रत्येक चोटी मेरो कविताको ‘ज्वाला’
सरकार र समाजको ‘पिसाब’ले निभिरह्यो !
..अब म कविता लेख्दिन !!!

-हेमन्त गिरी,टोकियो
(२०१७/०८/२६)