काबुलबाट ३ सय नेपाली अमेरिकाले फर्काउने - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

काबुलबाट ३ सय नेपाली अमेरिकाले फर्काउने



काठमाडौँ- अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले झन्डै तीन सय जना नेपालीले सुरक्षा दिइरहेका छन् ।

होम कार्की, जगदीश्वर पाण्डेले कान्तिपुरमा लेखेको समाचार अनुसार अमेरिकी दूतावासमा कार्यरत एक नेपालीले काबुलबाट टेलिफोनमा उनीहरूलाई अमेरिकाले विमानमा कुनै पनि बेला नेपाल पठाउन सक्ने जानकारी दिएका छन् । ‘यहाँको पछिल्लो अवस्था बिग्रिएको छ, धेरै अमेरिकी सेना फिर्ता भइसकेका छन्, हामीलाई फर्कन तयार भएर बस्न भनिएको छ, फिर्ता हुने दिन भने तोकिएको छैन,’ दूतावासमा कार्यरत एक नेपाली सुरक्षा गार्डले भने ।

अमेरिकाले दुई दशकपछि सुरक्षाकर्मी फिर्ता लगेपछि अफगानिस्तान विद्रोही समूह तालिवानको घेरामा छ । त्यही विषयलाई मध्यनजर गरेर आफूहरूलाई अमेरिकी दूतावासले फिर्ता पठाउन लागेको ती नेपाली सुरक्षाकर्मीले बताए । यसअघि नै अमेरिकी सेनाका लागि काम गर्ने फ्लोर कम्पनीले आफूसँग भएका ‘सिभिलियन’ कामदारहरूलाई फर्काइसकेको छ । जसमा झन्डै १ सय ५० जना नेपाली थिए । उनीहरूलाई कम्पनीले दुबई लगेर राखेको छ । ‘हामी काबुलबाट दुबई आएर होटलमा बसेको एक साता भयो,’ १० वर्षदेखि फ्लोर कम्पनीको व्यवस्थापनमा काम गरेका एक नेपालीले भने, ‘टिकट पाउने साथीहरू नेपाल पुगिसकेका छन् । टिकट नपाउनेहरू होटलमै बसिरहेका छौं ।’

फ्लोर कम्पनीले जुलाई अन्तिमदेखि नै कार्यालय सहयोगी, प्रशासनिक कर्मचारी, ड्राइभरजस्ता क्षेत्रमा कार्यरत नेपालीलाई काबुलबाट बाहिर निकालिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अफगानिस्तानमा नेपालीहरू अमेरिकी दूतावास, युरोपेली संघ, राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, बरोन होटल र ग्रिन भिलेजमा कार्यरत छन् ।

उनीहरूलाई त्यहाँ पुर्‍याउने कम्पनीहरू एईजीआईएस एलएलसी, पेज प्रोटेक्सन सर्भिस, इन्टरनेसन डिपार्टमेन्ट अफ गोर्खा, सेवर इन्टरनेसनल, हार्ट, जिफोरएस र सिल्ड सेक्युरिटीलगायत हुन् । यी कम्पनीहरूले भने नेपाली सुरक्षा गार्डलाई उच्च सतर्कतामा राखिएको जनाएका छन् ।

‘विमानस्थल र दूतावासहरूको सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्ड काबुलमै छन्,’ ती नेपालीले भने, ‘उनीहरूमाथि सुरक्षा खतरा परेमा सम्बन्धित दूतावासले नै तत्काल उद्धार गर्ने सूचना दिइएको छ । त्यसकारण उनीहरू ढुक्क भएर बसिरहेका छन् ।’ विमानस्थल र दूतावासका कूटनीतिज्ञ तथा कर्मचारीको सुरक्षामा खटिएका नेपालीको जिम्मेवारी रोजगारदाता कम्पनीले लिने नेपाली सुरक्षा गार्डहरूले बताए । ‘हामीलाई यहाँ जुन कम्पनीले खटाएको छ, त्यही कम्पनी र दूतावासले जिम्मेवारी लिनुपर्छ, अहिलेसम्म हामी आत्तिएका छैनौं । कम्पनीहरूले आपत्कालीन अवस्था आइपरेमा तुरुन्तै काबुल छोड्नुपर्ने भनेर सतर्क गराएका छन्,’ जिफोरएस कम्पनीमा एक दशकदेखि कार्यरत नेपाली सुरक्षा गार्डले टेलिफोनमा भने, ‘हेर्दै जाऊँ कस्तो वातावरण बन्नेछ ।’

अमेरिकी र नेटो सैनिकले अफगानिस्तान छाडेपछि तालिवानले सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण गर्दै विभिन्न सहर र क्षेत्रहरू कब्जा गर्न थालेपछि त्यहाँ हिंसा बढेको छ । श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार अहिले अफगानिस्तानमा १४ हजार ५ सय ६५ कार्यरत छन् । २०७८ वैशाखदेखि साउन २९ सम्म ३ सय ३० जना श्रम स्वीकृति लिएर अफगानिस्तान गएका छन् ।

अफगानिस्तानमा अधिकांश नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत रहेको र उनीहरू शुक्रबार बेलुकीसम्म ‘ग्रिन जोन’ मा रहेको मन्त्रालयले जनाएको छ । श्रम स्वीकृति नै नलिएर अन्य माध्यमबाट पनि नेपालीहरू गैरकानुनी रूपमा अफगानिस्तान गएका छन् तर त्यस विषयमा सरकारसँग तथ्यांक छैन । गैरकानुनी रूपमा अफगानिस्तानमा रहेका नेपालीको संख्या र अवस्थाबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म कुनै जानकारी दिएको छैन । नयाँदिल्लीस्थित नेपाली दूतावासले शुक्रबार अफगानिस्तानमा कामदार पठाउने कम्पनीहरूसँग त्यहाँ कति कामदार छन् र कसरी काम गरिरहेका छन् भन्ने विषयमा भुर्चअल्ली छलफल गरेको थियो ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अफगानिस्तान हेर्ने जिम्मा पाएको नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीसँग सम्पर्कमा गरेको जानकारी दिइन् ।

‘नेपालीलाई सरकारले तुरुन्तै उद्धार गर्नु उपयुक्त’

अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई फर्काउने तयारी गरे पनि अन्य विदेशी दूतावास र संयुक्त राष्ट्रसंघको कार्यालयमा कार्यरतलाई नेपाल फर्काउने विषयमा शनिबार बेलुकीसम्म कुनै समाचार बाहिर आएको छैन ।

अफगानिस्तानमा रहेका नेपालीलाई सरकारले तुरुन्तै उद्धार गर्नुपर्ने परराष्ट्र विज्ञ दिनेश भट्टराईले सुझाव दिए । उनले नेपालीलाई त्यहाँ लाने कम्पनी र उनीहरू काम गरिरहेको संस्थासँग कुराकानी गरेर फिर्ता ल्याउने पहल गर्नुपर्ने बताए । ‘छिटो गर्नुपर्‍यो, नत्र ढिलो हुन सक्छ किनकि त्यहाँ द्वन्द्व बढिरहेकै छ,’ उनले भने ।

अर्का परराष्ट्र मामिलाविज्ञ राजन भट्टराईले सरकारले यसअघि कोभिड–१९ संक्रमणका बेला चीनको बुहान र सन् २०१६ मा अफगानिस्तानमा बम विस्फोट हुँदा नेपाल सरकारले आफ्ना नागरिकलाई फर्काएको उल्लेख गर्दै अहिले पनि नेपालीलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने बताए । ‘अहिलेको अवस्थामा सरकारको ध्यान आन्तरिक राजनीतिमा भन्दा नेपालीको ज्यान जोगाउनका लागि हुनु आवश्यक छ,’ उनको सुझाव छ ।