कहाँ गयो प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको १ अर्ब ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कहाँ गयो प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको १ अर्ब ?



२ भदौ, काठमाडौं ।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले बाढी प्रभावितका लागि वितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ । कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलो किस्तामा ५० करोड र दोस्रो किस्तामा ५० करोड गरी एक अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो । तर, सो रकम बिहीबारसम्म गृह मन्त्रालयमा पुगेको छैन ।

गृहले मन्त्रालयकै केन्द्रीय दैवीप्रकोप उद्धार कोषमा रहेको रकम नै बाढी प्रभावित क्षेत्रमा पठाइएको जानकारी दिएको छ । गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको रकम आउन ढिलाइ भए पनि रकम अभाव नभएको बताए । उनका अनुसार हालसम्म बाढी प्रभावित १८ जिल्ला र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा गरी सात करोड १० लाख रुपैयाँ पठाइएको छ । दैवीप्रकोप उद्धार कोषमार्फत सो रकम जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने गरिएको छ ।

बाढीपहिरोलगत्तै विभिन्न दाताबाट प्रधानमन्त्री उद्धार कोषमा रकम जम्मा हुन थालेको छ । प्रधानमन्त्री कार्यालयका सहायक प्रवक्ता चिरञ्जीवी पौडेलले रकम जम्मा हुन थाले पनि त्यसको विवरण बिहीबारदेखि मात्रै लिइएको बताए । दातृ निकायलाई कोषको नाममा विभिन्न १८ वटा बैंकमा रहेको खाता नम्बर दिइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।