काला अक्षर ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

काला अक्षर !



बा,

अचेल म काला अक्षर संग खेल्दैछु
देखिराख्नु भा होला
म कति बचन झेल्दैछु,
रातो फूल मन पर्ने तपाइँको सन्तान
आज अंगार जस्ता शब्द लेख्छ
सोंच्नु हुन्छ होला,मैले सलामत देख्ने संसार
यसले बांगो किन देख्छ ?

मुखियाका सन्तानले तपाइँलाई
तँ भनेको मलाई कैलै मन परेन,
काजीका खलकले तपाइँलाई
आँखा तरेको मलाई कैलै मन परेन,
जे लाई तपाइँले चलन भनिरहनु भयो
तेल्लाई मैले दमन भनि रहें,
जे लाई तपाइँले सद्भाव भनिरहनु भयो
त्यसलाई मैले दबाव मानी रहें,

तर के गरूँ बा,
शरीरले म बलियो छैन
लाठी मुंग्री गर्न सक्दिन ।
म सामन्तको मुहारमा
मुक्का बजार्न सक्दिन
म आततायी लाई उचालेर
बेस्सरी पछार्न सक्दिन
तपाइँको युगौं देखिको सहनशीलताले
मलाई पनि त लूलो बनाएको छ
तपाइँको सोझो स्वीकारोक्तिले
उनीहरुको दलनलाई त ठूलो बनाएको छ ।

लड़न नसके पनि बा,
म सहन पनि त सक्दिन
अनि लेख्छु काला अक्षर
अनि कोर्छु विद्रोहका आलेख ।

चुपचाप तपाइँ झैं बसे पनि बा,
एउटा जीवन जसो तसो चल्थ्यो होला
सधैको जी हजूरी पालन गरे पनि बा,
चूलोमा आगो त बल्थ्यो होला !
भो चाहिएन त्यो सजिलो बाटो
जसले निल्न पनि मुस्किल गराओस-
स्वभिमानको आटो,
जसले निरिह र शिथिल बनाओस-
बा को पसीनाले भिजेको माटो ।

तागत छैन ज्यानमा त के भो बा
आवाज त छ नि !
बन्दूक़ छैन साथमा त के भो बा
अक्षर त छ नि !

वारी तपाइँले कूटो चलाऊँदा
पारी बसेर हाँस्छन प्लट्टिंग गर्नेहरु!
बारीमा तपाइँले पसीना चुहाउँदा
टारिमा बसेर गिज्याउँछन पसीनाको ब्यापार गर्नेहरु !
चिच्याउँछन ठूलो स्वरले संजालमा
फ़िटिक्कै श्रम नगर्नेहरु !
कराउँछन महान वाणीमा समाजमा
एउटा माखो नमार्नेहरु!
दुई हात जोड़दै आऊँछन चुनावमा
तपाइँका हात काट्नेहरु!
घोक्रो सुकुन्जेल चिच्याउँछन टूँडिखेलमा
स्वार्थमा स्वभिमान साट्नेहरु !

अतिरंजना फैलाएका छन
झन पछि झन आडंबर मौलाएका छन
विश्वले चन्द्रमामा बस्ती खोज़्दै गर्दा
उनीहरु, तेरा खलकले
चन्द्र सूर्य पुजेन भन्दै बौलाएका छन!

समुद्र नतरी थाहा हूँदो रहेनछ बा,
विश्वले किन प्रगति गर्यो भनेर
आफ्नो ऐना नहेरी थाहा हूँदो रहेनछ बा,
हाम्रो स्वभिमान किन झन तल झर्यो भनेर ।
स्वभिमान शब्दजाल मात्र रहेछ बा,
वास्तविक स्वभिमान त पौरख रहेछ
पौरख नै नगर्नेको बोलीमा,अतिरंजनामा
बन्धक रहेछ हाम्रो स्वभिमान ।
दुई ठूला छिमेकीले च्याँपेको
देश रहेनछ मेरो,
भ्रम फैलाइए झैं सार्वभौमिकताको
बिदेशीले लुटेको देश रहेनछ मेरो ।
मेरो देश त मेरै देशका
क़ाज़ीका,मुखियाका,जर्साबका,
माडसाबका,ख़ानदानी खलकका फ़ोस्रा
आडंबर र अहंकारले च्याँपेको देश रहेछ
तपाइँ सधैको हली र उनीहरु सधैको बाहुबली
यही सोंचले र चलनले
च्याँपेको देश रहेछ ।
पसीना एकको, रज़ाई अर्कैको
यही दलनले लुटेको देश रहेछ मेरो ।
मीडिया तिनको मुट्ठीमा
प्रशासन तिनको मुट्ठीमा
सुरक्षा तिनको गोजीमा
स्वभिमान तिनको लगौंटीमा
हो,तिनकै क़ब्ज़ामा
निसास्सिएको देश रहेछ मेरो ।
दुई ढुङगाको तरुल,
फगत तपाइँ सोझालाई
अल्मलाउन र आफूले तरुल खान
बनाएको उक्ति रैछ बा!
देश जलाएर खरानीको ब्यापार गर्नेले
चलाएको देश रहेछ मेरो ।

यो देश कैयौं वर्ष सम्म
अझै यिनीहरुकै क़ैदमा रहनेछ बा,
यो देशमा कैयौं वर्ष सम्म
यिनीहरुकै लूट चल्ने छ बा,
जब सम्म हरेक सन्तानले
काला अक्षर लेख्ने छैनन,
जब सम्म हरेक सन्तानले
अंगार भित्र क़ैद सपना बाहिर झिक्ने छैनन
आशीर्वाद हरेक बिद्रोहि कलमलाई दिनुस बा,
जब सम्म आफैले लुटेको देश
अनि आफैले गिराएको स्वभिमानको भ्रम
प्रत्येक खेतालाका सन्तानले चिर्ने छैनन ! !
आशीर्वाद दिनोस बा !

-हेमन्त गिरी,टोकियो