कलङ्कीमा ढल बग्न थालेपछि .... - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कलङ्कीमा ढल बग्न थालेपछि ….



सीता शर्मा  

काठमाडौँ, पुस १८ गते ।  कलङ्कीको जाम र धुलोधुवाँले वाक्क भएका सवारी साधन चालक र  यात्रुहरू सडकमा ढल बग्न थालेपछि अर्को समस्या खेप्न बाध्य भएका छन् ।  त्यस क्षेत्र हुँदै हिँड्ने पैदल यात्रु र वरपर व्यापार व्यवसाय गर्नेहरू त झन् नाक, मुख थुनेर हिँड्न र बस्न बाध्य छन् ।

कलङ्की चोकबाट स्वयम्भू जाने सडकको बायाँतिरका अग्ला घरबाट ढल रसाएर सडकभरि भएको एक महिना भइसक्दासमेत सम्बन्धित निकायको ध्यान गएको छैन ।   कलङ्की–रत्नपार्कका टेम्पो चालक रामहरि भण्डारीले ढलको दुर्गन्धले कलङ्की क्षेत्रमा ओहोरदोहोर गर्नै समस्या भएको गुनासो गर्नुभयो ।

“टेम्पो पार्किङ गर्ने ठाउँमा ढल फुटेर पोखरी भएपछि टेम्पो पार्किङका लागि समस्या त भएको छ नै, त्योभन्दा ठूलो समस्या यात्रु ओराल्न र चढाउन भएको छ”, उहाँ भन्नुहुन्छ, “त्यसै त कलङ्कीमा सडक निर्माणको कामले ट्राफिक जाम र धुलोले सताएको छ, यसैमाथि ढल फुटेर सडकमा टेम्पो गुडाउनु पनि समस्या भएको छ । ”

कलङ्की चोकमा फुटपाथमा जुत्ता सिलाउने व्यवसाय गर्दै आउनुभएका डिल्लीबहादुर सार्कीले गाडी र मोटरसाइकल जथाभावी गुडाउँदा ढलको पानीले छ्यापेर हैरानै बनाएको गुनासो गर्नुभयो ।  ढलको दुर्गन्ध र ढलको पानीले छ्याप्ने डरले ग्राहक पनि आउन मन नगर्ने गरेको अनुभव उहाँको छ ।

कपडा व्यापारी दीपक गौतमले चक्रपथ निर्माणका क्रममा विगतदेखि धुलोले अस्तव्यस्त कलङ्की चोकमा अहिले ढलले गर्दा पसल खोल्नसमेत समस्या भएको अनुभव सुनाउनुभयो ।

सडकमै सिट्ठी फुकेर र हात हल्लाएर ड्युटी पूरा गर्नुपर्ने बाध्यताका ट्राफिक प्रहरी जवान जुद्धबहादुर थापाले प्रश्न गर्दै भन्नुभयो, “यो दुर्गन्धमा दिनभरि बस्दा कम्ती गाह्रो छैन, हामीलाई त ‘ड्युटी’ गर्नुपर्ने हुँदा के धुलोधुवाँ के ढल, जस्तो वातावरण भए पनि बस्नै प¥यो । ’’  यता महानगरमा देखिएका हरेक समस्याको समाधान गर्ने जिम्मा पाएको काठमाडौँ महानगरपालिकालाई ढल फुटेर महिनौँ हुँदासमेत अत्तोपत्तो छैन ।  महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले त्यसबारेमा अहिलेसम्म कुनै जानकारी नभएको भन्दै त्यसको मर्मतका लागि तुरुन्त महानगरअन्तर्गतको वातावरण विभागलाई निर्देशन दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘खानेपानी र ढलको व्यवस्थापन गर्ने भनेर खानेपानी तथा ढल निकास बोर्ड पैसा लिन्छ, ढल फुटेको पनि उसैले मर्मत गर्नुपर्ने हो तर ढल फुटेर महानगरको वातावरणलाई असर पार्ने भएकाले त्यो समाधान हामी गर्छौं । ’’
जामका कारण ओहोरदोहोर गर्र्नै समस्या

यस्तै चक्रपथ विस्तार र कलङ्कीमा सबवे निर्माण भइरहेकाले हरेक दिन यो सडकखण्डमा लामो जाम हुने गरेको छ ।  कलङ्कीको जामका कारण चक्रपथ ओहोरदोहोर गर्ने गाडी र यात्रुलाई मात्रै नभएर थापाथली, त्रिपुरेश्वर कालीमाटी क्षेत्रमा पनि समस्या हुने गरेको छ ।
मुख्य सडकमा लामो जाम हुन थालेपछि धेरैजसो साना गाडीवालाले भित्री बाटो प्रयोग गर्ने गरेका छन् ।  यसले भित्री बाटोमा समेत जाम हुने गरेको छ ।  साघुँरो बाटोमा गाडी बिग्रेमा जाम झनै बढ्ने गरेको कलङ्कीमा खटिएका ट्राफिक प्रहरीले जनाएको छ ।  कलङ्कीको जामका कारण थानकोट–नागढुङ्गा ओहोरदोहोर गर्ने यात्रुसमेत लामो जाममा बस्नुपर्ने अवस्था छ ।