नेपाली संविधान दिवस दिल्लीमा कालो दिवस - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नेपाली संविधान दिवस दिल्लीमा कालो दिवस



नयाँ दिल्ली- संविधान जारी भएको दिनको सम्झनामा जहाँ एकातर्फ शुक्रवार देश लगायत विदेशस्थित कूटनीतिक नियोगमा खुशीयाली मनाईदैछ भने अर्को तर्फ मधेशवादी दलहरुले कालो दिनको रुपमा यसलाई स्मरण गरे ।

भारतको राजधानी दिल्लीमा राष्ट्रीय जनता पार्टीको विद्यार्थी संगठन राष्ट्रीय विद्यार्थी संघ (भारत) ले कालो दिन मनाएको हो । दिल्लीको प्रदर्शनस्थल जन्तर-मन्तरमा राष्ट्रीय विद्यार्थी संघ भारतको अगुवाइमा भएको विरोध प्रदर्शनमा मधेशबाट सम्बन्ध राख्ने विद्यार्थीहरु, प्रवासी नेपाली लगायतको उपस्थिति रहेको थियो ।

समारोहमा बोल्दै वक्ताहरुले देशभरि संविधान दिवसको खुशीयाली मनाईए पनि संविधानमा आफुहरुलाई अधिकार नदिएकाले त्यसको विरोधमा कालो दिन मनाएको बताएका छन । संविधान जारी भइसकेको अवस्थामा संविधानलाई संशोधन गरि यसलाई मधेसी अनुकुल बनाउनुपर्ने उनिहरुको भनाई थियो ।

उनिहरुले यो संविधानले पहाड र मधेसलाई दुई भागमा बाडेको भन्दै संविधानलाई मधेस अनुकुल बनाउन संशोधन गर्नैपर्ने र त्यसो नहुञ्जेलसम्म आफुहरुले यो संविधानको विरोध गरिरहने बताएका छन ।

उनिहरुले संविधान जारी भएदेखिनै आफुहरुले यसको विरोध गर्दै आएको भन्दै सरकारले संशोधनमा चासो नदेखाउनु ठूलो बिडम्बना भएको बताएका छन । गौतम ठाकुरको संयोजनमा भएको विरोध कार्यक्रममा राष्ट्रीय विद्यार्थी संघ भारतका अध्यक्ष रत्नेश झा, उपाध्यक्ष धिरज कुश्वाहा, प्रफुल्ल सिंह, अरुण उदय गुप्ता लगायतले बोलेका थिए ।