सिद्धार्थनगर नगरपालिकाका इन्जिनियर श्रेष्ठलाई कालोमोसो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सिद्धार्थनगर नगरपालिकाका इन्जिनियर श्रेष्ठलाई कालोमोसो



बुटवल,३ असोज । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले सिद्धार्थनगर नगरपालिका कार्यालयका वरिष्ठ इन्जिनियर एवं एकीकृत विकास परियोजना अन्तर्गत परियोजन कार्यान्वयन इकाईका आयोजना प्रमुख शैलेन्द्र प्रसाद श्रेष्ठलाई कालोमोसो दलेका छन ।

एसीयाली विकास बैंक (एडिबी) को श्रण लगानीमा सिद्धार्थनगर नगरपालिकाको एकीकृत सहरी विकास आयोजना अन्तर्गत निर्माण भइरहेका विभिन्न सडक तथा नाला निर्माणमा यस अघिपनि विभिन्न आरोप खेप्दै आएका श्रेष्ठलाइ आइतबार कालोमोसो नै दलिएको छ ।

श्रेष्ठलाइ सिद्धार्थनगर वासीहरुलेपनि पटक–पटक निर्माणाधीन सडक तथा नालाहरुको बारेमा अनियमितता गरेको भन्दै बिरोध गर्दै आइरहेका थिए । आफ्नै कार्यकक्षमा रहेका श्रेष्ठलाई विप्लबका कार्यकर्ताहरुले सोमबार कालोमोसो दलेको हुन । पाँच जनाको संख्यामा आएका उनीहरुले कालोमासो दलेर तत्काल भागेका थिए ।
मोसो दल्नुका पछाडि ५ वटा कारण उल्लेख भएको पर्चा कार्यालय परिसरमा भेटिएको छ । सिद्धार्थनगर नगरपालिकाभित्र एडिबी परियोजनामा ठेकेदारसंगको मिलेमतोमा करोडौं रकम अनियमितता गरेको, ठेकेदार कम्पनीसंगको मिलेमतोमा सम्झौता विपरित गुणस्तरहीन कार्य गरी जनताको व्यापक गुनासो आएको, नगरपालिकाका सबै वडामा व्यवस्थित ढल निकास एवं नाला बनाउने क्रममा कमसल सामान प्रयोग गरी सम्झौता विपरीत ठेकेदारसंग मिलेर अनियमितता गरी मोटो रकम असुलेको, सरकारी कर्मचारी भएर कार्यालय समयमा जनताको काम नगरी निजी विनिता इन्जिनियरिङ कन्सलटेन्सी सञ्चालन गरी सेवाग्राही ठगेको साथै कार्यालय समय दुरुपयोग गरेको, यस अगाडी कार्यरत रहेका सरकारी कार्यालयमा पनि आर्थिक भ्रष्टाचार गरी सो ठाउँ छोडेर हालको कार्यालयबाट समेत अकुत सम्पत्ति आर्जन गरी जनता ठगेको भन्ने जनस्तरबाट व्यापक गुनासो आएपछि सो जनकारवाही गरिएको जिल्ला जनपरिषद (जनसरकार) लेखिएको पर्चा कार्यालयमा भेटिएको थियो ।

चार जनाको समुहमा दिउसोको २ बजेर १० मिनटको समयमा इन्जीनियर श्रेष्ठको कार्यकक्षमा प्रबेश गरेका उनीहरुले कुनैपनि गुनासो र प्रतिकृया नै नराखी जबर्जस्त रुपमा कालोमोसो दलेर भागेको इन्जीनियर श्रेष्ठले गौतमबुद्ध सन्देशलाइ जानकारी दिए । कम्सेकम कुनै गुनासो भएको भए प्रत्यक्ष रुपमा कुरा गर्नुपर्नेमा त्यसरी जबर्वस्त शैलीमा आइ त्यसरी अमानवीय व्यवहार गर्नु निन्दनीय कार्य भएको इन्जीनियर श्रेष्ठले बताए ।

पाँच जनामध्ये चार जनाले श्रेष्ठलाइ कालोमोसो दल्नको लागि कार्यकक्षमा छिरेपनि एकजनाले भने सोही कार्यालयमा कार्यरत इन्जीनियर एमलाल पाण्डेलाइ कार्यकक्ष बाहिर विभिन्न गफ लगाइ भुलाएको इन्जीनियर पाण्डेले जानकारी दिए । इन्जीनियर पाण्डेले भने–‘एकजना अपरिचित व्यक्तिले विभिन्न माग राख्दै हामी डेलिगेसन आएका हौं, योजना प्रमुख शैलेन्द्र सरसँग साथीहरुको गोप्य कुरा भएको हुँदा तपाइ यहीँ बस्नुहोस भन्दै मलाइ तपाइँहरुले नवलपरासीमा पनि मापदण्ड विपरित काम गरिरहनु भएको रहेछ भनेर उनले झुटा आरोप लगाएर बाहिरै भुलाए त्यही बेलामा भित्र प्रबेश गरेका साथीहरुले शैलेन्द्र सरलाइ दुव्र्यवहार गरेछन् ।’

यस बिषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले इन्जीनियर श्रेष्ठलाइ कालोमोसो दलेको तस्बीर सार्वजनिक समेत भएको अवस्थामापनि आफु अनविज्ञ भए जस्तो जवाफ दिएका छन् । उनले भने–‘नगरपालिकाको एकजना इन्जीनियरलाइ कालोमोसो दल्ने प्रयास भएको हो रे तर कसलाइ हो भन्ने मलाइ जानकारी छैन, कालोमोसो दल्न खोज्नेहरु फरार रहेकोले खोजीकार्य भने भइरहेको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्ताले यस अघि आइतबारपनि जिल्ला समन्वय समिति गुल्मीका लेखा अधिकृत प्रेम भण्डारीलाई कालोमोसो लगाएका थिए । जिल्ला जनसत्ता गुल्मीको नाममा पुगेका विप्लवका कार्यकर्ताले भण्डारीलाई उनकै कार्यकक्षमा आईतबार कालोमोसो लगाएका हुन् । त्यस्तै आइतबार नै विप्लवका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङगानालाई पनि उनकै कार्यकक्षमा प्रबेश गरी मोबिल खन्याएका थिए ।