तर्सिन थाले प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

तर्सिन थाले प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पक्ष कालो रङ्गदेखि नै तर्सिन थालेका छन् । पछिल्लो समय आफ्नै पक्षका विभिन्न कार्यक्रममा कालो रङ्गका मास्क, गलबन्दी र टोपी लगाउन प्रतिबन्ध लगाउन थालेका छन् ।

कालो रङ्गका लुगा लगाएका कतिपयलाई कार्यक्रममा प्रवेश निषेध समेत गरिएको छ । यसको सामाजिक संजालमा ब्यापक चर्चा र विरोध भैरहेको छ।

यस्तै सुदुरपश्चिमको धनगढीमा प्रधानमन्त्री ओली उनी पक्षको आमसभालाई सम्बोधन गर्न जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा व्यवस्था मात्र होइन कार्यक्रम स्थलमा कालो रङ्गलाई नै बर्जित गरिएको छ ।

ओलीले धनगढीमा पुस २४ गते कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी विभाजनपछि पहिलोपटक उपत्यकाबाहिर जान लागेका प्रधानमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह र प्रचण्ड–माधव नेपाल समूहमा विभाजन भएपछि प्रधानमन्त्री अ‍ोली पहिलो पटक काठमाण्डु उपत्यकामा बाहिर जान लागेका हुन् । गत पुस ५ गते संसद विघटन गराएर प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीमार्फत वैशाखमा आम निर्वाचन गर्ने घोषणा गराएका थिए ।

प्रधानमन्त्री ओली उपस्थित हुने उक्त आमसभाको सुरक्षाका लागि पुष २४ गते करीव एक हजारको हाराहारीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुने आयोजकले जनाएको छ ।

जिल्ला सुरक्षा समिति कैलालीले आज प्रधानमन्त्रीको सुरक्षा तथा आमसभा स्थलमा अप्रिय घट्ना हुन नदिन रणनीति बनाउदै छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रधानमन्त्री ओलीको सुरक्षाका लागि व्यापक सुरक्षा तयारी गरिएको र थप आवश्यक रणनीति बनाउन आज सुरक्षा समितिको बैठक बस्ने जानकारी दिए ।

प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय हाई अलर्ट गरिएको छ ।

स्रोतका अनुसार आमसभा स्थल तथा प्रधानमन्त्री आवात जावत गर्ने सडक क्षेत्रमा कालो व्यानर, कालो मास्क र कालोझण्डामा प्रतिबन्ध लगाइनेछ ।