ओलीसँग सहकार्य गरेर पछुताए कमल थापा « Himal Post | Online News Revolution
Logo

ओलीसँग सहकार्य गरेर पछुताए कमल थापा



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गरेको चुनावी तालमेल परिणाममुखी हुन नसकेको विश्लेषण गरेका छन्।

काठमाडौंमा सोमबार आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रतिवेदन पेश गर्दै थापाले एमालेको उदासीनताको कारणले निर्वाचनमा उपलब्धि प्राप्त गर्न नसकेको बताएका हुन्।

‘हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा हाम्रो कुनै महत्वाकांक्षा र अपेक्षा थिएन। पार्टी खडा भएको छोटो अवधिमा नै चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था थियो। हामीले चुनावमा भाग नलिन पनि सक्थ्यौँ तर, चुनाव बहिष्कार गर्दा गलत सन्देश जान्थ्यो’ उनले बैठकमा पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘प्रजातन्त्र र जन सर्वोच्चताको सिद्धान्तमा विश्वास गर्ने पार्टी भएको तथा सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली राप्रपा नेपालको मुख्य एजेण्डा भएको कारणले गर्दा सांकेतिक रुपमा भएपनि हामीले चुनावमा भाग लियौँ।’

चुनावमा एमालेसँग सहकार्य गर्ने निर्णय व्यवहारिक र रणनीतिक रूपमा ठीक भए तापनि एमालेको उदासीनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन नसकेको उल्लेख गरेका छन्। स्थानीय तहको चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर आगामी संसदीय निर्वाचनको तयारी जुट्नुपर्ने बताएका छन्

हिन्दुराष्ट्र पुनःस्थापना राप्रपा नेपालको मुख्य एजेण्डा भएको उल्लेख गर्दै निकट भविष्यमा नै हिन्दुराष्ट्र पुनःस्थापनाको निम्ति पार्टीले देशव्यापी सशक्त अभियान संचालन गर्ने बताएका छन्।

सकेसम्म सर्वपक्षीय राष्ट्रिय सहमतिको आधारमा वर्तमान संविधानमा संशाेधन गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र पुनःस्थापना गर्ने प्रयास गर्ने उल्लेख गरेका छन्।

‘धर्मनिरपेक्षता वा हिन्दुराष्ट्र’ भन्ने विषयमा जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस भन्ने मागसहित जनसंघर्ष गर्ने चेतावनी दिएका छन्।

‘आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई कम्तिमा पनि राष्ट्रिय पार्टी बनाउने हाम्रो तत्कालीन उद्देश्य हुनेछ’ उनको भनाइ छ।