कांग्रेस सरकारमा जानु हुँदैन, यो अपवित्र गठबन्धन हुन्छ: कमल थापा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कांग्रेस सरकारमा जानु हुँदैन, यो अपवित्र गठबन्धन हुन्छ: कमल थापा



बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि सांसद खरिदबिक्रीको खेल सुरु भएको बताएका छन्।

उनले सांसद खरिदबिक्री गरेर अपवित्र गठबन्धनको सरकार बनाउनुभन्दा ताजा जनादेश नै उत्तम विकल्प भएको समेत बताए।

राप्रपा रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले भने, ‘सर्वोच्चको फैसलापछि सांसद किनचेब गरेर अपवित्र गठबन्धन गर्ने वा संविधानको धारा ७६ (७) अनुसार सरकार बन्न नसकेको अवस्था चुनावमा जाने दुई विकल्प मात्रै अहिले हाम्रासामू छन्।’

उनले अपवित्र गठबन्धनले प्रजातन्त्रलाई कमजोर बनाउने हुँदा यस्ता गतिविधिबाट मुक्त हुनुपर्ने बताए। ‘जनादेशविपरीतको गठबन्धनले मुलुकलाई स्थायित्व दिँदैन, अपवित्र गठबन्धनले अझै समस्या निम्त्याउँछ’, उनले भने।

अहिलेको निर्णायक शक्ति भनेकै नेपाली कांग्रेस भएकाले गठबन्धन गरेर कांग्रेस सरकारमा जाने÷नजाने वा चुनावतर्फ जाने भन्ने उसको कोर्टमा बल भएको थापाले बताए।

‘जनताले कांग्रेसलाई अहिले नै सरकारमा जाऊ भनेर मत दिएका हैनन्, सरकारमा नजाँदा नै राम्रो हुन्छ। बरु चुनाव केन्द्रित हुनुपर्छ’, उनले भने। अध्यक्ष थापाले जनताले मुलुकको विकास गर भनेर नेकपालाई झण्डै दुई तिहाइ अभिमत दिए पनि जनतामाथि धोका भएको बताए।

‘नेकपाले काम गर्न सकेन, भ्रष्टाचार र कुशासनले मुलकमा जरो गाडेको छ। यसको विकल्प खोज्नु पर्छ’, थापाले भने। थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव पेस नभएकाले अहिले नै आफूहरु कुन पक्षमा उभिने भन्ने टुंगो नलागेको बताए। अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान बनेयता नै त्यसको आलोचनात्मक समर्थन गरेको तर धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रमा केही असहमति भएको जनाए।

सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति स्वागतयोग्य भएको बताउँदै थापाले विप्लवले हिंसा परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आए पनि हतियार तत्काल बुझाउनु पर्ने बताए।

फरक प्रसंगमा अध्यक्ष थापाले कालपानी र लिपुलेखको नेपाली भू–भाग समेटेर सरकारले नक्शा जारी गर्नु प्रशंसनीय काम भए पनि तत्काल उक्त भूमि फिर्ता ल्याउन भारतसँग कुटनीति पहल गर्नुपर्नेमा जोड दिए। थापाले नेपाली भू–भागबाट भारतीय सैनिक फिर्ताको माग समेत गरे। उनले विगतभन्दा भारतले नेपालप्रतिको नीतिमा सुधार ल्याएको संकेत पाइएकोसमेत जनाए।