राप्रपाको अध्यक्षमा कमल थापा निर्विरोध हुने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राप्रपाको अध्यक्षमा कमल थापा निर्विरोध हुने



काठमाडौँ,  फागुन ५

राष्ट्रिय प्रजातन्त्र पार्टीको आशन्न महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कमल थापालाई निर्विरोध निर्वाचित गर्नेबारे चार नेताबीच सहमति भएको छ । सो पार्टीका वर्तमान अध्यक्ष थापा, वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर जबरा, डा प्रकाशचन्द्र लोहनीबीच अध्यक्ष पदमा थापालाई निर्विरोध निर्वाचित गर्नेबारे सहमति भएको सो पार्टीद्वारा  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चार नेताहरूले सहमतिको आदर्शलाई प्राप्त गर्ने सन्दर्भमा पार्टी विधानमा ‘नीति निर्धारण तथा निर्देशन समिति’ को व्यवस्था गर्ने निर्णयसमेत गरेका छन् । “एकता महाधिवेशनलाई पार्टीका लाखौँ कार्यकर्ता, सहयोगी तथा शुभ चिन्तकको चाहना र भावनालाई सम्मान गर्दै सहमतिका आधारमा महाधिवेशन सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ”– विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी पार्टीको नीति एवम् भावी कार्यदिशासम्बन्धी राजनीतिक कार्यपत्र, पार्टीको आर्थिक नीति एवम् कार्य योजना तथा विधानलाई केन्द्रीय कार्यसम्पादन समितिबाट सर्वसम्मत रूपमा तयार गरिने भएको छ । राप्रपाको प्रथम एकता महाधिवेशन फागुन ६ गतेदेखि राजधानीमा सुरु हुँदैछ । रासस