कञ्चनपुरको नेपाल-भारत सीमा सर्वे टोली - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कञ्चनपुरको नेपाल-भारत सीमा सर्वे टोली



हिमाल पोष्ट / कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा नेपाल भारत सीमा क्षेत्रमा शुक्रबार सीमा सर्वे टोली पुगेको छ । गत फागुन २६ गते पुनर्वास नगरपालिका ८ मा कल्र्भट निर्माणको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपाली नागरिक गोबिन्द गौतम मारिएका थिए । घटना घटेको महिना दिन पछि नेपाल भारत सीमा सर्वे संयुक्त टोली पुनर्वास पुगेको हो ।

पुनर्वासका स्थानीय प्रेम बस्नेतले प्रमुख नापी अधिकृत निर्मल आचार्य सहितको तीन सदस्यीय सीमा सर्वेटोली पुनर्वास आएको बताए । उनका अनुसार टोलीले शुक्रबार घटना स्थलको समेत निरीक्षण गरेको छ । निरीक्षण पछि टोलीले पुनर्वासका राजनीतिक दल, बुद्धिजीवी, स्थानीय अगुवासँग सीमा बारे छलफल गरेको छ । टोली समक्ष पुनर्वासका स्थानीयले भारतले विभिन्न कालखण्डमा मिचिएको नेपाली भुमी फिर्ता गर्न माग गरेका छन् ।

पुनर्वासका स्थानीय राजनीतिक दलहरुले समेत सीमा क्षेत्रमा अतिक्रमण रोक्नका लागि सीमा स्तम्भ यकीन हुनुपर्नेमा जोडदिएका छन् । पुनर्वासका स्थानीय बन्धू रानाले पुस्तौँदेखि आफ्नो परिवार यही ठाँउमा जन्मे हुर्केको बताउदै बाउ बाजेका कुरा र आफुले देखेको वास्तविकता अनुसार भारतले वर्षौंदेखि दिनानुदिन नेपाली भूमि अतिक्रमण गरेको गुनासो पाखे ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी नहुँदा भारतले विगतदेखि सीमा मिच्दै आएको उनको आरोप छ । पुनर्वास नगरपालिका अगुवा कुबेर नाथले पुरानो नक्सा अनुसारको नेपाली भुमि नेपालले नै पाउनुपर्ने बताए ।

सहिद गोविन्द गौतम सिमा सुरक्षा संघर्ष समितिका संयोजक चन्द्रमणी गैरेले नेपाल र भारतको स्पष्ट सीमा छुट्याउनुपर्नेमा माग गरे । उनले भारतले गायब गरेको भएपनी हराएको सीमा स्तम्भहरु सजिलै पत्ता लाग्ने बताए । उनका अनुसार टोलीले पुनर्वास नगरपालिकाको बिचफाँटादेखि बेलौरी नगरपालिकाको बैशाखासम्म नापी गर्ने जिम्मा पाएको छ ।

टोलीले भारतीय नापी विभागको टोली सहितसँगै संयुक्त रुपका काम गर्ने छ । प्रमुख नापी अधिकृत निर्मल आचार्यले स्ट्रीप नक्साका आधारमा नेपाल भारत सीमा छुट्टाईने बताए ।