काँग्रेसले सबै स्थानीय तहमै प्रचार संयन्त्र बनाउँदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काँग्रेसले सबै स्थानीय तहमै प्रचार संयन्त्र बनाउँदै



हिमाल पोष्ट / काठमाडौ ।  नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिबाट गठित निर्वाचन प्रचारप्रसार उपसमितिको बैठकले ७ सय ४४ वटै स्थानीय तहमा निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक रमेश लेखक तथा सहसंयोजक गगन थापा सहितको समिति बैठकले केन्द्रदेखि स्थानीय तहसम्म यस्तो संयन्त्र बनाउने निर्णय गरेको हो । आउँदो बैशाख ३१ गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा काँग्रेसको पक्षमा माहोल बनाउने गरी प्रचार गर्न पार्टीका सबै तहलाई परिचालन गर्ने निर्णय गरेको नेपाली काँग्रेसले जनाएको छ ।

बैठकले केन्द्रीयस्तरमा नेपाल प्रेस युनियन र पार्टी प्रति आस्था राख्ने विभिन्न तहका वरिष्ठ सञ्चारकर्मीहरुलाई समेत समेटेर केन्द्रीय प्रचार संयन्त्र तयार पार्ने निर्णय पनि गरेको छ । त्यस्तै, जिल्ला स्तरमा पार्टी सभापतिको संयोजनमा युनियनको जिल्ला अध्यक्ष समेत रहनेगरी जिल्ला प्रचार समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । सो समितिलाई केन्द्रीय संयन्त्रले संयोजन गर्नेछ ।

त्यस्तै, जिल्ला स्तरबाट नै निर्णय गरी स्थानीय तहमा समेत प्रचार संयन्त्र तयार पारी प्रचारप्रसारको कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि पनि बैठकले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । स्थानीय तहको प्रचारप्रसारको संयन्त्रलाई जिल्ला समितिले नै संयोजन गर्नेछ ।

यसरी केन्द्रीय स्तरमा निर्माण गरिएको प्रचार समितिले देशभर भएको प्रचारप्रसारका गतिविधिहरुलाई शुक्ष्म रुपमा अध्ययन र अनुगमन पनि गर्नेछ ।

यसैबीच, केन्द्रीय निर्वाचन परिचालन समितिका स‌ंयोजक रामचन्द्र पौडेलले पार्टीको विचारसँग आस्ठा राख्ने विभिन्न पेशाकर्मी, भातृ तथा शुभेक्षुक संस्थासँग स्थानीय निर्वाचनको विषयमा छलफल गरेका छन् ।