काँग्रेसले ल्यायो नयाँ नारा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

काँग्रेसले ल्यायो नयाँ नारा



हिमाल पोष्ट / काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनको लागि नयाँ नारा तय गरेको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक  रामचन्द्र पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा  शनिबार बसेको बैठकले मूल नारा तय गरेको छ ।

अब काँग्रेसले स्थानीय निर्वाचनमा “कांग्रेसको नेतृत्वमा शान्ति र संविधान ! कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान !!” नारामा प्रचारप्रसार गर्ने भएका हुन् । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिबाट गठित निर्वाचन प्रचारप्रसार उपसमितिको बैठकले यस अघि ७ सय ४४ वटै स्थानीय तहमा निर्वाचन प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको थियो ।

समितिका संयोजक रमेश लेखक तथा सहसंयोजक गगन थापा सहितको समिति बैठकले केन्द्रदेखि स्थानीय तहसम्म यस्तो संयन्त्र बनाउने निर्णय गरेको हो । आउँदो बैशाख ३१ गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा काँग्रेसको पक्षमा माहोल बनाउने गरी प्रचार गर्न पार्टीका सबै तहलाई परिचालन गर्ने निर्णय गरेको थियो ।

बैठकले केन्द्रीयस्तरमा नेपाल प्रेस युनियन र पार्टी प्रति आस्था राख्ने विभिन्न तहका वरिष्ठ सञ्चारकर्मीहरुलाई समेत समेटेर केन्द्रीय प्रचार संयन्त्र तयार पार्ने निर्णय पनि गरेको छ । त्यस्तै, जिल्ला स्तरमा पार्टी सभापतिको संयोजनमा युनियनको जिल्ला अध्यक्ष समेत रहनेगरी जिल्ला प्रचार समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । सो समितिलाई केन्द्रीय संयन्त्रले संयोजन गर्ने उल्लेख थियो ।