कांग्रेसको घोषणापत्रमा एमाले-माओवादीका कथा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कांग्रेसको घोषणापत्रमा एमाले-माओवादीका कथा



काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको लागि घोषणापत्र सार्वजनिक गरेको छ । ८४ पेज लामो घोषणापत्रमा कांग्रेसले माओवादी केन्द्र र नेकपा एमालेप्रतिको दृष्टिकोण समेत तय गरेको छ ।

घोषणापत्रमा एमालेलाई समृद्धिको बाधक भन्दै पार्टी व्यावसायिक घरानामा परिणत हुँदै गएको आरोप लगाएको छ । यस्तै, माओवादी केन्द्रलाई कांग्रेसले अवसरवादी र अस्थिरताबाट लाभ उठाउने पार्टी भनेको छ ।

त्यस्तै, वाम गठबन्धनलाई संसारमै असफल भएको सर्वसत्तावाद लाद्ने प्रयास भएको कांग्रेसको टिप्पणी छ । जनताले लेखेको संविधान परिवर्तन गर्दै कम्युनिस्ट शासन लगाउने र जनतालाई अधिकारबाट वञ्चित गराउने असफल प्रयास वाम गठबन्धन भएको कांग्रेसको बुझाइ छ।

कुन पार्टीप्रति कांग्रेसको कस्तो दृष्टिकोण ? 

नेकपा एमाले

एमाले संविधान निर्माणको बेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरुप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रहेको आरोप घोषणापत्रमा लगाइएको छ।

कांग्रेसको नेतृत्वमा सरकारमा सहभागी भए पनि र संविधान निर्माणमा सहकर्मी भए पनि एमाले आफू सहभागी सरकारको निर्णय प्रक्रियामा सहयोगी र लचिलो भूमिकामा प्रस्तुत नभएको आरोप समेत कांग्रेसले लगाएको छ।

संसदीय पद्धति र आचरण अनुरुप आफू सहभागी सरकारको काम र निर्णयमा उत्साहपूर्ण सहकार्य गर्नुभन्दा पार्टी तथा गुटगत राजनीतिक भागबन्डा खोज्ने प्रवृत्तिबाट एमालेले पटक–पटक असहयोगी र अवसरवादी राजनीतिक चरित्र देखाएको कांग्रेसको घोषणापत्रमा उल्लेख छ ।  कांग्रेस नेतृत्वको अघिल्लो सरकारले गरेका विकास, न्याय क्षेत्र र कुटनीतिक क्षेत्रका नियुक्तिहरु बदर गर्नु त्यसैको प्रमाण भएको घोषणापत्रमा उल्लेख छ।

एमालेले दलीय स्वार्थका निम्ति सरकारको वित्तीय स्रोत–साधनको दुरुपयोग गरेको आरोप समेत घोषणापत्रमा लगाइएको छ । फलस्वरुप सत्तामा सहभागी दलहरु एमालेसँग सत्ता साझेदारीमा टिक्न सकेनन् र एमाले नेतृत्वको सरकारको पतन भएको घोषणापत्रमा उल्लेख छ।

सत्तामा रहुन्जेल एमालेले संशोधनद्वारा संविधान सम्बन्धी असन्तोषलाई समाधान गर्ने लोकतान्त्रिक विधिलाई समेत समर्थन नगरेको कांग्रेसको आरोप छ । एमालेको अतिवादी राजनीतिक अडानले तराई–मधेसको आन्दोलन झनै चर्को बन्दै गएको आरोप समेत कांग्रेसको छ।

पार्टीको चरित्र गुमाउँदै आफ्ना लेबी बुझाउने सक्रिय नेता–कार्यकर्ताका भ्रातृ संगठनको माध्यमबाट अस्पताल–मेडिकल कलेज, एनजीओ सञ्चालन, सहकारी संस्था, उद्योग, जलविद्युत्, आवास र बैकिङ क्षेत्रमा लगानी गर्दै व्यावसायिक घरानाको भूमिकामा आफूलाई परिवर्तन गर्दै लगेको आरोप घोषणापत्रमा लगाइएको छ।

त्यसैले एमाले सत्ताको केन्द्रमा बसेर आफ्ना निकटतम सहयोगीको व्यावसायिक स्वार्थको रक्षार्थ दल–नियन्त्रित पूँजीवाद (क्रोनी क्यापिटालिज्म) संरक्षण गर्ने कम्युनिस्ट पार्टी बनेको घोषणापत्रमा उल्लेख छ।

एमालेले राष्ट्रिय पुँजीको नभई आफ्नो पार्टी–नियन्त्रित पुँजीको प्रवर्द्धन गर्दै आएको कांग्रेसको आरोप छ । एमाले सत्ता, नीति र कानुन निर्माण गर्ने ठाउँमा बसेर आफ्नै देशका लगानीकर्ताहरुसँग व्यावसायिक प्रतिस्पर्धा गर्ने तथा निजी क्षेत्रका लगानीकर्ताका निम्ति असमान र असहज वातावरण निर्माण गर्ने पार्टी बन्दै गएको आरोप समेत उसले लगाएको छ । यस्तो चरित्र बोकेको पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न र आर्थिक विकास नसक्ने घोषणापत्रमा उल्लेख छ।

चिकित्सा शिक्षा विधेयक ०७४ लाई एमाले र माओवादी केन्द्रले संसदमा पारित गर्न नदिएको आरोप समेत घोषणापत्रमा लगाइएको छ।

माओवादी केन्द्र 

माओवादी अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्ति भएको पार्टीको रुपमा घोषणापत्रमा चित्रण गरिएको छ । देशको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका बेला माओवादी केन्द्रले पनि दृढ संकल्प र स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन नसकेको घोषणापत्रमा उल्लेख छ।

द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त भएर दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो अस्थिर राजनीतिका बेला सत्ताको लाभ खोज्ने प्रवृत्ति माओवादीले देखाउने गरेको कांग्रेसको आरोप छ । यस्तो ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको उसले आरोप लगाएको छ।

पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थिर, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको घोषणापत्रमा उल्लेख छ।

पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकारको नेतृत्व गर्ने अवसर पाएर पनि माओवादीको परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्दत पार्टी भएको आरोप लगाइएको छ।

कहिले एमालेसँग सरकार बनाउने कहिले कांग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टी बन्दै आएको आरोप घोषणापत्रमा लगाइएको छ । एमाले र माओवादी केन्द्र मिलेर एउटै कम्युनिस्ट पार्टी बनाउने भन्दै अहिले एक–अर्कालाई धृतराष्ट्रको अँगालोमा बाँध्ने गरी क्रियाशील भएका घोषणापत्रमा उल्लेख छ।

कम्युनिस्ट गठबन्धन ‘सत्ता स्वार्थ’ 

कांग्रेसले अहिलेको वाम गठबन्धनलाई स्वार्थ केन्द्रित गठबन्धन भएको आरोप लगाएको छ।

कम्युनिस्ट गठबन्धनको घोषित उद्देश्य आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कम्युनिस्टहरुबीच चुनावी तालमेल गर्ने, अन्ततः एउटै कम्युनिस्ट पार्टी बनाउने, कम्युनिस्ट पार्टीको वर्चस्वको सरकार बनाउने र देशमा साम्यवाद स्थापना गर्ने रहेको घोषणापत्रमा उल्लेख छ।

संसारभरि असफल सिद्ध भइसकेको कम्युनिस्ट शासनलाई नेपालमा स्थापना गर्न खोजिएको कम्युनिस्ट गठबन्धनको प्रयोग देश र जनतालाई कदापि स्वीकार नहुने घोषणापत्रमा भनिएको छ।

निर्वाचनका बेला सम्पूर्ण देशलाई कथित राष्ट्रवादी र अराष्ट्रवादी कित्तामा विभाजित गर्ने, हिमाल–पहाड—मधेसका जनताबीच भावनात्मक मतभेद चर्काएर हिंसा र बल प्रयोग गर्ने, शान्ति–सुरक्षाको जिम्मेवारी पाएको गृह प्रशासनलाई राष्ट्रिय कत्र्तव्यबाट विचलित गराउने कम्युनिस्ट गठबन्धनको रणनीति अन्तर्गत माओवादी केन्द्र सत्ता पक्षमा पनि साझेदार हुने र प्रतिपक्षसँग गठबन्धनमा पनि हिस्सेदार हुने अनैतिक र षड्यन्त्रकारी भूमिकामा बसिराखेको आरोप घोषणापत्रमा लगाइएको छ।

कम्युनिष्ट गठबन्धनले अन्ततः संविधानले प्रत्याभूत गरेको संघीय समावेशी लोकतन्त्रका आधारभूत संरचना र अधिकार भत्काउने र अपहरित गर्ने नियत राखेको घोषणापत्रमा उल्लेख छ।

NC_Manifesto_Complete