कर छुटको माग गर्दै घोडाघोडी नगरपालिका विरुद्ध मुद्दा  - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कर छुटको माग गर्दै घोडाघोडी नगरपालिका विरुद्ध मुद्दा 



कैलाली – बालुवा तथा गिट्टी संकलनको काम नभएको भन्दै कर छुटको मागसहित घोडाघोडी नगरपालिका विरुद्ध मुद्दा दायर गरिएको छ । कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउन अवधिमा बालुवा तथा गिट्टी संकलनको काम नभएको भन्दै कर छुटको मागसहित नगरपालिका विरुद्ध साउन ४ गते रेखा निर्माण सेवाले उच्च अदालत दिपायलमा मुद्धा दायर गरेको हो ।

कोरोनाको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन अवधिमा बालुवा तथा गिट्टी संकलनको काम नभएको र सोही अवधिको हुन आउने कर छुटको माग सहित उच्च अदालतमा मुद्दा दायर गरेको रेखा निर्माण सेवाका संचालक जनक शाहीले बताए । उनले सरकारले समस्यामा परेका ब्यवसायिहरुलाई सहयोग गर्नुको साटो झन समस्यामा पार्न थालेकाले न्यायको खोजीमा हिडेको बताए । शाहीले लकडाउनका कारण करिब ४० लाख बराबरको कर संकलन हुन नसकेको बताए ।

यता घोडाघोडी नगरपालिकाले भने देशमा घोषणा गरिएको लकडाउन अवधिमा पनि बालुवा, गिट्टी संकलनको काम नरोकिएको दाबि गरेको छ । लकडाउनमा पनि बालुवा, गिट्टी संकलन जारी रहेको र सोही अवधीमा नगर भित्र करिब ८५ प्रतिशत भौतिक निर्माणको काम भएको भन्दै प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले उक्त कर रकम छुट गर्न नसकिने बताए ।

सिंहले नगरपालिकाले दिएको १ सय ६३ वटा रसिद ठेली नगरलाई बुझाएको भए घाटा लागेको बिषयमा कार्यपालिकामा छलफल वा निर्णय गर्न सकिने भएपनी हालसम्म पनि उक्त ठेलीहरु नगरपालिकालाई प्राप्त नभएको बताए । वास्तविक कर संकलनको लेखाजोखा नै नगरी लकडाउनलाई अवसर बनाई निर्माण सेवाले हचुवाकै भरमा मुद्धाको प्रक्रियामा अघि बढेको सिंहले बताए ।

नगर भित्रको प्राकृतिक श्रोत अन्तर्गत बालुवा, गिट्टी संकलनका लागि रेखा निर्माण सेवाले तीन किस्ता मार्फत रकम बुझाउने भनिएपनि पुर्ण रुपमा रकम नबुझाएको सिंहले बताए । रेखा निर्माण सेवाले १ करोड ४७ लाखमा ठेक्का सम्झौता गरेको थियो ।