कारखाना !! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कारखाना !!



-हेमन्त गिरी

ओ सन्तान, सुन
जहाँ हामी डेरा खोज्न आएका छौं नि
यो सहर हैन, कारखाना हो !
यी अग्ला ठूला घरहरूमा
इन्जिन बस्छन
यी फराकिला चिल्ला सडकहरूमा
इन्जिन कुद्छन
एकले अर्कोलाई जित्नको लागि
दौडिरहन्छन इन्जिनहरू दिनहुँ !
जित्न नसक्ने इन्जिजिनहरूमा
जलन बढी हुन्छ,
धुवाँ फाल्छन आँखाहरू बाट !
जित्ने इन्जिनहरूमा
घमण्ड ज्यादा हुन्छ,
दुर्घटना निम्त्याउँछन व्यवहारहरू बाट !
ओ सन्तान, सुन
यो कारखानामा तिमीले
अलि फरक ढङगले काम गर्नू
केही थान ‘मानव’ उत्पादन गर्नू !
कोशिस गर्नू,
चाडवाड र अफ्टेरोको बहाना गरी
मेसिनहरू नपसून गाऊँ गाऊँमा !!
✍️हेमन्त गिरी,टोकियो