सुनकोसीमा गाडी खस्यो, तीन सरकारी कर्मचारी बेपत्ता, चालक सकुशल - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

सुनकोसीमा गाडी खस्यो, तीन सरकारी कर्मचारी बेपत्ता, चालक सकुशल



सिन्धुली । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सीटीईभीटीको गाडी सुनकोसी नदीमा खसेको छ ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बीएवी ७४६७ नम्बरको स्कारपियो गाडी गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को लौकुनबाट सुनकोसी नदीमा खस्दा तीन जना कर्मचारी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

गाडीमा रहेका तीन जना बेपत्ता भएका छन् भने चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए । गाडी पूरै डुबेको र निकाल्न नसकिएको सिलवालले बताए । उनका अनुसार गाडीमा सीटीईभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ ।

उनीहरूको स्थानीय र प्रहरीद्वारा खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । शनिबार बिहानसम्म बेपत्ताको खोजीकार्य जारी छ ।