गगन थापालाई कर्ण मल्लले ट्युसन पढाउने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गगन थापालाई कर्ण मल्लले ट्युसन पढाउने



काठमाडौं- कांग्रेसले कारबाही गरेपछि सुदूरपश्चिम प्रदेशसभाको सांसद पदबाट राजीनामा दिएका कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने बताएका छन् । उनले बीपीले स्थापना गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कसरी मिल्छ भन्दै थापालाई ट्युसन पढाउन सक्ने बताए ।

मल्लले नेपाली कांग्रेससँग बीपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो अर्थात् घोषणापत्र नै नभएको बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए ।

‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बीपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो नै छैन । केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्युसन पढाउन सक्छु,’ मल्लले भने ।

बीपीले स्थापना गरेको मेनिफेस्टो र अहिलेको मेनिफेस्टो मिल्छ ? भन्दै मल्लले थापालाई प्रश्न गरे । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौँ जिल्ला अधिवेशन तथा १४औँ महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए ।

आसन्न स्थानीय तहको चुनावमा उनले नेपाली कांग्रेस बीपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो ।