के कुमार पन्तलाई सहयोग गर्ने काँग्रेसीलाई कारबाही होला ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

के कुमार पन्तलाई सहयोग गर्ने काँग्रेसीलाई कारबाही होला ?



-कर्ण अधिकारी

नेपाली काँग्रेसको विदेशस्थित भातृ संस्था नेपाली जनसम्पर्क समितिहरूमा पनि गुटबन्दीको प्रभाव राम्रै परेको छ। विशेषतः: युरोपमा रहेका जनसम्पर्क समितिहरूको यस समयमा आफू आफुको जुधाइले नेकपाको भातृ सङ्गठनहरूलाई फाइदा पुगी रहेको छ। गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्को अधिवेशनका पूर्वसन्ध्यामा अधिकांशले नेकपा समर्थित क्याण्डिडेटहरूलाई खुलेरै सहयोग गरीरहेको छ।

यसरी काँग्रेस र काँग्रेसीहरूले गुटकै कारण अन्य पार्टीका भातृ सङ्गठनहरूलाई विजय गराउन तल्लीन रहन्छन् भने नैतिक रूपमा त्यस्तो व्यक्तिहरूले काँग्रेस भन्नुको औचित्य नै समाप्ति भएको देख्दछु। गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ग्लोबल सम्मेलनको पूर्व सन्ध्यामा यस्ता क्रियाकलाप हुन्छ भने यसले लोकतान्त्रिक पक्षधरहरूलाई पूर्ण रूपमा असर पार्ने छ।

गैर आवासीय नेपाली सङ्घभित्र राजनैतिक धार्मिक जातीय नारालाई समावेश गर्न नपाइने भनिएता पनि सन २००९ सालमा ईश्वर पोख्रेलले राम थापालाई कम्युनिस्टको कार्यकर्ता बन म तिमीलाई एनआर एनको अध्यक्ष बनाई दिन्छु भनेका थिए तर राम थापाले अस्वीकार गरे पछि अध्यक्ष बन्ने अवस्थामा रोक लगाइयो र थापा कहिले पनि अध्यक्ष बनेनन्। त्यसै गरी सन २०१३ मा भीम रावलले ग्लोबल सम्मेलन पूर्व सोल्टी होटेलमा पुगी कम्युनिस्टका तर्फबाट तेन्जी शेर्पालाई अध्यक्षको उम्मेदवार नै घोषणा गरेका थिए। त्यसैगरी अहिलेका प्रधानमन्त्री केपी ओलीले नेपाली काँग्रेसको युरोप र अमेरिकामा भातृ संस्था जनसम्पर्क समिति स्थापना भए पश्चात् युरोप र अमेरिकामा कम्युनिस्टका भातृ सङ्गठन स्थापना गर्न नपाउने भएपछि तत्कालीन एमालेका ट्याग भिरेका उपेन्द्र महतो मार्फत गैर आवासीय नेपाली सङ्घका नाममा युरोप र अमेरिकामा राजनैतिक चलखेल बढाएका थिए तर आज विश्वका अधिकांश देशमा काँग्रेसको नाम लिएर काँग्रेसको नाम भज्ने थुप्रै नेपाली नागरिकहरू छन् ती लोकतान्त्रिक पक्षधर भनाउँदा काँग्रेसीहरूले कहिले पनि काँग्रेस पक्षधर रही लोकतान्त्रिक पक्षधरलाई सहयोग गर्न सकेन उल्टो वामपन्थीहरूका पछि लागेर उनीहरूकै गुणगान गाउन व्यस्त रहे र उनीहरूलाई मतदान गरी विजय गराए।

अमेरिका र युरोपको कुरा गर्ने हो भने आसन्न गैर आवासीय नेपाली सङ्घको ग्लोबल सम्मेलनमा अध्यक्ष पदका लागि लोकतान्त्रिक पक्षधरबाट कुल आचार्य र वामपन्थी पक्षधरबाट कुमार पन्तले आफ्नो नाम सार्वजनिक गरी सकेका छन्।यी दुवै वर्तमान कमिटीका उपाध्यक्ष हुन।अध्यक्षका प्रत्याशी कुललाई लोकतान्त्रिक भनेर चिनिएका काँग्रेसीहरूले नै साथ दिएका छैनन् भन्ने प्रस्ट देखिएको छ। कुमार पन्तको सपोर्टमा खुलेर लाग्नेहरू प्रवासी नेपाली मञ्च र अन्य सङ्गठनका भन्दा नेपाली जनसम्पर्क समिति र नेपाली काँग्रेसका सदस्यहरू धेरै छन्।हलिउड न्युजका अनुसार हरिबोल भण्डारी नेपाली काँग्रेस महासमिति सदस्य र गैरआवासीय नेपाली सङ्घका सल्लाहकार दुवै हुन् उनी कुमार पन्तको सपोर्टर हुन्।आइसिसी सदस्य राजन त्रिपाठी, सरला कँडेल, वेद बस्नेत, एनसीसी अमेरिकाका उपाध्यक्ष कृष्ण जीवी पन्थ, एनसीसी अमेरिका निवर्तमान उपाध्यक्ष उमा कार्की, सदस्य कृष्ण लामिछाने, आइसिसी सदस्य इलेक्ट्रिक होम गौतम, स्वराज खाती, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनीन्द्र नेम्बाङ्ग, केन्द्रीय सदस्य प्रमोद सिटौला, प्रकाश बस्नेत, जनसम्पर्क समिति न्यु योर्क च्याप्टर सभापति रोशन ढुङ्गाना, त्यस्तै गरी ज्ञानेन्द्र कार्की लगायत थुप्रै व्यक्तिहरू कुमार पन्तका सपोर्टमा देखिएका छन् । त्यसै गरी युरोप,जापान,अस्ट्रेलिया लगायत अन्य राष्ट्रका काँग्रेसका हस्तीहरू समेत कुमार पन्तलाई नै सहयोग गर्ने भनी प्रतिबद्धता समेत जाहेर गरी सकेका छन्।यसरी प्रत्यक्ष रूपमा नै वामपन्थी पक्षधरलाई सहयोग गर्छु र जिताउनु पर्छ भन्नेहरूलाई काँग्रेस केन्द्रले कारबाही गर्ला त ? समयको प्रतीक्षामा छौ।

वर्तमान अवस्थामा न त काँग्रेसले देशमा नै आफ्नो छबिलाई कायम राख्न सक्यो न त प्रवासमा नै।२०७४ सालको प्रदेश र प्रतिनिधि सभा चुनावमा गुटबन्दीका कारण वामपन्थी समूहलाई मतदान गरी विजय गराउनेलाई न त कारबाही गर्न सक्यो न त प्रवासमा नै।यस्ता पार्टी घातीहरूलाई कारबाही गर्ने की नगर्ने? कता हरायो नेपाली काँग्रेसको अनुशासन समिति ? गुटबन्दीका कारण केन्द्रमा बसेर केन्द्रीय कमिटीलाई नै मिलाउन नसकेको अवस्थामा कसरी काँग्रेसले सुमार्ग पत्ता लगाउला ! जसरी केन्द्रमा गुटका कारण नेताहरू बिच नै पानी बाराबारको स्थिति छ भने त्यसै गरी युरोप अमेरिका लगायतका जनसम्पर्क समितिहरूमा आबद्ध काँग्रेसीहरूमा अझै त्यो भन्दा बढीको अवस्था सृजित भएको छ । देउवा, कोइराला र पौडेलको नाम लिएर राजनीति गर्नेहरूले काँग्रेसको नीति विधान र अनुशासनलाई पनि मनन गरी दिए हुने थियो।आफू आफूमा लडाई लड्ने र फल अरूलाई चढाउनेहरूसँग काँग्रेसले पनि खासै आस नगर्दा राम्रो।केन्द्रीय नेताहरू मेरो पकेटका मान्छे हुन भन्दै सामाजिक सञ्जाल र जमघटमा कुर्लनेहरूले विपीको नीति र सिद्धान्तलाई पनि अध्ययन गरी दिए राम्रो हुने थियो।प्रवासमा रहेका काँग्रेसीहरूलाई एक जुट बनाउन स्थापना भएको जनसम्पर्क समिति भित्र आफ्नो स्वार्थका लागि पैसा पावर र मसलको धाक देखाएर काँग्रेसीको सङ्ख्या बढाउनु साटो घटाउन तल्लीन हुने हरूलाई काँग्रेसीहरूले स्थान दिनु हुँदैन भन्ने मान्यता हो ।

काँग्रेसीहरू यसरी गुटबन्दीमा लाग्ने हो भने भोलिका दिनमा स्वर्णिम सपना देख्दै चुनाव जितिन्छ भन्नु दुर्भाग्य हुने छ।आफ्नै घर भित्रको कुरा घर भित्र नै मिलाउनु पर्छ भन्ने मान्यता भए पनि पानी बाराबारको स्थिति आए पछि त्यसलाई बाहिर ल्याउन बाध्य हुने रहेछ।काँग्रेस भित्रको कुरीति विसङ्गतिहरूलाई बाहिर ल्याएर आफ्नो आङको धुलो टकटकाउने मेरो रहर नभए पनि एक काँग्रेसको क्रियाशील कार्यकर्ताको हैसियतमा भने पार्टीको माया र ममताका कारण काँग्रेस द्रोहीहरूको भण्डाफोर गर्नु म जस्तो कर्तव्य निष्ठ कार्यकर्ताको दायित्व पनि हो ।

यो लेखकको निजि विचार हो ।