मिटरब्याजी तिलकको चंगुलमा परेको कर्णाली डेभलपमेन्ट बैंक अनुसन्धानमा तानियो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मिटरब्याजी तिलकको चंगुलमा परेको कर्णाली डेभलपमेन्ट बैंक अनुसन्धानमा तानियो



कर्णाली बैंक डुबाउने खेलोमा लागेका मिटरब्याजी तिलक सम्पत्ति शुद्धिकरणको ‘क्लोज मोनिटरिङमा’

मन्जु नेपाली/ बाँके – नेपालगंजस्थित कर्णाली डेभलपमेन्ट बैंकको आधा भन्दा बढी निक्षेप रकम मिटरब्याजी तिलक बिकले विभिन्न माध्यममार्फत दुरुपयोग गरेको समाचार बाहिरिएपछि बैंकका ग्राहकहरू तनावमा छन् ।

एक अनलाइनले डमी ऋणी र कम्पनी खडा गरेर कसरी निक्षेप अपचलन गरिन्छ भनेर तथ्यसहित समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि बैंकको उच्च व्यवस्थापन र बिकको गिरोह विभिन्न धम्की र प्रलोभन दिएर समाचार हटाउने प्रयास गरिरहेका छन् ।

१ दर्जन भन्दा बढी फेक कम्पनी र दर्जनौं फेक ऋणीलाई दुरुपयोग गरेर डेढ अर्ब भन्दा बढीको रकम अपचलन गरिएको र यसमा बैंकका सीईओ दिनेशकुमार रावतको पनि संलग्नता रहेको स्वयं रावतले नै स्वीकारेको दाबी उक्त अनलाइनले गरेको थियो ।

पैसाको बलमा अन्य मिडियामार्फत आफ्नो गुणगान गाउन लगाउने र पत्रकारहरूको चरित्रहत्या गर्नमा संलग्न रहेका तिलक बिक भने नेपालगंजका विवादित मिटरब्याजी हुन् ।
पढ्न लेख्न नसक्ने डम्मर कामी, तिलककै कार्यालयमा सफाई कर्मचारीका रूपमा रहेका रमावती थारु, सहयोगी ध्रुव केसी, ध्रुव चलाउने, बोल्न सुन्न नसक्ने एगे कामीलगायतलाई करोडौं ऋण बोकाएका तिलक बिकले उक्त पैसाले भक्तपुरमा ४० भन्दा बढी रोपनी जग्गा जोडेका छन् ।

विकका सहयोगी ध्रुव केसीले आफूलाई पनि जागिरबाट निकालिदिएकाले आफूले बोकेको ऋण के हुन्छ भन्ने गुनासो गरेका छन् । उनले तिलकका नाममा ५० लाख ऋण बोकेका छन् ।

प्रहरी प्रशासनको पनि मिलेमतो हुन सक्ने देखिएकाले आफूहरू प्रहरीमा पनि जान नसक्ने, उल्टै अनावश्यक मुद्दा लगाएर थप पीडित हुनुपर्ने भयले पीडित यतिबेला बोल्न डराएका छन् ।

६ वर्ष भन्दा बढी समय तिलकको गाडी चलाएका डम्मर कामीलाई मोटरसाइकलको ब्लूबुक नवीकरण गर्ने बहानामा एक वर्षअघि तिलकले प्रहरी लगाएर एक दिन हिरासतमा राखेका थिए ।

डम्मर कामीले गाडी चलाएबापत पाउनुपर्ने पैसा अहिलेसम्म नपाएको उनको गुनासो छ । ‘मलाई चारैतिरबाट धम्की आइरहेको छ, एकदमै त्रस्त छु,’ पढ्न लेख्न खासै नजान्ने कामीले भने ।

नेपालगंजमा प्रतीक निर्माण सेवा, प्रतीक टुर्स लगायत कम्पनी चलाएका तिलकले अन्य व्यक्तिका नाममा समेत कम्पनी खोलेर बैंकबाट अर्बौं ऋण अपचलन गरेका छन् ।
१० वर्षअघि सम्म भारतबाट पाइरेसी गरेर ल्याएका हिन्दी फिल्मका सीडीहरूको व्यापार गर्ने तिलकले सोझा साझा र गरीब निमुखाहरूलाई प्रयोग गरेर मिटरब्याजी र जग्गा दलालीको साम्राज्य खडा गरेका छन् ।

उनका सहयोगी ध्रुव केसीले तिलकले बैंकको पैसा सबै तिर्न नसक्ने बताउने गरेको जानकारी दिएका छन् । ‘मलाई पनि जागिरबाट निकालिदियो,’ ध्रुव केसीले भने, ‘अब त्यो ५० लाख मैले कसरी तिर्ने ?’

त्यतिबेला आफूलाई केही रकमको प्रलोभनमा पारेर ऋण लिने कागजात र चेकमा हस्ताक्षर गरिदिएको तर अहिले आएर सबै बुझ्दा आफू फसिएको ध्रुव केसीले गुनासो गरेका छन् ।

यसबारे राष्ट्र बैंकले बैंकका सीईओ दिनेश कुमार रावत र ऋण विभाग प्रमुख मुकेश गौतमलाई बोलाएर सोधपुछ गरिसकेको छ ।

अनुसन्धान प्रक्रियामै रहेकाले अहिले केही बोल्न नमिल्ने राष्ट्र बैंकका एक अधिकारीले बताए । उनका अनुसार बैंकलाई समस्याग्रस्त घोषणा गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ ।

तिलक बिकविरुद्ध सम्पत्ति शुद्धिकरणमा पनि उजुरी परेको त्यहाँका एक अधिकारीले बताएका छन् । उजुरीबारे अनुसन्धान भइरहेको उनको दाबी छ । ‘हामीले क्लोज मोनिटरिङ गरिरहेका छौं,’ उनले भने ।