कस्तुप पन्तमाथि ६ अभियोग... - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

कस्तुप पन्तमाथि ६ अभियोग…



प्रस्तुति :  समीर प्रकाश पाण्डे

लामो समयदेखि नेपाली गीतसङ्गीतको क्षेत्रमा उत्कृष्ट गीतहरू पस्केर आम दर्शक श्रोताहरूमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली गीत सङ्गीतका एक बलिया खम्बा हुन् सर्जक तथा गीतकार कस्तुप पन्त ।

धेरैजसो वास्तविक कथामा आधारीत शब्दहरू लेख्‍नमा माहिर मानिन्छन् पन्त । पर्वतमा जन्मिएर २०६० सालमा फूलको थुँगामा सँगै तरौँ मायाको सागर दिलको डुङ्गामा… बाट नेपाली गीत सङ्गीतको क्षेत्रमा प्रवेश गरेका उनि त्यस पछिका दिनहरूमा लोक तथा दोहोरी गीत होस् वा आधुनिक गीत दर्शक-श्रोताको र‍ोजाईमा पर्न थाले अनि एक सफल गीतकार, सङ्गीतकार तथा गायक बने पन्त ।

प्रस्तुत छ, कस्तुप पन्तमाथि लागेका छ आरोप र आरोप माथिको उनको प्रष्टोक्ति ।

अभियोग १ : सिडी क्यासेटको जमाना गयो, युट्युबबाट पैसो आउँदैन, क्यारी चल्छन् कलाकार ?

– सिडी क्यासेटको जमानामा केही कलाकारले क्यासेट बिक्री बापत म्युजिक कम्पनीले जति दियो त्यति र जति हिसाब आए पनि चित्त बुझाउनु पर्ने अवस्था थियो तर अहिले मेला महोत्सवमा पनि पर्याप्त नयाँ वा पुराना कलाकारहरूलाई समेत भ्याइनभ्याइ छ । सबैका लागि नभए पनि केही व्यावसायिक गीत सङ्गीतमा खट्ने गीतकार, सङ्गीतकारको पनि राम्रो आम्दानीको स्रोत बनेको छ गीतसङ्गीत । फिजिकल बजार भन्दा डिजिटल बजार केही सुरक्षित मान्न सकिन्छ ।

अभियोग २ : तपाईँ एक पटक हिट भएको कलाकार, अरू हिट हुँदा कत्तिको ईर्ष्या लाग्छ ?

– नयाँ प्रतिभाले आफ्नो स्थान सुरक्षित बनाउनु भनेको पनि धेरै राम्रो कुरा हो । हामी पनि नयाँबाट पुरानो बन्ने अवस्थालाई बिर्सिनु हुँदैन । गीतसङ्गीतको क्षेत्रमा अग्रजको सम्मान, अनुजलाई माया र प्रोत्साहन पनि भएको हुँदा रिसराग भन्ने कुरा कसैले सोच्‍नु पनि हुँदैन। आफ्नो क्षमतामा विश्वास गर्नु पर्दछ। म आफ्नो कर्मप्रति विश्वस्त छु।

अभियोग ३ : सङ्घसंस्था देखि कसैको मतलब गर्दैनन् भन्छन् नि तपाईँलाई ?

-म सङ्घसंस्थाप्रति सदैव जिम्मेवार छु। विभिन्न सङ्घसंस्थाप्रति आबद्ध भै बिगत लामो समय देखि कार्यरत छु र हुने पनि छु । भन्नेले त जे पनि भनि हाल्छन् नि ।

अभियोग ४ : भित्रभित्रै राजनीति पनि गर्नुभाछ भन्छन् त ? कुन पार्टीमा हो ?

– एक सचेत नागरिकको हिसाबले गोप्य मतका लागि अधिकारप्राप्त व्यक्ति हुँ म । मेरो सबैभन्दा ठूलो पार्टी भनेको गीतसङ्गीत नै हो । अहिले मूल धारको राजनीति ट्याग भिर्ने बेला भएको छैन जस्तो लाग्छ तर केही बर्ष पछि हुन पनि सक्ला !! हेरौँ भविष्य भोग के मा छ।

अभियोग ५ : घरमा श्रीमती हुँदाहुँदै कलाकारहरू बाहिर आँखा लगाउँछन् भन्छन्, तपाईँ नि ?

– रमाइलो प्रश्न लाग्यो !! आँखा त संसार हेर्नकै लागि भगवान्‌ले बनाएका हुन् । बदनियत राखेर हेर्ने कुरा भएन असल नियत त सफल कलाकारको परिचय पनि हो नि !! मायाको परिभाषालाई बुझ्नुपर्छ । घर परिवारको पारिवारिक माया र आम दर्शकश्रोताबाट प्राप्त हुने सिर्जनात्मक माया अपार रहन्छ ।

अभियोग ६ : खुस्स पिउनुहुन्छ भन्ने हल्ला छ, कलाकारहरूको जमघट नै त्यस्तैमा हुन्छ भन्छन् ?

-साथी भाइहरूसँग को भेटघाटमा खुसुक्क त हैन म हाकाहाकी पिउँछु, अरू केही नभएर सादा पानी !!

अन्त्यमा,
हिमालपोस्टलाई धेरै धेरै धन्यवाद मलाई यो मौका दिनु भएकोमा ।