काठमाडौं-८ : यस्तो छ रोच भिडन्त - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

काठमाडौं-८ : यस्तो छ रोच भिडन्त



काठमाडौं-

बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं-८ को चुनावी माहोल तताउन इतिहासका यी दुई दृष्टान्त पर्याप्त छन् । कांग्रेसका नवीन्द्रराज जोशी र एमालेका जीवनराम श्रेष्ठ यही ‘दृष्टान्त दोहोर्‍याउने’ योजनामा छन् । ०६४ र ०७० को संविधानसभा निर्वाचन जितेका जोशीसामू श्रेष्ठको बलियो चुनौती छ । ०४८, ०५१ र ०५६ सालको आमनिर्वाचनमा भने यो क्षेत्र एमालेले जितेको थियो । जोशी ह्याट्रिक गर्ने तयारीमा छन् भने श्रेष्ठ कांग्रेस ‘किल्ला’ भत्काउने सुरमा ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४८ सालमा भएको पहिलो आमनिर्वाचनमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकी पत्नी सहाना प्रधानबीच यो क्षेत्रमा प्रतिस्पर्धा भएको थियो । त्यसबखत प्रधान विजयी भइन् । त्यसपछि २०५१ सालको मध्यावधिमा एमालैकै राजेन्द्र श्रेष्ठ र २०५६ को आमनिर्वाचनमा पनि एमालेकै मंगलसिद्धि मानन्धरले विजय पाए ।

यतिखेर जोशी र श्रेष्ठ दुवै आ-आफ्नो जितमा ढुक्क देखिएका छन् । क्षेत्र ८ को निर्णायक मानिएको १५ नं. वडाको डल्लु आवास क्षेत्रमा बिहीबार घरदैलो गर्दैगर्दा भेटिएका कांग्रेस उम्मेदवार जोशीले आफू जित्नेमा ढुक्क रहेको बताए । ‘राजनीतिक र सामाजिक रूपमा समर्पित भएका व्यक्तिलाई यहाँका जनताले राम्ररी छुट्याउने छन्, मैले यो समाजका लागि के-कस्तो काम गरेको छु भन्ने उनीहरूले हेरिरहेकाले मलाई न्याय गर्ने छन् भन्नेमा विश्वस्त छु’, उनले भने ।

जोशीले डल्लु आवास क्षेत्रमा बुधबार मात्रै चुनाव प्रचार-प्रसार समितिको कार्यालय स्थापना गरी औपचारिक रूपमा चुनावी अभियान थालेका छन् । जोशीले डल्लु आवास क्षेत्रबाट घरदैलो थाल्दै गर्दा प्रतिस्पर्धी एमालेका श्रेष्ठ भने अनौपचारिक भेटघाटमै व्यस्त छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।