डा. गोविन्द केसीको मागमा एमाले बाधक भएको रहस्य यसरी खुल्यो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

डा. गोविन्द केसीको मागमा एमाले बाधक भएको रहस्य यसरी खुल्यो



काठमाडौं,साउन ३०  । 

२१ दिनदेखि अनसनरत् डा. गोविन्द केसीले उठाएका माग पुरा गर्न प्रमुख प्रतिपक्षी नेकपा एमाले बाधक भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग छलफल गर्ने भएका हुन ।

डा. केसीसँग वार्ताका लागि गठित सरकारी टोलीसँग बालुवाटारमा भएको छलफलमा एमालेका कारण विधेयकमा सहमति हुन नसकेको निश्कर्ष निकालिएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको पहलमा सरकारी वार्ता टोली, प्रधानमन्त्री तथा प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । छलफलमा वार्ता टोलीले डा. केसीले माथेमा प्रतिवेदनको मर्मका आधारमा विधेयक ल्याउन राखेको अडान, विधेयक निर्माणमा भएको प्रगति, एमाले निकटका सांसदहरुको अडानलगायतका विषयमा ब्रिफिङ गरेका थिए ।

बालुवाटार श्रोतका अनुसार, उपत्यकामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने विषयमा डा. केसीले उठाएको मागमा प्रधानमन्त्रीले सहमति जनाएका छन् । प्रधानमन्त्रीले राजधानी उपत्यकामा आगामी दशवर्षत्रि नयाँ मेडिकल खोल्न नदिने प्रावधान विधेयकमा राख्दा कुनै अप्ठ्यारो नहुने बताएका थिए । तर, यो विषय नेकपा एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेहरुको पहलमा खुलेको मनमोहन मेडिकल कलेजसँग समेत सम्बन्धित भएकोले एमालेसँग छलफल गर्नुपर्ने बैठकमा कुरा उठेको थियो ।

बैठकमा यसअघि नै डा. केसीसँग भएको सहमति अनुसार, मनमोहन मेडिकल कलेजलाई नेपाल मेडिकल काउन्सिलको स्वामित्वमा रहने गरी सञ्चालन गर्न समेत सरकार तयार रहेको कुरा देउवाले बताएका थिए । श्रोतका अनुसार, एमाले निकटका सांसदहरुले भने काउन्सिललाई मनमोहन मेडिकल कलेज दिने प्रस्ताव स्वीकार गरेका छैनन् । उनीहरुले यो प्रस्ताव स्वीकार नगर्दा उपत्यकामा यसअघि नै आशयपत्र लिइसकेकाहरुका हकमा समेत यो निर्णय लागु हुने अवस्थामा एमालेले नमान्ने बताएका छन् । “एमालेको यही अडानका कारण चिकित्सा शिक्षा विधेयकमा सहमति जुट्न सकेको छैन” श्रोतले भन्यो, “आजको बैठकमा यो विषयमा गम्भीर कुरा भएको छ, भोली नै प्रधानमन्त्रीले प्रतिपक्ष र काउन्सिलका सबै पदाधिकारीसँग छलफल गर्ने निर्णय गरेका छन् ।”

डा. गोविन्द केसीले उठाएका मागहरुमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सहमत भएको पाइएको सरकारी वार्ता टोलीका एक सदस्यले बताए । “हामीले समस्या एमालेको देख्याै‌, एमालेले बाहिर एउटा कुरा गर्ने, तर विधेयकको कुरा गर्दा मनमोहन मेडिकल कलेजको फाइदा बेफाइदाका आधारमा निर्णय गर्ने अवस्था देखियो” उनले भने ।

प्रधानमन्त्री देउबाले भोली प्रतिपक्षी नेताहरुसँग डा. केसीले उठाएका मागहरु र मुख्यतः सम्बन्धनको विषयमा निर्णायक छलफल गर्ने बताएका छन् । उनीहरु मानेनन् भने पनि सरकार अघि बढ्ने श्रोतले बतायो ।

यसअघि सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीचको वार्ता सहमति नजिक पुगेको थियो । तर अन्तिममा आएर चिकित्सा शिक्षा विधेयकलाई एमालेका केही सांसदहरुको पक्षमा तयार पारिएपछि डा. केसीले सहमति जनाएका थिएनन् । यही विषयमा डा. केसीका समर्थकहरुले नेकपा एमालेका अध्यक्ष केपी ओलीको बालकोटस्थित घर समेत घेरेका थिए ।