मोदी छाडेर दिल्लीवासीले केजरीवाल रोज्नुका सात कारण - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मोदी छाडेर दिल्लीवासीले केजरीवाल रोज्नुका सात कारण



काठमाडौं- दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभा निर्वाचनमा तेस्रोपटक विजय हासिल गरेर सरकार बनाउने निश्चित भएको छ ।

केन्द्रमा सत्तारूढ भारतीय जनता पार्टीको चर्को चुनावी अभियानलाई निस्तेज पार्दै केजरीवालले विगत पाँच वर्षमा आप सरकारले हासिल गरेका उपलब्धिलाई अघि सारे । भाजपाले नागरिकता संशोधन ऐनमाथि भइरहेको विरोधलाई ‘शाहीन बाग विरुद्ध सबै’का रूपमा प्रस्तुत गरेर मतविभाजनको कोशिश गरेको भए पनि उसको रणनीति विफल रह्यो ।

मतपरिणाममा आपले ६३ सीट जितेको अनि भाजपाले सात सीट जितेको देखिन्छ । कांग्रेस भने दिल्लीबाट पत्तासाफ भएको छ । दिल्ली विधानसभामा कुल ७० सीट छन् ।

यहाँ हामी आपको विजयका सात कारणको चर्चा गर्दैछौं :-

निजी विद्यालयको शुल्कमा लगाम

अरविन्द केजरीवाल सरकारले शिक्षा क्षेत्रमा लिएका निर्णयहरूले शायद उसको विजयमा सबभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

दिल्लीमा धेरै परिवारमा विद्यालय जाने उमेरका बालबालिका रहेकोमा केजरीवाल सरकारका निर्णयले ती परिवारको जीवनमा सकारात्मक असर पारेका थिए ।

जनतामैत्री निर्णय लिँदै आप सरकारले लगभग २०० निजी विद्यालयलाई विगत पाँच वर्षमा आफूखुशी मूल्यवृद्धि गर्न दिएको थिएन ।

ती विद्यालयहरूले सरकारको निर्णयविरुद्ध दिल्ली उच्च अदालतमा मुद्दा समेत दायर गरेका थिए । अदालतको एकल इजलासले गत वर्षको मार्च महिनामा सरकारको परिपत्रलाई खारेज गरेपछि सरकारले त्यसविरुद्ध पुनरावेदन दिएको थियो । पछि डिभिजन बेन्चले शुल्कवृद्धि गर्न नपाउने भन्ने सरकारी निर्णयलाई सदर गरेको थियो ।

दिल्ली विधानसभा निर्वाचन अभियानका क्रममा केजरीवालले विगत पाँच वर्षमा जस्तै विद्यालयको शुल्कवृद्धिमा निगरानी गरिरहने बताएका थिए ।

केजरीवाल सरकारले शुल्कवृद्धि गर्ने विद्यालयलाई निर्णय फिर्ता लिन समेत लगाएको थियो र अभिभावकलाई बढी पैसा फिर्ता दिन समेत विद्यालयहरूलाई आदेश दिएको थियो ।

सरकारी विद्यालयको स्तरोन्नति

आप सरकारले सरकारी विद्यालयहरूमा अभूतपूर्व परिवर्तन ल्यायो । संरचना निर्माणदेखि शिक्षक तालिमसम्म अनि अभिभावकहरूसँग थप अन्तर्क्रिया गर्ने कामसम्म सरकारले गरायो ।

केजरीवालले भने, ‘हामीले सरकारी विद्यालयहरू निजी विद्यालयभन्दा राम्रो नभएपनि कम्तीमा त्यही स्तरको बनाएका छौं । दिल्लीको वार्षिक बजेटको लगभग २५ प्रतिशत भाग शिक्षामै खर्च गरिएको छ । अहिले हाम्रा विद्यालयहरूमा विश्वस्तरीय स्मार्ट क्लास, स्विमिङ पूल, कक्षाकोठामै पुस्तकालय, आधुनिक डेस्क र थप राम्रो प्रयोगशाला छन् ।’

अनेकौं अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयबाट झिकेर सरकारी विद्यालयमा भर्ना गरेको दाबी पनि केजरीवालले गरे । शिक्षक र प्रधानाध्यापकहरूलाई संसारभरिका प्रख्यात विश्वविद्यालयबाट सिक्ने अवसर समेत प्रदान गरिएको थियो ।

आफ्नो निर्वाचन घोषणापत्रमा आपले दिल्लीका २०० भन्दा बढी विद्यालयमा २० हजार नयाँ कक्षाकोठा थपेको दाबी गरेको थियो । त्यसअघिका सरकारले त्यत्तिका वर्षमा १७ हजार कक्षाकोठा मात्र बनाएका थिए ।

निःशुल्क बिजुली र पानी

आप सरकारले दिल्लीवासीलाई ६ महिनाअघिबाट सब्सिडीमा बिजुली उपलब्ध गराउन थालेको थियो । गत वर्षको अगस्ट १ मा केजरीवालले २०० युनिटसम्म बिजुली खपत गर्नेहरूलाई शतप्रतिशत सब्सिडी (निःशुल्क) दिने घोषणा गरेका थिए । २०१ देखि ४०० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई लगभग ५० प्रतिशत सब्सिडी दिइयो ।

आपले प्रतिघर प्रतिमहिना २० हजार लिटरसम्म निःशुल्क पानी उपलब्ध गराउने आफ्नो प्रतिबद्धता समेत पूरा गर्‍यो । सन् २०१७ को डिसेम्बर महिनामा दिल्ली जल बोर्डले २० हजार लिटरभन्दा बढी पानी प्रतिमहिना उपभोग गर्ने परिवारलाई पानीको महसूल बढायो । ती परिवारहरूले प्रत्येक महिना प्रतिलिटरमा २८ भारु बढी तिरे भने २० हजार लिटरभन्दा कम खपत गर्ने परिवारलाई निःशुल्क पानी दिइयो ।

मोहल्ला क्लिनिक

जनतालाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि केजरीवाल सरकारले एक हजारवटा मोहल्ला क्लिनिक खोल्ने प्रतिबद्धता जनाएको थियो । तर उसले यस्ता किसिमका ३०१ क्लिनिक मात्र खोल्यो ।

यी क्लिनिकहरूले ज्वरो, डायरिया, छालारोग, श्वासप्रश्वास समस्या, चोटपटक र पोलेकोमा प्राथमिक उपचार, सामान्य घाउको ड्रेसिङ र सिफारिश सेवा जस्ता आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गरायो ।

ती क्लिनिकबाट निःशुल्क औषधि र उपचार सेवा दिइन्छ अनि त्यहाँ विभिन्न प्रयोगशालाले २१२ किसिमका मेडिकल टेस्ट पनि गर्छन् ।

मोहल्ला क्लिनिकको अवधारणालाई विश्वव्यापी रूपमा प्रशंसा गरिएको छ ।

निःशुल्क बस सेवा

केजरीवाल सरकारले दिल्ली परिवहन निगमका बसहरूमा निःशुल्क यात्राको स्किम विधानसभा चुनावभन्दा तीन महिनाअघि अक्टोबर २९ देखि शुरू गर्‍यो । बस कन्डक्टरहरूले प्रत्येक महिला यात्रुलाई गुलाफी टिकट दिए जुन देखाएर उनीहरूले निःशुल्क यात्रा गर्न पाए ।

नरम हिन्दूत्व

यी नवीन परीक्षण र सब्सिडी बाहेक केजरीवाल सरकारले नरम हिन्दूत्वलाई पनि अघि सारेर भाजपाका मतदातालाई आफूतिर आकर्षित गर्‍यो ।

केजरीवालले जुलाई १२ मा मुख्यमन्त्री तीर्थयात्रा योजना अन्तर्गत पहिलो रेललाई हरियो झण्डा देखाए । यस योजनाअन्तर्गत जेष्ठ नागरिकहरूलाई धार्मिक रूपमा महत्त्वपूर्ण पाँच रूट भएर जाने ट्रेनमा निःशुल्क यात्रा गराइन्छ । यात्रा, आवास, खानपिन र अन्य बन्दोबस्तको सम्पूर्ण खर्च दिल्ली सरकारले बेहोर्छ ।

यसबाहेक केजरीवालले विधानसभा निर्वाचनभन्दा केही दिनअघि आफूलाई हनुमानभक्तका रूपमा प्रस्तुत गरे । उनले हनुमान चालीसा पाठ गरे र त्यो पाठले आफूलाई मानसिक शान्ति दिने कुरा बताए ।

मतदानको एक दिनअघि केजरीवाल परिवारका सदस्यहरूका साथ दिल्लीस्थित हनुमान मन्दिर पुगे र प्रार्थना गरे । मतदानको दिन उनको निधारमा तिलक देखिन्थ्यो ।

अनि नागरिकता संशोधन ऐनविरुद्धको शाहीन बाग विरोधलाई पनि केजरीवालले कहिल्यै स्पष्ट समर्थन गरेनन् ।

छवि परिवर्तन

विगत दुई वर्षमा केजरीवालले आफ्नो छविमा व्यापक परिवर्तन गरे ।

पहिलेपहिले उनी केन्द्रमा सत्तारूढ भाजपा नेतृत्वको एनडीए सरकारसँग जतिखेर पनि जोरी खोजिरहेका हुन्थे र प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकपछि अर्को मुद्दामा निहुँ खोजिरहन्थे ।

उनले मोदीलाई ‘मानसिक रोगी र कायर’ सम्म पनि भने अनि मोदी र शाहको जोडीले आफूलाई मार्न लागेको समेत बयान दिए ।

नोटबन्दी लगायतको केन्द्र सरकारको निर्णयको पनि उनले कडा विरोध गरे । उनले पाकिस्तानअधीनस्थ कश्मीरमा भारतीय सेनाले गरेको सर्जिकल स्ट्राइकको समेत प्रमाण मागे ।

लगभग तीन वर्षसम्म केजरीवालले आफूलाई मोदीले काम गर्न नदिएको गुनासो गरिरहे ।

तर विगत केही महिनादेखि केजरीवालले धार परिवर्तन गरे । मोदी र शाहविरुद्धको आक्रमण उनले बन्द गरे ।

नोटबन्दी र सर्जिकल स्ट्राइक जस्ता विषयमा कठोर प्रतिक्रिया दिएका केजरीवालले नागरिकता संशोधन ऐन र नेसनल रजिस्टर अफ सिटिजन्सविरुद्ध अडान लिएनन् । उनले शाहीन बाग विरोधकर्ताहरूलाई खुला समर्थन गरेनन् अनि विरोधस्थल पनि गएनन् ।

भाजपाका विधायक पर्वेश वर्माले केजरीवाललाई आतंकवादी भन्दा उनले मतदातासँग भावनात्मक सम्बन्ध बनाउने कोशिश गरे । त्यस्तो आरोप लगाइँदा आफ्ना आमबुवाको भावनामा चोट पुगेको बताउँदै उनले दिल्लीका मतदातालाई आफू दिल्लीको छोरो हो कि आतंकवादी हो भन्ने निर्णय दिनुस् भने ।

उनले आफ्नो स्वास्थ्य समस्याको चर्चा गरेर पनि सहानुभूति बटुल्ने कोशिश गरे । कडा मधुमेहको रोगी भएकाले आफूले दिनको चारपटक इन्सुलिन लिने गरेको उनले बताए ।

-द टाइम्स अफ इन्डिया